मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बाढी पहिरोको निरीक्षण र राहतका लागि गृहमन्त्रीको टोली अछाम आउदै

बाढी पहिरोको निरीक्षण र राहतका लागि गृहमन्त्रीको टोली अछाम आउदै


अछाम – गृहमन्त्री रामबहादुर थापासहितको टोली राहत र निरीक्षणका लागि बाढीग्रस्त अछामको रामारोशन आउने भएको छ। अछाम जिल्लाबाट प्रतिनिधिसभा र राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने सांसदलगायतको टोली ल्याएर गृहमन्त्री अहिले बिहान अछाम आउन लागेका हुन्।

पूर्व गृहमन्त्री एवम् नेकपा स्थायी कमिटी सदस्य डा. भीम रावल, सांसदहरु तारामान स्वार र शेरबहादुर कुँवरसहितको टोली राहत र निरीक्षणका लागि आउन लागेको रावलका सहयोगी गोविन्द दुवालले जानकारी दिए।

अछामका प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायले गृहमन्त्रीसहितको टोली बाढी प्रभावित परिवारलाई राहत दिन र निरीक्षणका लागि आउन लागेको जानकारी दिए।

अछामको रामारोशन गाउँपालिका–५ मा बाढीले बगाएर १७ जना बेपत्ता भएका थिए। तीमध्ये अहिलेसम्म ६ जनाको मात्रै शव भेटिएको छ। अझै ११ जना बेपत्ता नै छन्।

मंगलबार राति कैलाश खोलामा आएको बाढीले बगाएर बेपत्ता भएका मध्ये ५४ वर्षीय चन्द्रबहादुर साउद, ३५ वर्षीया गौरी शाह, ४६ वर्षीया लाल्सरा शाह, २२ वर्षीया बबिता बुढा साउद, ४५ वर्षीय अमर शाह र १२ वर्षीय नवीन शाहको शव भेटिएको हो।

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीयको टोलीले बेपत्ताको खोजी जारी राखेका छन्। बाढीका कारण सैनीबजार पूरै बगरमा परिणत भएको छ भने २२ वटा घर बगेका छन्। बाढीले एउटा पक्की पुल र पाँचवटा झोलुंगे पुलमा पनि क्षति पुर्याएको छ।

मंगलबारको बाढीले कैलाश खोलाको दुईतिरको करिब चार हजार हेक्टर खेतीयोग्य जमिन कटान गरेको गाउँपालिकाले अनुमान गरेको छ। कैलाश खोलाको आर्यखाँद नजिक माथिबाट बगेर आएको पहिरोले नदी थुनेपछि पानी सैनीबजारतिर पसेर क्षति पुर्याएको हो।