मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चौँतिस वर्षदेखि एउटै शिक्षकका भरमा विद्यालय सञ्चालित

चौँतिस वर्षदेखि एउटै शिक्षकका भरमा विद्यालय सञ्चालित

सुदूर आज

महाेत्तरी – सरोकारवालाको बेवास्ताका कारण महोत्तरीको एक विद्यालय विगत ३४ वर्षदेखि एउटै शिक्षकका भरमा सञ्चालित रहेको छ । 

अति गरिब, विपन्न र दलित विद्यार्थी मात्रै पढ्ने जिल्लाको मनरासिस्वा नगरपालिका वडा नं ९ मधवा गाउँमा रहेकाे श्री हनुमानदत्त विश्वनाथ जनता सरकारी प्राथमिक विद्यालय सम्बन्धित निकायको उदासिनताका कारण विगत ३४ वर्षदेखि एउटै शिक्षकका भरमा सञ्चालित रहेको छ । 

नेपाल भारतको दशगजा क्षेत्रको १० मिटर मात्रै उत्तर किनारामा मुसहर बस्तीको छेउमै अवस्थित याे विद्यालय अहिले बालकक्षादेखि ५ सम्म एउटै शिक्षकले धानिरहेका छन् । आफै प्रधानाध्यापक, आफै कक्षा शिक्षक र आफै कार्यालय सहयोगीसमेत भएर २०४४ सालदेखि नै यस विद्यालयमा बालबालिकालाई सेवा दिँदै आएको प्रधानाध्यापक एवं एक्लो शिक्षक रामयाद राउतले बताउनुभयो । 

विसं २०१० मा स्थापित त्यस क्षेत्रकै पहिलो विद्यालय अहिले देशमा तीन तहको सरकार भए पनि कसैको नजरमा पर्न सकेको छैन । भवन, कक्षाकोठा, शौचालय, खानेपानी अभाव र खुला आकाशमुनि टुटे भत्केको कोठाको बरण्डामा वर्षौंदेखि शिक्षा ग्रहण गर्न ससाना बालबालिका बाध्य रहेका छन् भने शिक्षक एवं प्र अ राउतले नचाहेर पनि सोही परिस्थितिमा पठनपाठन गराउन विवश रहेको दुखेसो व्यक्त गर्नुभयो ।

त्यस विद्यालयको बालकक्षामा २०, १ कक्षामा ६१, २ कक्षामा ७४, ३ कक्षामा ५३, ४ कक्षामा ५५ र ५ कक्षामा ६९ गरी जम्मा तीन सय ३३ छात्रछात्रा त्यस विद्यालयमा अध्ययनरत छन् ।

विद्यालयमा स्थापनाकालमै निर्मित पुराना जीर्ण तीन कोठा मात्रै छन् भने सोही कोठामा प्र अ राउतले कक्षा सञ्चालन र कार्यालय सञ्चालन गरिरहनुभएको छ । विद्यार्थीको चापले गर्दा पठनपाठनमा व्यवधान, कार्यालय सञ्चालनमा समस्या र खाजा पकाउने काममा समेत बाधा अवरोध हुने भएपछि त्यहाँ अध्ययनरत ७० प्रतिशत विद्यार्थीलाई कोठा बाहिर बनाइएको चिसो बरण्डामा बसाएर पढाउनुपर्ने बाध्यता रहेको प्र अ राउतले बताउनुभयो । 

करिब पाँच कठ्ठा क्षेत्रफल रहेको त्यस विद्यालयमा जति पनि कक्षाकोठा बनाउन मिल्ने पर्याप्त जग्गा रहेको, खुला चौर रहेको र शौचालय, खानेपानीलगायतका सबै सुविधा जडान गर्न पर्याप्त आधार रहे पनि कसैले चासो नदेखाउँदा समस्या रहेको स्थानीय बयोबृद्ध बुधवा सदाले बताउनुभयो ।

याे विद्यालय रहेकाे महोत्तरीको निर्वाचन क्षेत्र नं ३ बाट सङ्घीय सांसदमा लोकतान्त्रिक समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष महन्थ ठाकुर एवं प्रदेश सभासदस्यमा त्यही पार्टीका रानीकुमारी तिवारी निर्वाचित हुनुभएको छ । उहाँहरुले समेत कुनै चाँसो नराख्दा विद्यालयको अवस्था जस्ताको त्यस्तै रहेको छ ।