मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पीसीआर रिपोर्ट नेगेटिभ आएका व्यक्ति मात्रै भदौ १ गतेदेखि कर्णाली प्रवेश गर्न पाउने

पीसीआर रिपोर्ट नेगेटिभ आएका व्यक्ति मात्रै भदौ १ गतेदेखि कर्णाली प्रवेश गर्न पाउने


सुर्खेत – कोरोना भाइरस (कोभिड-१९) परीक्षणको पीसीआर रिपोर्ट नेगेटिभ आएका व्यक्ति मात्रै कर्णाली प्रवेश गर्न पाउने भएका छन्। 

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बिहीबार बसेको ‘कर्णाली प्रदेश कोरोना नियन्त्रण तथा व्यवस्थापन समिति’को बैठकले भदौ १ गतेदेखि लागू हुने गरि यस्तो निर्णय गरेको हो।

कर्णालीमा कोरोना संक्रमणको जोखिम बढेको भन्दै प्रदेशका मुख्य नाकाहरु सल्यानको कालिमाटी काल्चे तथा कपूरकोट, सुर्खेतको बबई र कुइने नाकाबाट आउने व्यक्तिको प्रवेशमा कडाइ गरिने छ। कर्णाली प्रवेश गर्ने व्यक्तिले ती नाकामा आफ्नो पीसीआर परीक्षणको रिपोर्ट देखाउनुपर्नेछ।

यस्तै, देश भित्रबाट आएका र भारतबाट आएका नेपालीहरुलाई छुट्टाछुट्टै क्वारेन्टिनमा राखिने भएको छ। भारतबाट आउने नेपालीहरुलाई अनिवार्यरुपमा सीमानाकाको क्वारेन्टिनमा राखिने भएको छ, जसका लागि सिमानामा क्वारेन्टिनको संख्या थप गर्ने र मध्यपश्चिम विश्वविद्यालयको भवनलाई वैकल्पिक क्वारेन्टिनको रुपमा प्रयोग गरिने भएको छ।

पीसीआर रिपोर्ट भएपछि मात्रै जिल्ला बाहिरबाट कामदार ल्याउन पाइने छ। यस्तै, कालिकोट, दैलेख र सल्यानमा आईसीयुको संख्या बढाइने भएको छ। बैठकले ती जिल्लामा आईसीयुको संख्या बढाउने निर्णय गरेको हो।