मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बीपीसँग जेल बसेका रामनारायण मिश्रका छोरा हरिशंकर बने प्रदेश-२ प्रमुख

बीपीसँग जेल बसेका रामनारायण मिश्रका छोरा हरिशंकर बने प्रदेश-२ प्रमुख


जनकपुरधाम– प्रदेश नम्बर २ को प्रदेश प्रमुखमा नेपाली कांग्रेसका नेता पूर्व सांसद हरिशंकर मिश्र नियुक्त भएका छन्। शेरबहादुर देउवा नेतृत्वको सरकारले राजेश झालाई प्रदेश प्रमुखबाट हटाएर मिश्रलाई नियुक्त गरेको हो।

यसअघि केपी ओली सरकारले राजेश झालाई प्रदेश प्रमुख नियुक्त गरेको थियो। त्यसअघि नै दुईजनाले यहाँ प्रदेश प्रमुखको जिम्मेवारी सम्हालिसकेका छन्। रत्नेश्वरलाल कायस्थ र तिलक परियारपछि राजेश झा प्रदेश प्रमुख भएका थिए। अर्थात्, प्रदेश २ ले ४ वर्षमा चौथो प्रदेश प्रमुख पाएको छ। 

तत्कालिन सत्तारुढ दल नेकपाभित्र विवाद भएपछि केपी शर्मा ओली नेतृत्वको सरकारले माओवादी निकट तिलक परियारलाई प्रदेश प्रमुखबाट हटाएर राजेश झालाई गत वर्ष फागुन ९ गते नियुक्त गरेको थियो। 

नवनियुक्त प्रदेश प्रमुुख मिश्रको जन्म २००२ सालमा महोत्तरीको पिपरामा भएको थियो। ५९ वर्षदेखि राजनीतिमा सक्रिय छन् मिश्र।  उनी बीपी कोइरालाका समकक्षी कांग्रेसी नेता रामनारायण मिश्रका छोरा हुन्। बीपीले २०१६ सालमा नेतृत्व गरेको सरकारमा उद्योग मन्त्री थिए रामनारायण। राजा महेन्द्रले पञ्चायती व्यवस्था लागू गरेपछि रामनारायणलाई समेत बीपीसँगै सुन्दरीजल कारागारमा बन्दी बनाइएको थियो।

बुवा जेलमा परेपछि २०१९ सालबाट राजनीतिमा सक्रिय भएका थिए नवनियुक्त प्रदेश प्रमुख मिश्र। ‘२०१९ सालमा बुवा जेलमा परेपछि प्रजातान्त्रिक आन्दोलनको झण्डा फहराउनकै लागि मैले आन्दोलनको झण्डा बोकेको थिएँ,’ मिश्र सुनाउँछन्, ‘बुवा जेलमा परेपछि आन्दोलन शिथिल हुने र पिपरा गाउँकै नाम डुब्ने डरले बुवाको पथमा अगाडिीबढेको थिएँ।’

रामनारायण पक्राउ परेका बेला छोरा हरिशंकर मिश्रले नै त्यो वर्ष प्रजातन्त्र दिवसको अवसरमा आन्दोलनको झण्डा फहराएका थिए। त्यतिबेला उनी कक्षा ९ मा पढ्थे। प्रजातन्त्र दिवसको अवसरमा झण्डा फहराएको भन्दै मिश्रलाई समेत पक्राउ गरेर जलेश्वर कारागारमा राखिएको थियो। उनी अढाइ महिना जेलमा बसे। पछि नाबालकलाई कारावासमा राखिएको आलोचना भएपछि मात्रै उनलाई छोडिएको थियो। त्यसपछि अनवरत रुपमा उनी प्रजातान्त्रिक आन्दोलनमा सक्रिय भइरहे। 

देशमा प्रजातन्त्रको पुनर्वहाली भएपछि २०४८ सालमा महोत्तरी क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभामा निर्वाचन लडे उनी र विजयी पनि भए। तर त्यसपछि २ पटक नेपाली कांग्रेसले सोही क्षेत्रबाट चुनाव लड्नका लागि अवसर दिए पनि उनी असफल भए। २०५१ सालको निर्वाचनमा उनी पराजित भएका थिए। 

प्रदेश प्रमुखमा नियुक्त भएपछि ७६ वर्षिय मिश्रले पार्टी र गठबन्धनको सरकारले आफूमाथि गरेको विश्वासप्रति आभार व्यक्त गरेका छन्। उनले प्रदेश २ सरकार र प्रदेशका जनतासँग छलफल गरेर आफ्नो योजनाको विषयमा खाका तयार पार्ने जानकारी दिए।