मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ऋषिदहमा कुटानी, पिसानी र पेलानी मिल संचालनमा

ऋषिदहमा कुटानी, पिसानी र पेलानी मिल संचालनमा


अछाम : जिल्लाको मेल्लेख गाउँपालिका वडा नं. १ र २ ऋषिदहमा २ वटा कुटानी, पिसानी र पेलानी मिल संचालनमा आएका छन्। वाक नेपाल र वल्र्ड भिजनको संयुक्त साझेदारी संचालित उत्थानशिल जीविकोपार्जन तथा पोषण परियोजना, दुईवटै वडा कार्यालय र जनकल्याण कृषि सहकारी संस्थाको लागत साझेदारीमा मिल संचालनमा ल्याईएको हो।

त्यस क्षेत्रका महिलाको कार्यबोझमा कमी ल्याई कुटानी, पिसानी कार्यमा लाग्ने समयलाई कृषि (तरकारी) उत्पादन कार्यमा सदुपयोग गरी समुदायको आय आर्जनमा बृद्धि गर्ने उद्देश्यले मिल संचालन गरिएको हो।

उत्थानशिल जीविकोपार्जन तथा पोषण परियोजनाको रु. ४ लाख, जनकल्याण कृषि सहकारी संस्थाको रु. ४ लाख र दुइवटा वडा कार्यालयको रु. ३ लाख गरी कुल जम्मा रु ११ लाख रुपयामा २ वटा मिल संचालनमा आएका हुन्।

संचालनमा आएका दुई वटा मिलको बिहिबार एक कार्यक्रम गरी उद्घाटन गरिएको छ । जनकल्याण कृषि सहकारी संस्थाका अध्यक्ष श्री अर्जुन बहादुर धामी अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि मेल्लेख गाउँपालिकाका अध्यक्ष लोक बहादुर बोहरा रहेका थिए ।

उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि बोहराले दुर्गम बस्तिका महिलाहरुको दुख पिडालाई मध्य नजर गरी मिल स्थापना गर्न पहल गर्ने वाक नेपाल, सहकारी संस्था र वडा कार्यालयलाई धन्यवाद दिए । साथै उनले आफ्नो गाउपालिका आगामी दिनमा वाक नेपालसंग मसलाबाली र आलु प्रशोधन जस्ता कार्यमा सहकार्य र साझेदारी गरेर काम गर्ने बताए।

कार्यक्रममा वडा नं. १ अध्यक्ष तुले धामी, २ का अध्यक्ष दान बहदुर बुढाले मिल स्थापना कार्यमा सहयोग गरेकोमा वाक नेपाललाई धन्यवाद दिदै मिलको दीगोपनामा वडा कार्यालयको निरन्तर सहयोग रहने विश्वास व्यक्त गरे ।

गाउँपालिकाका अध्यक्षले मिलको सुईच खोलेर उद्घाटन गरे भने वाक नेपालका अध्यक्ष बल बहादुर के.सीले मिल संचालनको जिम्मा लिएको जनकल्याण सहकारी संस्थाका अध्यक्षलाई मिलको साँचो हस्तान्तरण गरे।

कार्यक्रममा वाक नेपालका अध्यक्ष बल बहादुर के.सी., मिल संयोजक जगत रावल, आपूर्ती व्यवस्थापन अधिकृत अनुजा श्रेष्ठ, सामाजिक परिचालक भुपेन्द्र भण्डारी, वडा नं १ र २ गठित समुदायमा आधारित संस्थाका प्रतिनिधि र आम समुदायको सहभागीता रहेको थियो।

कार्यक्रमको संचालन वाक नेपालका सामाजिक परिचालक भुपेन्द्र भण्डारीले गरेका थिए भने स्वागत जनकल्याण कृषि सहकारी संस्थाका सचिव मान सिंह बि.क. ले गरका थिए । दुर्गम बस्ति ऋषिदहमा मिल संचालनमा आए पछि स्थानीय वासीहरु हर्षित भएका छन् ।