मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कर्णालीमा फेरि बढ्यो कोरोना संक्रमण, १४८ संक्रमित अस्पताल भर्ना

कर्णालीमा फेरि बढ्यो कोरोना संक्रमण, १४८ संक्रमित अस्पताल भर्ना


सुर्खेत- कर्णाली प्रदेशमा कोरोना संक्रमणदर फेरि उच्च भएको छ। संक्रमित उच्च भएपछि अस्पतालका बेडहरु संक्रमितले भरिन थालेका छन्। 

शुक्रबार साँझसम्मको तथ्याङ्कअनुसार प्रदेशभरका कुल एक हजार ९ जना संक्रमित संक्रमितमध्ये १४८ अस्पतालमा भर्ना भएका छन्। जसमध्ये कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ४८ जना, हुम्लाको जिल्ला अस्पताल सिमकोटमा २१ जना, दैलेख जिल्ला अस्पतालमा १९ जना, कालीकोटको कोरोना अस्पतालमा १५ जना, प्रदेश अस्पताल सुर्खेतमा ९ जना, कट्कुवा अस्पतालमा ७ जना, प्रदेश अस्पताल आर्युवेद अस्पतालमा ४ जना संक्रमित उपचाररत छन्।

त्यस्तै जाजरकोट अस्पतालमा ८ जना, जिल्ला अस्पताल सल्यानमा चार जना, रुकुमपश्चिमको जिल्ला अस्पतालमा ५, चौरजहारी अस्पतालमा ३, आठबीस अस्पतालमा २ जना र रास्कोट आधारभूत अस्पतालमा ३ जना संक्रमित पनि अस्पतालमा उपचाररत छन्।

त्यस्तै ५६ जना संक्रमितहरु अस्पताल बाहेकका आइसोलेसन सेन्टरमा उपचाररत छन्। तीमध्ये जुम्लाको गुठीचौर आइसोलेसनमा १२ जाजरकोटको नगलाड आइसोलेसनमा ११ जना, बारेकोट आइसोलेसनमा ८ जनासहित उपचाररत छन्। बाँकी ३१ जना संक्रमित पनि प्रदेशका विभिन्न क्षेत्रका आइसोलेसन सेन्टरमा उपचाररत छन्। 

कुल सक्रिय संक्रमितमध्ये ८०५ जना भने होमआइसोलेसनमा रहेको कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ।

कर्णालीमा १८ गतेदेखि निषेध आदेश खुकुलो पारिएको छ। निषेध आदेश खुकुलो पारिएयता ६१२ जना नयाँ संक्रमित थपिएका छन्। 

तथ्याङ्कअनुसार प्रदेशभर १८ गते ९६ जना, १९ गते ४५ जना, २० गते ४६ जना, २१ गते ९३ जना, २२ गते ८३ जना, २३ गते ६८ जना, २४ गते एकसय ३३ जना र २५ गते ५३ जना नयाँ संक्रमित थपिएका छन्।

यता स्वास्थ्यकर्मीहरुले पनि निषेध आदेश खुकुलो भएसँगै संक्रमण दर बढेको बताउँछन्। ‘कोरोनाको दोस्रो लहर सकिएकै थिएन, निषेध आदेश खुकुलो भयो,’ प्रदेश अस्पताल सुर्खेतका डाक्टर केएन पौडेलले भने, ‘निषेध आदेशपछि नागरिकले स्वास्थ्य सुरक्षा मापदण्डको पालना नगर्दा संक्रमण दर बढ्यो।’ डाक्टर पौडेलले शहरमा निषेध  आदेश खुकुलो हुनु र गाउँमा सामूहिक रोपाइँलगायतका मेलापातका कारण संक्रमण बढेको बताए। अब सावधानी नअपनाए संक्रमण फेरि पुरानै अवस्थामा पुग्ने उनको अनुमान छ।

कर्णाली दुई हप्तादेखि निषेध आदेश खुकुलो पारिएको छ। निषेध आदेश खुकुलो पारिएपछि सबै जिल्लामा सार्वजनिक यातायात र सबै प्रकारका उद्योग व्यवसाय खुल्ला गरिएका छन्। 

तालिम गोष्ठी सभा सम्मेलन जस्ता जमघटमा भने रोक लगाइएको छ। तर कार्यालय, विभिन्न संघसंस्था र सार्वजनिक स्थानमा सामाजिक दूरी कायम छैन। 

बजारमा नागरिकको चहलपहलले कोरोनालाई बिर्साएको छ। जनजीवनलाई पुरानै लयमा फर्कने प्रयासमा गरिरहँदा संक्रमण बढेपछि कर्णालीलाई कोरोना नियन्त्रणमा चुनौती थपिएको छ। – नेपालसमय