मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सेती लोकमार्गको कैलाली खण्डमा पुल निर्माण गर्न ठेक्का

सेती लोकमार्गको कैलाली खण्डमा पुल निर्माण गर्न ठेक्का


धनगढीः सेती लोकमार्गको कैलाली खण्डमा दुई वटा पक्की पुल निर्माणका लागि टेण्डर आह्वान गरिएको छ। लोकमार्गअन्तर्गत काँडा खोला र झाप्री खोलामा पक्की पुल निर्माण हुने भएको हो।

जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ मा पर्ने काँडा खोला र मोहन्याल गाउँपालिकाको वडा नम्बर २ कोल्तडीमा पर्ने झाप्री खोलामा पुल निर्माणका लागी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गत आइतबार टेन्डर आह्वान गरेको छ। एक महिना समय अवधि राखेर टेन्डर आह्वान गरेको र त्यस लगत्तै निर्माण व्यवसायी छनोट गरी पुल निर्माणको काम अघि बढाउने मन्त्रालयले जनाएको छ।

सेती लोकमार्ग सुदूरपश्चिमको गौरवको आयोजना छ। तर लामो समयदेखि सडक निर्माणले गति लिएको छैन। सेती लोकमार्ग निर्माणको चर्चा एक दशकअघिदेखि नै चलेको भए पनि अहिलेसम्म अपेक्षाअनुसार कामले गति लिन नसक्नुमा सरोकारवालाको कमजोरी रहेको स्थानीयको भनाई छ । २०७२ भदौ ३१ गतेको सरकारको निर्णयानुसार सेती लोकमार्ग सडक योजना अछाममा स्थापना भएको थियो। 

कैलालीको टीकापुरदेखि बझाङको चैनपुरसम्म सेती लोकमार्गको लम्बाइ २ सय ४२ किलोमिटर रहेको योजना कार्यालयले जनाएको छ। जसमा उत्तरी खण्डको लम्बाइ १ सय १० किलोमिटर छ। सन २०१२ मा आयोजनाको डीपीआर तयार भएको थियो। आयोजनाले भारत र चीन दुई छिमेकी देशको नाकालाई छोएको छ। टीकापुर नाकाबाट भारत र ताक्लाकोट बझाङले चीनलाई छोएको छ।

टीकापुर–खप्तड छान्ना गाउँपालिका (बझाङ) र खप्तड छान्ना गाउँपालिका (बझाङ)–ताक्लाकोट गरी आयोजनालाई दुई खण्डमा विभाजन गरिएको छ। सेती लोकमार्ग निर्माणलाई तीव्रता दिन भन्दै सरकारले दक्षिणी खण्डको निर्माणका लागि अछामको साँफेबगर र उत्तरी खण्डका लागि बझाङको चैनपुरमा छुट्टाछुट्टै आयोजना कार्यालय स्थापना गरेको छ। – दिनेशखबर