मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछाममा रोपाईको रौनक

अछाममा रोपाईको रौनक


अछाम । देश अहिले कोरोना भाईरस (कोभिड–१९)का कारण बन्दाबन्दीको अवस्थामा छ । शहरबजार सुनसान भएपनी गाउँघरमा चहलपहल उस्तै छ । खेतीपातीको समय भएकाले पनी गाउँघरमा चहलपहल बढेको छ । हिउँदे खेती भित्रयाएका किसानहरु अहिले रोपाई गर्न व्यस्त छन् ।

बैशाखको अन्तिम साताबाट नै अछाममा रोपाईको चटारो सुरु हुन्छ । अहिले अछामका कृषहरुलाई मानो रोपेर मुरी उब्जाउन भ्याई नभ्याई छ । सिँचाई सुविधा पुगेका खेतमा बैशाखको अन्तिमबाट रोपाई गर्न सुरु हुने गर्दछ । यो वर्ष बैशाखको अन्तिम साता पानी परेकोले पनी सिचाई पुगेका खेतमा रोपाई गर्न किसानहरुलाई सजिलो भएको छ ।

अछामको साँफेबगर, बुढीगंगा, कैलाशखोला लगायत सिँचाई सुबिधा पुगेको ठाउमा बैशाखको अन्तिमबाट नै रोपाई सुरु भएको हो । साँफेबगर र आसपासका क्षेत्रमा बुढीगंगा नदी तथा प्रभालीगाडको पानीबाट सिँचाईको सुविधा भएकाले हरेक वर्ष बैशाखको अन्तिमबाट धान रोपाई सुरु हुने गर्दछ ।

साँफेबगर नगरपालिका ४ मष्टामाण्डौमा सिचाई पुगेको बुढीगंगाको किनारमा रहेको खेतमा लगभग रोपाई सकिएको स्थानीय उमेश कुँवरले बताए । रोपाईको समयमा यो पटक पानी परेका र सिचाई सुविधा पुगेकोले रोपाई सुरु भएका उनको भनाई छ । खोला र नदि किनारामा रोपाई सकिए पनि आकाशे पानीको भर मा हुने रोपाई अझै बाँकि छन्।

चैतमा नै धानको बेर्ना राखेर बैशाख अन्तिमबाट धान रोप्न सुरु हुने यस क्षेत्रमा यस वर्ष खडेरी नपरेकाले गर्दा धानको बेर्ना जोगाउन र रोपाई गर्न त्यति मुस्किल नभएको कृषकहरूको प्रतिक्रिया छ ।

यति बेला रोपाई गरेर कतिपय महिलाहरुलाई आम्दानी गर्ने स्रोत पनी बनेको छ । एक दिनभरी रोपाई गरे बापत ३ देखि ४ सय रुपैया लिने गरेको साँफेबगर नगरपालिका– ३ की पबित्रा बिकले बताईन् ।

कृषि ज्ञान केन्द्रका अनुसार अछाममा करिव साढे १६ हजार हेक्टर क्षेत्रफलमा धानको खेती गरिन्छ । जिल्लाको कुल खेती योग्य जमिन ५६ हजार तीन सय ४७ हेक्टर रहेकोमा ४२ हजार चार सय १३ हेक्टर क्षेत्रफलमा अन्नबाली लगाउने गरिन्छ ।

फोटो : महेन्द्र रावलको फेसबुकबाट