मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुदूरपश्चिमका नाकामा मुग्लान जानेको लर्को, सरकार बेखबर

सुदूरपश्चिमका नाकामा मुग्लान जानेको लर्को, सरकार बेखबर


धनगढी: आइतबार दिउँसो २ बजे कञ्चनपुरको त्रिनगर–गौरीफन्टा नाकामा पुग्दा मोहना नदीको पुलदेखि दशगजा क्षेत्रसम्म नाका पार गर्नेहरुको लर्को देख्न सकिन्थ्यो। महिला बालबालिकादेखि कलिलो उमेर समूहका युवासँगै वयस्क पुरुषहरु पनि भारत जानका लागि आफ्नो नाम दर्ता गरिरहेका थिए। 

सोही लाइनमा थिए डोटी गाजरीका लालबहादुर थापा। कोरोनाको प्रभाव कम भएसँगै रोजगारीकै लागि भारत पस्न बाध्य भएको उनले बताए। ‘गाउँघरमा काम गरी खानेबाटो छैन,’ उनले भने, ‘कोरोनाको कारण घरखर्च चलाउन पनि समस्या भयो, अहिले कोरोनाको प्रभवा कम भएपछि भारत गइरहेको छु।’ उनीसँगै उनकै गाउँका १७ जना पनि आइतबार नै भारत पसेका छन्।

कैलालीको जानकी गाउँपालिका वडा नम्बर २ का रेवन्त साउद भारतमा कोरोना संक्रमणको दर बढ्न थालेपछि गत चैतमा घर फर्किएका थिए। स्वदेशमै केही गर्ने योजनासहित नेपाल फर्किएका साउद वैशाखदेखि लागु भएको लकडाउनका कारण घर भित्रै बसे। 

लकडाउनका कारण घर खर्च चलाउन समेत मुस्किल हुन थालेपछि पुनः  भारत जानुपर्ने बाध्यता आइलागेको दुःखेसो उनको छ। ‘यताको सरकारले केही गर्ला जस्तो छैन्,’ उनले भने, ‘हामी विगतमा पनि भारतमै जान्थ्यौ, आज पनि जानुपर्ने बाध्यता छ।’

यतिबेला कञ्चनपुरकै गड्डाचौकी नाका भएर सयौं प्रदेशवासी भारत गइरहेका छन्। कतिपय धान रोपाईको काम सकेर घर खर्च चलाउन  प्रदेश छोड्दै छन्। प्रदेशका दुई नाका भएर मात्रै दैनिक १ हजार भन्दा बढी नेपाली मुग्लान गइरहेका छन्। भारत जानेहरु मध्ये अधिकांश कामको लागि गइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका निमित्त प्रवक्ता लालबहादुर बमले बताए। 

स्थानीय स्तरमा रोजगारी सिर्जना गर्न तीनै तहका सरकार भने असफल भएका छन्। प्रदेशवासीको स्वदेशमै रोजगारी गर्ने सपना पुरा गर्नका लागि नीति–निर्माण गर्ने क्षेत्रमा पुगेकाहरुले चासो नदिएको गुनासो उनीहरुको छ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट आफु मुख्यमन्त्रीमा नियुक्त भएकै बेला कामका लागि प्रदेशवासीले भारत जानुपर्ने बाध्यताको अन्त्य हुने घोषणा गरेका थिए। तर उनको कार्यकालको तीन वर्ष पुरा हुँदा पनि स्वदेशमा रोजगारीका अवसर सिर्जना गर्नतर्फ प्रदेश सरकारको ध्यान जान सकेको छैन।