मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काजकिस्तानमा सरकारविरुद्ध आन्दोलन गर्नेहरूलाई मार्ने धम्की

काजकिस्तानमा सरकारविरुद्ध आन्दोलन गर्नेहरूलाई मार्ने धम्की

सुदूर आज

बीबीसी । सरकारविरुद्ध आन्दोलन गर्नेहरूलाई काजकिस्तानमा मार्ने धम्की दिइँदै छ भने बन्दुकधारी प्रहरी र सुरक्षाकर्मीहरूले घरघरमा घुसेर प्रदर्शनकारीलाई खोजीखोजी गम्भीर रूपमा कुटपिट गर्नेलगायत यातना दिइरहेका छन् ।

प्रदर्शनकै क्रममा गोली लागि घाइते भएकी एसेलका अनुसार उनीहरूले ‘फेरि विरोध गर्न निस्कियौ भने हामी तिमीहरूलाई मारिदिने छौँ’ भनेर ठूलठूलो स्वरमा चिच्याउँदै धम्की दिएका हुन् ।

उनका अनुसार ती ‘स्पेसल फोर्स’बाट आएका प्रहरी सरकारविरोधी आन्दोलन गर्नेहरूको पछि लागेका थिए । उनीहरूले एसेललाई पनि आफूसँगै लैजान खोजेका थिए । तर, उनी हिँड्नै नसक्ने गरी घाइते भएकाले छाडिदिए ।

अन्य अधिकांश नागरिकजसरी एसेलले पनि जनवरीको सुरुवातमा इन्धनको मूल्यवृद्धिविरुद्ध गरिएको शान्तिपूर्ण आन्दोलनमा सहभागी हुने निर्णय गरेकी थिइन् । काजकिस्तानमा विश्वकै सबैभन्दा ठूलो तेल रिजर्भ छ । तर पनि सर्वसाधारणले यसको कहिल्यै फाइदा लिन पाएका छैनन् ।

यस्तोमा बढ्दो तेलको मूल्यलाई लिएर ठूलो प्रदर्शन भयो । तर, सुरुमा शान्तिपूर्ण ढंगमा सुरु भएको आन्दोलन विस्तारै हिंसात्मक बन्न पुग्यो । मानिसले लुटपाट मच्चाउन थाले, जसलाई सोभियतबाट स्वतन्त्रता पाएको ३० वर्षपछिकै भयावह स्थिति बताइएको छ ।

यसमा सरकारी सुरक्षाकर्मीहरूले अत्यधिक बल प्रयोग गरेको आरोप छ । आन्दोलनकै क्रममा भएको हिंसात्मक झडपमा परी २२५ व्यक्तिहरू मारिए भने सर्यौ हजारौँ घाइते भएको बताइएको छ । त्यस्तै, सरकारले १० हजार प्रदर्शनकारीलाई अशान्ति मच्चाएको भन्दै नियन्त्रणमा लिएको जनाइएको छ । ५७ वर्षीया एसेल पनि त्यसरी नै गिरफ्तार परिएला भनेर एकदमै डराएको अवस्थामा थिइन् ।

काजकिस्तानको सुरक्षा निकायले हाल ती प्रदर्शनकारीहरूविरुद्ध ७०० अपराधिक मुद्दा दायर गरेका छन् । धेरैलाई आतंकवादी भएको आरोप लगाइएको छ भने कतिपयलाई हत्यारा र सरकार हटाउने षड्यन्त्रको आरोप पनि लगाइएको छ ।

तर, मानवअधिकारवादी समूहका अनुसार वास्तवमा ती निकायहरूले प्रदर्शनमा सहभागी सम्पूर्ण मानिसलाई निसाना बनाइरहेका छन् । फेसबुकलगायत सामाजिक सञ्जालमा सो प्रदर्शनको समर्थन गर्दै सामान्य पोस्ट गर्नेहरूलाई समेत हिरासतमा लिइएको छ ।

अल्माटीका मानवअधिकारवादी अभियन्ता बाकित्जान भन्छन्, “यसमा कसैलाई पनि निर्दोष होला भन्ने ठानिएको छैन । सबैलाई सम्भावित आतंकवादीको नाम दिइएको छ । र, जबरजस्ती उनीहरूलाई अपराध स्वीकार गर्न लगाइएको छ ।”

जस्तै : एक अभियन्तालाई हिंसामा संलग्न भएको आरोपमा सेनाले गिरफ्तार गरेको थियो र उनका वकिलले बीबीसीसँग बताएअनुसार हिरासतमा राख्दा उनलाई निर्मम तरिकाले कुटपिट गरियो । गहिरो चोट लागेको उनको खुट्टाको तस्बिर पनि सार्वजानिक गरिएको छ । तर, सरकारी निकायहरूले कुनै पनि किसिमको शारीरिक यातना नदिइएको दाबी गर्दै आएका छन् ।

प्रहरी विभागका अधिकारीले हिंसामा संलग्न नभएका कुनै पनि व्यक्तिले यसबारे चिन्ता गर्नु नपर्ने बताएका छन् । तर, हालसम्म पनि शान्तिपूर्ण आन्दोलन कसरी हिंसात्मक बन्न पुग्यो भन्ने स्पष्ट भएको छैन । किनकि, जनवरी ४ का दिन सुरुमा गरिएको प्रदर्शनमा सहभागी सबैले राष्ट्रिय गान गाउनेलगायत उत्सव मनाएजसरी शान्तिपूर्ण रूपमा राजनीतिक माग राखेका थिए । गाउँदेखि सहरसम्मका वासिन्दा, वृद्ध, जवान, काम गर्नेहरू सबै समूहका सर्वसाधारण संलग्न थिए ।

तर, प्रहरीले स्टन ग्रेनेड फाल्ने र अश्रुग्यास प्रहार गर्न थालेपछि भने माहोल विस्तारै परिवर्तन हुँदै गयो र प्रहरी र प्रदर्शनकारीबीचको झडप चर्किन थाल्यो । दुई पक्षबीच तनाव बढ्दै गयो भने आन्दोलनकारीहरू राइफल र चक्कु लिएर आएका स्थानीय सञ्चारकर्मी नुसीमबेकोभ बताउँछन् । तर, ती मानिस कहाँबाट आाएका को हुन् भन्ने स्पष्ट भएको थिएन ।

अल्माटी प्रहरी विभागका अधिकारी अजिरबेकका अनुसार लडाइँमा प्रशिक्षित किसिमका मानिस प्रहरीसँग भिड्न खोज्दै उनीहरूको हतियार लिने प्रयास गरिरहेका थिए । तर, अभियन्ताहरूले आफूहरू केवल शान्तिपूर्ण रूपमा प्रदर्शन गर्न चाहेको र ती हिंसाका लागि तिनै अपरिचित उग्रवादीहरू जिम्मेवार रहेको दोष लगाइरहेका छन् ।

उनीहरूले गाडी नष्ट गर्ने, झ्याल फुटाउने गर्न थाले, जसलाई अभियन्ताहरूले पनि रोक्न नसकेको बताउँछन् । उनीहरूले मास्क लगााएको हुनाले कसैले पहिचान गर्न सकेन । र, अभियन्ताहरूले आफैँ पनि उनीहरूसँग डराएर बस्नुपरेको बताएका छन् ।

सरकारले यस घटनामा अनावश्यक बल प्रयोग गरेर धेरै ठूलो गल्ती गरेकाले त्यसैलाई ढाक्नका लागि निर्दोष जनतालाई निसाना बनाइरहेको अभियन्ताहरूको आरोप छ । यसलाई काजकिस्तानको इतिहासकै ठूलो शोषण बताइएको छ ।