मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

साँफेबगर नगरपालिकाद्वारा नीति तथा कार्यक्रम प्रस्तुत

साँफेबगर नगरपालिकाद्वारा नीति तथा कार्यक्रम प्रस्तुत


अछाम । जिल्लाको साँफेबगर नगरपालिकाको आर्थिक वर्ष २०७८।७९ नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ । नगरको सातौँ नगर सभाको प्रथम बैठक मार्फत नीति तथा कार्यक्रम प्रस्तुत गरिएको हो ।

नगरपालिकाको आर्थिक वर्ष २०७८।७९ को वार्षिक नीति तथा कार्यक्रममा स्वास्थ्य क्षेत्रलाई बढी प्राथमिकता दिएको छ ।

स्वास्थ्य क्षेत्र अन्तर्गत कोरोना महामारी नियन्त्रण तथा रोकथामका लागी आवश्यक व्यवस्था मिलाइने, प्रसूति केन्द्र सञ्चालन नभएका स्वास्थ्य संस्थामा प्रसूति केन्द्र स्थापना गर्ने,स्वास्थ्य संस्थाहरूमा विद्युतीय व्यवस्थापन सूचना प्रणाली लागु गने, पोषणमैत्री वडा घोषणा गर्ने, स्वास्थ्य बिमा कार्यक्रम सबै वडामा सञ्चालन गर्ने र नगरपालिकाको स्वास्थ्य नीति निर्माण गर्ने लक्ष तथा नीति अघि सारिएको छ ।

यस्तै बहु क्षेत्रीय पोषण कार्यक्रम नगरपालिकालाई पोषणमैत्री स्थानीय तह बनाउन अभियान सञ्चालन गर्ने, एक घर एक करेसाबारी, बाह्रै महिना हरियो तरकारी अभियान सञ्चालन गर्ने उल्लेख गरिएको छ ।

पशु तथा कृषि विकासका कार्यक्रममा दुग्धजन्य पदार्थ उत्पादनका लागी भैँसी पकेट क्षेत्र कार्यक्रमलाई निरन्तरता दिने, पशु बिमामा जोड दिइने दाबी गरिएको छ भने अछामी नौ मुठे गाईको संरक्षण र सम्बर्दनमा जोड दिइने उल्लेख गरिएको छ ।

कृषि विकास तर्फ नगरपालिकामा रहेको कृषिजन्य पदार्थको आयात र निर्यातबारे सर्वेक्षण गर्न कृषि विकास योजना प्रोफाइल तयार गरिने भएको छ भने व्यवसायीक कृषि फार्म, कृषक समूहलाई विशेष अनुदानको व्यवस्था गरि युवाहरूलाई कृषि व्यवसायमा आकर्षित गराइने छ ।

महिला तथा बालबालिका तथा ज्येष्ठ नागरिक तर्फ ज्येष्ठ नागरिकसँग नगर प्रमुख र गर्भवतीसँग नगर उपप्रमुख कार्यक्रम, आमाबुवा गुमाएका बालबालिकाहरूसँग नगर प्रमुख, एकल महिलासँग नगर उपप्रमुख कार्यक्रम सञ्चालन गरिने छ ।

आइतबार वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेको नगरपालिकाले असार १० गते वार्षिक बजेट प्रस्तुत गर्ने नगर प्रमुख कुल बहादुर कुँवरले बताए ।

नगर सभामा नीति तथा कार्यक्रम प्रस्तुत हुनु पूर्व सभाका अध्यक्ष नगर प्रमुख कुल बहादुर कुँवरले बजेटका बिनियोजनाका क्रममा विकास निर्माणका क्रियाकलापसँगै चालु तर्फ समेत बजेट खर्च बढी देखिएको यस वर्ष चालु तर्फको बजेट खर्च व्यवस्थित पार्न आग्रह गरेका छन् ।

वडालाई दिइएको बजेटमा टुक्रे योजनाहरूलाई प्राथमिकता देखिएको तर्फ ध्यानाकर्षण गराउदै कुँवरले उपलब्धि कम हाँसील हुने र बजेट मात्र खर्च हुने योजनालाई निरुत्साहित पार्न आग्रह गरे ।

अधिकार सँगै कर्तव्य पनि नबिर्सन आग्रह गर्दै उनले वडाको बजेट मार्फत गर्न सकिने काम समेत नगरपालिकामा माग गर्नु उचित नहुने धारणा राखे ।