मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

४ महिने सुत्केरीमाथि तातोपानी खन्याउने श्रीमान पक्राउ

४ महिने सुत्केरीमाथि तातोपानी खन्याउने श्रीमान पक्राउ


दैलेख : दैलेखमा एक युवकले ४ महिने सुत्केरी श्रीमतिलाई तातोपानी खन्याएर ज्यान लिने प्रयास गरेका छन्। 

भैरवी गाउँपालिका-५ गौरीसल्लाका २६ वर्षीय दीपक नेपालीले श्रीमति हस्तनामाथि तातोपानी खन्याएर ज्यान लिने प्रयास गरेका हुन्। तातोपानी र अगुल्टोले हस्तनाको १३ प्रतिशत शरीर जलेको छ। 

ढाडको दाहिने भाग र अनुहारको देब्रे भाग जलेको अवस्थामा हस्तनाको दैलेख अस्पतालमा उपचार भइरहेको छ। पाँच वर्षअघि विवाह गरेका हस्तना र दीपकका ४ महिने र ३ वर्षीया २ छोरी छन्।

साउन २१ गते देउता चढेको भन्दै दीपकले श्रीमतिको शरीरमा तातो पानी खन्याउने र अगुल्टो झोसेर मार्ने प्रयास गरेको प्रहरीले जनाएको छ। ‘देउता चढेको बहानामा श्रीमतिलाई मार्न खोजेको देखिन्छ’ दैलेखका डीएसपी अनुपम श्रेष्ठले भने, ‘रातिको समयमा श्रीमतिलाई तातोपानी खन्याउनु र बलेको अगुल्टोले झोस्नुले हत्या गर्न खोजेको आशंका छ।’

योजनाबद्ध रुपमा राति ९ बजे श्रीमतिको हत्या गर्न खोजेको प्रहरीले जनाएको छ। ‘घटना हुनुअघि श्रीमानले मदिरासमेत सेवन गरेका रहेछन्’ डीएसपी श्रेष्ठले भने, ‘घटना भवितव्य जस्तो देखाइए पनि यो योजनाबद्ध छ।’ घटना साउन २१ गते भएको भए पनि ढिलागरी बाहिरिएको हो। सुरुमा घटनालाई स्थानीयले गाउँमै मिलाउन खोजेको थिए। तर घाउ निको नभएपछि घटना प्रहरीसँग पुगेको हो।

घटना भएको चार दिनपछि पीडितकी आमा पाना दमाईले उजुरी दिएकी थिइन्। उजुरी परेपछि प्रहरीले पीडकलाई पक्राउ गरेको छ। पक्राउ परेका दीपकले मदिरा सेवन र देउता चढेकै कारण घटना भएको जिकिर गरेका छन्। दीपकले यसअघि पनि हस्तनालाई पटकपटक यातना दिने गरेको प्रहरीको भनाइ छ।