मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

धरहरा पुनर्निर्माणकाे समय थपियो

धरहरा पुनर्निर्माणकाे समय थपियो


काठमाण्डाै – विसं २०७२ सालकाे भूकम्पमा भत्किएर पुनर्निर्माण थालिएकाे धरहराकाे निर्माण अवधि थपिएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले २०७७ असोज २० गते (२०२० अक्टोबर ६ तारिख) भित्र धरहराको सम्पूर्ण निर्माण कार्य सम्पन्न गर्ने गरी रमन कन्स्ट्रक्शनसँग २०७५ सालमा सम्झौता गरेको थियो ।

त्यसलगत्तै रमन कन्सट्रक्शनले २०७५ कात्तिक महिनादेखि निर्माण कार्य सुरु गरेको थियो । कोभिड–१९ को कारण लकडाउन हुँदा निर्माण कार्य प्रभावित भएको भन्दै रमन कन्स्ट्रक्शनले २१ महिना थप समय माग गरे पनि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले नौ महिना समय थपेको छ ।

रमन कन्स्ट्रक्सनका प्रोजेक्ट म्यानेजर इन्जिनियर श्यामचन्द्र श्रेष्ठले लकडाउनका कारण काम प्रभावित भएको र मुख्य म्युजियमको साइट भर्खरै प्राप्त भएकाले समय थप्नुपरेको बताए। अहिलेसम्म धरहराको १६ तलाकाे ढलान भइसकेको जानकारी पनि श्रेष्ठले दिए ।

त्यसबाहेक धरहराको अन्डरग्राउण्डमा रहेको डबल बेसमेन्टको काम सम्पन्न भइ ट्रिपल बेसमेन्टको काम भइरहेको उहाँले बताए । जसमा चार सय वटा सानो गाडी र सात सय वटा मोटरसाइकल पार्किङ गर्न मिल्ने छ ।

त्यस्तै मुख्य म्युजियमको साइट भर्खरै प्राप्त भएकाले धेरै काम बाँकी रहेको उहाँले बताए। कोभिड–१९ का कारण कामको रफ्तारमा असर पर्दा समयमै निर्माण सम्पन्न गर्न नसकिएको उनको भनाइ छ । अहिले थपिएको समयमा पनि पूर्णरुपमा काम सम्पन्न गर्न चुनौती रहेको श्रेष्ठ बताउछन् । 

२२ तला रहेको धरहराको कुल लागत भ्याटसहित तीन अर्ब ४५ करोड रुपैयाँ छ । धरहराको कुल क्षेत्रफल ४२ दशमलव २ रोपनी रहेको छ । धरहराको निर्माण कार्यमा लकडाउन अघि कुल तीन सय ५० जनाले काम गरेका थिए ।

लकडाउनको बेला २०/२५ जनाको सङ्ख्यामा कामदार राखेर निर्माण गरिरहेको कम्पनीले अहिले भने दुई सय ५० जना कामदारहरुमार्फत कामलाई तीव्रता दिएको बताएको छ ।