मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

साइकल पाएपछि फर्किएको खुसी

साइकल पाएपछि फर्किएको खुसी


जनकपुरधाम । प्रदेश सरकारले आइतबार जनकपुधाम उपमहानगरपालिका–९ स्थित जानकी माध्यमिक विद्यालयका छात्राहरूलाई साइकल वितरण गर्‍याे । प्रदेश सरकारको लोकप्रिय नारा ‘मुख्यमन्त्री बेटी बचाउ, बेटी पढाउ’ अभियान अन्तर्गत कक्षा ९ मा अध्ययनरत ३२ छात्रालाई साइकल वितरण गरिएकाे थियो । तर, वितरण समारोह चलिरहँदा कक्षा ९ मै अध्ययनरत लाडली खातुन भने भावुक भएर रुन थालिन् ।
 
साइकल वितरण समारोहमा उपस्थित नगर प्रमुख लालकिशोर साह र उपप्रमुख रिताकुमारी मिश्रसहितको टोलीले पनि उनको आँसुलाई बेवास्ता गर्‍याे । खासमा भारतीय नागरिक भएकैले उनले साइकल नपाएकी हुन् ।  

“म भारतको हुँ भनेर साइकल दिइएन । भारतको मान्छेले शिक्षा लिन पाउने र सुविधा किन लिन नपाउने ?,” खातुनले रुँदै भनिन्, “निजी विद्यालयमा पढ्नेहरू सरकारी विद्यालयबाट सुविधा लिन्छन् । तर, सधैँ पढ्न आउने मसँग किन विभेद ?”

खातुनका अनुसार उनका बुवा लामो समयदेखि जनकपुरमा सिरक डसना बनाउने काम गर्छन् । उनको जन्म जनकपुरमै भएपनि बुवा भारतीय नागरिक भएकाले खातुनको नेपाली जन्मदर्ता छैन । उनले विद्यालयमा भारतीय आधार कार्ड पेश गरेकी छन् ।

विद्यालयका शिक्षक गौरीशंकर लाल कर्णका अनुसार साइकल लिन मुख्यमन्त्री कार्यालयमा छात्राको जन्मदर्ता पेश गर्नुपर्छ । तर, उनको नेपाली जन्मदर्ता नभएकाले मुख्यमन्त्री कार्यालयले साइकल नदिएको शिक्षक कर्णको भनाइ छ । भारतको आधार कार्डको आधारमा नेपालको विद्यालयमा पढ्न पाउने कानुनी व्यवस्था छ । 

तर, जिल्ला युवा सञ्जाल धनुषाले खातुनको अनुहारमा खुसी ल्याउने काम गर्‍यो । उनलाई प्रोत्साहन गर्न भन्दै सोमबार सञ्जालका पदाधिकारीहरू घरमै पुगेर साइकल दिए । 

“एउटै कक्षाका सबै विद्यार्थीले साइकल पाए । तर, सोही विद्यालयका एक विद्यार्थीले पाउँदैनन् भने स्वतः उनको मनोबल घट्छ,” सञ्जालका अध्यक्ष धिरज साहले भने, “हामीले उनको पनि मनोबल बढाउने काम गरेका छौँ । साइकल अभावमा उनको पढाइ प्रभावित नहोस ।”

खातुनले साइकल पाएपछि खुसी व्यक्त गर्दै धन्यवाद दिएकी थिइन् । – baarhkhari