अछाम । मंगलसेन नगरपालिका–७ की २० वर्षीया जानकी जैसीले नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अछाम प्रतिनिधिसभा क्षेत्र नं. २, प्रदेश सभा ‘ख’ बाट युवा महिला महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी घोषणा गरेकी छन्।
सानै उमेरमा पार्टीको महाधिवेशन प्रतिनिधि बन्ने दौडमा रहेकी जैसीले आफ्नो उम्मेदवारीलाई व्यक्तिगत पद प्राप्तिको आकांक्षाभन्दा पनि युवा, महिला तथा बालबालिकाका आवाजलाई राजनीतिक मूलधारमा स्थापित गर्ने प्रयासका रूपमा व्याख्या गरेकी छन्।
सामाजिक क्षेत्रमा सक्रिय रहँदै आएको बताउने जैसीले समाजमा काम गर्ने क्रममा युवा महिला तथा बालबालिकाका आवाज अझै पनि पर्याप्त रूपमा सुनिन नसकेको अनुभव गरेपछि आफू थप जिम्मेवार भएर अघि बढ्न चाहेको बताएकी छन्।
उनका अनुसार, आफ्नो उम्मेदवारी “नेतृत्व पदका लागि मात्र नभई महिला सशक्तीकरण र सामाजिक परिवर्तनका लागि” हो।
“उमेर सानो भए पनि पार्टीप्रतिको मेरो आस्था, विश्वास र केही गर्नुपर्छ भन्ने भावना सानो छैन,” जैसीले भनेकी छन्, “युवाले अवसर पाउनुपर्छ र महिलाले पनि पार्टीको नेतृत्व तहमा आफ्नो आवाज बलियो बनाउनुपर्छ भन्ने विश्वासका साथ उम्मेदवारी दिएकी हुँ।”
जैसीले नयाँ पुस्तालाई पार्टीको संगठन र निर्णय प्रक्रियामा सहभागी गराउनुपर्नेमा जोड दिएकी छन्। विशेषगरी युवती तथा महिलालाई राजनीतिक नेतृत्वमा अघि बढाउन आफूले आफ्नो उम्मेदवारीमार्फत सकारात्मक सन्देश दिन खोजेको उनको भनाइ छ।
“म २० वर्षकी एउटी युवा छोरी हुँ। तर मेरो उमेर मात्र हेरेर होइन, मेरो उत्साह, विश्वास र केही गर्ने चाहनालाई पनि बुझिदिनुहोस्,” जैसीले क्षेत्रीय प्रतिनिधि, वडा तथा नगर सभापति, अग्रज नेता, कार्यकर्ता तथा कांग्रेसजनसमक्ष अपिल गरेकी छन्।
उनले आफूलाई प्राप्त हुने साथ र विश्वासलाई व्यक्तिगत उपलब्धिभन्दा पनि जिम्मेवारीका रूपमा ग्रहण गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन्।
अछामकी छोरीका रूपमा आफूले पाएको माया, विश्वास र साथलाई सदैव सम्मान गर्ने बताउँदै जैसीले आफ्नो उम्मेदवारीमार्फत युवा पुस्ताको सहभागिता, महिला सशक्तीकरण र सामाजिक उत्तरदायित्वको आवाजलाई पार्टीभित्र थप बलियो बनाउन चाहेको बताएकी छन्।














प्रतिक्रिया