मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

धनगढीबाट सुदूर पहाडका ५ जिल्लामा नियमित हवाई उडान, साँफेमा हप्ताको २ दिन उडान हुने

धनगढीबाट सुदूर पहाडका ५ जिल्लामा नियमित हवाई उडान, साँफेमा हप्ताको २ दिन उडान हुने


अछाम : १७ असोजमा परीक्षण उडान भएका पाटन, दीपायल र चैनपुर विमानस्थल सहित सुदूरपश्चिमका ५ पहाडी जिल्लामा धनगढीबाट नियमित हवाई सेवा सञ्चालन भएको छ ।धनगढीलाई बेस बनाएर समिट एयरले दार्चुला र डडेल्धुरा बाहेकका अछाम, बैतडी, बझाङ, बाजुरा र डोटीमा नियमित हवाई सेवा गरिरहेको धनगढी विमानस्थल कार्यालयले जनाएको छ ।

परीक्षण पछिका प्रारम्भीक उडान हेर्दा पहाडी जिल्लामा नियमित हवाई सेवा सञ्चालन गर्न सकिने देखिएतापनि निरन्तरता दिन सबै पक्षको साथ सहयोग आवश्यक पर्ने धनगढी विमानस्थल कार्यालयका प्रमुख तेजबहादुर बुढथापाको भनाइ छ । ‘दार्चुला र डडेल्धुरा बाहेकका ५ वटै जिल्लामा समिट एयरले नियमित उडान गर्न थालेको छ ।’ उनले भने, ‘यसलाई निरन्तरता दिनुपर्छ ।

परीक्षण उडान पछिको अवस्था हेर्दा नियमित हवाई सेवा सञ्चालन गर्न सकिने देखिएपनि कालान्तरमा कतै बन्द हुने त होईन भन्ने चिन्ता पनि धेरैले गरेका छन् । तर समिट एयरका बझाङ प्रतिनिधिको रुपमा काम गरिरहेका पर्यटन अभियान्ता किशोर खड्का भने अहिले देखिएका केही कमीकमजोरीलाई सुधार गर्न सकेमा निरन्तर हवाई सेवा सञ्चालन गर्न सकिने विश्वास व्यक्त गर्छन् ।

समिट एयरले अहिले डोटी र बझाङमा मंगलबार र शुक्रबार तथा बैतडीका लागि मंगलबार उडान भर्ने कार्य तालिका तय गरेको छ भने बाजुराको मार्तडी र अछामको साँफे विमानस्थलमा पनि हप्ताको २ दिन उडान भर्ने कार्यतालिका तय गरिएको जनाएको छ । तर त्यस बाहेक यात्रुको चापलाई ध्यानमा राखेर कार्यतालिका भन्दा बढि उडान भइरहेको छन् भने चार्टर उडानको समेत व्यवस्था रहेको जनाएको छ ।

सुदूर पहाडका जिल्लामा भइरहेको हवाई उडानलाई निरन्तरता दिन सके पर्यटन प्रवद्र्धनसँगै आर्थिक विकासमा समेत उल्लेख्य भूमिका खेल्ने विश्वास गरिएको छ । धनगढीका पर्यटन व्यवसायी दिनेशराज भण्डारीले धनगढीलाई केन्द्र बनाएर पहाडी जिल्लामा हवाई सेवा पुनः सञ्चालन हुनु सुखद पक्ष भएको बताए ।

पहाडी जिल्लामा पर्यटक गए आयआर्जनमा बृद्धि हुने विश्वास व्यक्त गर्दै भण्डारी हवाई सेवालाई निरन्तरता दिनमा सबैले जोड दिनुपर्ने बताए ।