मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नलेख आँसुका कविता

नलेख आँसुका कविता


नलेख आँसुका कविता

लुकाएर कैयौं रंगहरू
केवल सेतो टल्किन्छ सूर्यको किरण
तर लेखेनौ
त्यसको उज्यालोले अन्धकारलाई चिरेको कविता ।
तिमीले लेखिरहयौ
उजाड सिउँदोमा गुराँस रोएको कविता
तर लेखेनौ
सेतो सिउँदोमा हिमाल हाँसेको कविता ।

महाकालीको तरबार जस्तो
चमचमाएका उनका हातलाई
सधैं झरेको पात देख्यौ
नसजिएको उनको देहलाई
बन्जर पहाड देख्यौ र अशुभ मान्यौ
तर ऊभित्रको बुद्ध कहिल्यै देखेनौं ।

उनी जिन्दगीका रस पिएर हाँसिरहँदा
उत्सवका खुसी बाँचेर नाँचिरहँदा
देखिरह्यौ प्यास उनका नयनमा

उनका पाउले कैयौं पहराहरू छिचोलिरहँदा
पाइला धर्मराएको देखिरह्यौ
अनुहारमा स्वयम्भू राखेर
लडाकु जीवन बाँचिरहिन उनी
तिमी भने, उनकै आँसुको बिम्ब पिइरह्यौ
दुःखको पर्यायमा उनकै हार लेखिरह्यौ
र रुन्चे कविता पढिरह्यौ
किन लेख्दैनौ कवि !
आफ्नै जिन्दगीको आँसुको कविता ।

उनी कुन्ती जसरी
वायु निलेर जन्माउन सक्छिन् कैयौं भीमहरू
सूर्य निलेर जन्माउन सक्छिन् कैयौं कर्णहरू
भीष्म जसरी लिन हुन सक्छिन् वाण शय्यामा
उनी योगमाया हुन्
जो लाखौं दूरी पार गरेर समाधिस्त बसेकी छन्
तिमी भने,
त्यही समाधिमा भोगको कविता लेख्न खोज्छौं ।

ओ कवि !
लेखिरह्यौ तिमीले
रंग भएर पनि रङ्हीन कविता
आँट भएर पनि काँतर कविता
जिब्रो भएर पनि स्वादहीन कविता
प्रकाश भएर पनि अन्धकारको कविता ।

आऊ !
ती सेता रंग बटुलेर लेखौं अब,
जीवनको उमंगको कविता
अब नलेख कवि…
विधवाको आँशुले रुझेको कविता ।

० ० ०

चक्रव्यूहमाथि मेरो विजय

मैले सोचेँ…
प्रिय हुन्छन् यथार्थमा
जो माया गर्छन् आफूलाई
पूजनीय हुन्छन् उनीहरू नै ।

फेरि सोचेँ
प्रभातमा घाम नउदाउने
फूलमा वसन्तै नआइपुग्ने
त्यो आस्थाको के काम ?
आशीर्वादको हातै नराखेको
त्यो निराकारको के विश्वास ?

कल्पना होइन यो समयको चोट
कोरा आदर्श पनि होइन यो विद्रोह
भोगाइ हो …
भिरैभिर जीवन भोग्नेहरूको ।

हेर
फ्याँकिदिए उखेलेर
हजुरआमाको शिरफूलजस्तै प्रिय
आस्थाका फूलहरू
रोपेँ मनभरि अनास्थाको क्याक्टस ।

फुकेर मिल्काइदिए
उहिल्यै हजुरबुबाले हुक्कामा फुकेको धुवाँजस्तै
एकएक गरेर
दास बनाउने देवताको तस्बिर
र राखे आफ्नै प्रियहरूका स्मृति पूजनका लागि ।

अब शिरमा कुल्चिरहने
चाहिँदैन कुनै अदृश्य प्रतिरूप
मन तड्पाइरहने
पर्दैन शासनको स्नेह ।

औँला ठड्याओ
गन मेरा दोषहरू
बरु लत्याओ,

सक्छौ भने खन्याओ भुतभुते
मुडुलो बनाओ मेरो टाउको
जहाँ कहिल्यै सजाउँदिनँ शिरफूल
निस्कन नसक्ने गरी जेल चक्रव्यूहमा ।

अब,
मेटाउँछु एकएक गरेर
हृदयमा जरा गाडी
मलाई तर्साउने तिमीहरूका तस्बिर
भत्काउँछु, करोडौँ अँध्यारा विश्वास ।

म कृष्णविहीन अभिमन्यु
तोड्छु पहिल्याउन नसकेको चक्रव्यूह
आफैं लगाउँछु, विजयको शिरफूल । – बारह्खरीबाट