मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

छठको आज तेस्रो दिनः चन्द्र पूजापछि सूर्यपूजामा जुटे ब्रतालु

छठको आज तेस्रो दिनः चन्द्र पूजापछि सूर्यपूजामा जुटे ब्रतालु


जनकपुर । मुख्यतया सूर्यको पूजा हुने जस्तो देखिए पनि चन्द्र, अस्ताउँदो सूर्य र उदाउँदा सूर्यलाई एकसाथ अराधना हुने पर्व हो छठ । छठ पर्व मनाउने विधि र परम्परालाई नियाल्ने हो भने यो पूर्णतया प्रकृतिमा आधारित छ ।  सूर्य र चन्द्रको पूजा हुने तथा पूजा सामग्रीको रुपमा कृषि उपज सामग्री प्रयोग गरिने हुँदा छठ पर्वलाई प्रकृति पूजाको रुपमा पनि लिन सकिन्छ । चार दिनसम्म विभिन्न विधि र प्रक्रिया अवलम्बन गरी मनाइने यो पर्व सन्तान प्राप्ति, स्वास्थ्य लाभ, पारिवारिक सुख र समृद्धिका लागि मनाउने गरिएको ब्रतालुहरु बताउँछन् ।

छठ पर्व मनाउने ब्रतालुहरुले बुधबार नहायखाय गरेका छन् । पवित्र जलासयमा स्नानगरी चोखो खानेकुरा ग्रहण गर्ने विधिलाई नहायखाय भनिन्छ । छठ पर्वमा नहायखाय विधि पनि महत्वपूर्ण मानिन्छ । 

बिहीबार खर्ना मनाइएको छ । खर्नामा सूर्यास्तपछि चन्द्रमाको दर्शन गरी चामल, दूध र सख्खर हालेर पकाइएको खिर तथा फलफुलको प्रसाद चढाइन्छ । खर्नाको दिन बिहानैदेखि उपवास बसेका व्रतालुले साँझ चन्द्रमाको दर्शन गरी पूजापाठपछि सोही प्रसाद (नुनको प्रयोग नभएको) खाएर पर्सीपल्ट बिहान उदाउँदो सूर्यलाई अर्घ नदिएसम्म उपवास बस्ने विधि छ । 

खर्ना सम्पन्न भएदेखि नै शुक्रबार साँझ अस्ताउँदो सूर्यलाई दिइने अर्घको तयारीमा ब्रतालुसँगै परिवारका सदस्यहरु जुटेका छन् । जनकपुर र वीरगन्जलगायत सहरी क्षेत्रमा बिहीबारै राति नदी, तलाउ र सरोवरहरुको घाटमा पूजा सामग्री राखिइसकेको छ भने ग्रामिण भेगमा शुक्रबार दिउँसो घाटमा पुग्ने तयारी हुँदैछ । शनिबार बिहान उदाउँदै गरेको सूर्यलाई व्रतालुले फलफुल लगायत पूजा सामग्री लिएर अर्घ चढाएपछि व्रतालुहरु घर फर्केर सात्विक भोजन गरी विधिवत रुपमा पर्व समापन गर्नेछन् ।