मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

‘म र राजनीति’

‘म र राजनीति’

सुदूर आज

  • लाल साउद

४६ को परिवर्तन पछि म सुरूमा कँग्रेसतिर आकर्षित भएको कुरा अघिल्लो स्ट्याटसमा लेखिसकेको छु।

किनकि कँग्रेस समर्थक बैतडीको इतिहास प्रथम महिला मंत्री स्व. द्वारिका देवी ठकुराठी चन्द, कृष्ण कुमार जोशी, तत्कालीन विद्यार्थी नेता नरबहादुर चन्द लगायत हुलका हुल नेताहरू हाते माइक बोक्दै शर्माली आइरहन्थे बराबर। हामी किशोरहरू त माइक भनेपछि हुरुक्कै।

२०४७ को फागुनतिर होला सायद ने वि सङ्घका तत्कालीन नेताहरू शर्माली पुगे हाते माइक बोकेर। आज शर्माली हाइस्कुलमा कार्यक्रम छ ! आउनुहोस् भनेर फुक्न थाल्यौँ हामी पनि माइकबाट तल सन्कोटतिर र यता गाउँमा पनि। दिउँसो २ बजेतिर एकाई गठन गर्न सबैलाई चौरमा बसाइयो।

सरहरु पनि अगाडि कुर्सीमा लहरै बसे विद्यार्थी नेताहरू संगै। विद्यार्थी नेताका चाखलाग्दा भाषणले रगत उम्लिन्थ्यो। मैले उक्त कार्यक्रममा स्वयंसेवक को रूपमा माथि बजारमा रहेको धाराबाट पानी बोकेर सबैलाई पियाएको याद छ।

एकाई समिति पनि गठन भयो। सानै भएपनि कक्षामा मनिटर हुने र प्रथम आउने विद्यार्थी भएकाले मलाई पनि सदस्य सम्म बनाउलान् भन्ने आश थियो तर मेरो नाम लेखिएन। केहीदिनपछि अनेरास्ववियु को टीम आएपछि म पनि प्रारम्भिक कमिटिको कोषाध्यक्ष बनेर कम्युनिष्ट निकट बनेँ । लगत्तै २०४८ को निर्वाचनमा बैतडी क्षेत्र नं २ मा मानन्धर समूहका उत्तम चन्दको पक्षमा प्रचार प्रसार गर् यौं हामी विद्यार्थीहरूले तर पल्ला पनि कंग्रेशकै भारी भयो त्यो चुनावमा सुपमा पूरा १९ सीट! त्यतिबेला नेकपा एमालेको बैतडीमा भर्खर भर्खर जिल्ला कमिटि बनेको थियो होला सायद। पूर्वका गंगा पौडेल सचिव बनेर जिल्लामा खटेका थिएँ।

जिल्लाको दक्षिणको सबैभन्दा दुर्गम शर्मालीमा भने भरत मडै दाईले पार्टीको जिम्मेवारी संचालन गरिरहनु भएको थियो। वहाँ हाल नेकपाका नेता तत्कालीन शिक्षक पुरन दयाल सरको सम्पर्कबाट कम्युनिष्ट राजनीतिमा हिड्नु भएको हो र पार्टी एकता अघिसम्म एमालेको जिल्ला कमिटि सदस्यका रूपमा हुनुहुन्थ्यो र आजभोलिको जिम्मेवारी बारे उति थाहा छैन मलाई!

हामी भरत दाइसंग बसेर पार्टीका बारेमा छलफल गर्थ्यौँ। नेता मदन भण्डारीका भाषण अडियो सुन्थ्यौँ। २०४९ को स्थानीय निर्वाचनमा वडा नं १ र ९ बाट सूर्य ध्वजावाहक उम्मेदवारहरूलाई बिजयी गरायौं। अध्यक्ष र उपाध्यक्ष, ७ र ८ मा उम्मेदवारी दिएको भएपनि लोकप्रिय मत पायो पार्टीले जीत हाँसिल नगरेपनि। महेन्द्रनगर क्याम्पस पढ्ने राजकुमार दाईले शर्मालीमा २०४९ सालमा ” महाकाली साझा हो! पानी आधा आधा हो!! भन्ने नारा जुलुसमा गुन्जाएका थिएँ। कंग्रेसको बहुमतको सरकारले असमान रूपले टनकपुर सन्धि गरी महाकाली नदीमा रहेको टनकपुर बाँधमा नेपालको भू भाग भारतलाई दिई राष्ट्रघात गरेको कुरा खुब जोडदार ढंगले उठेको थियो।

मेरो आस्थाका आधारमा २०४९ को असोजमा नेपाल कम्युनिष्ट पार्टी एकीकृत मार्क्सवादी र लेनिनवादीको पार्टी सदस्यता दिइएको थियो १३ वर्षको कलिलो उमेरमै। भलै विधानमा १६ वर्ष माथिकालाई मात्र दिइने भन्ने व्यवस्था थियो रे। २०५० को जेठ ३ मा लोकप्रिय नेता तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको रहस्यमय जीप दुर्घटनामा निधन भएपछि हामी पनि शोकाकूल बन्यौं।

पार्टी समर्थक दाइ लगायत हामी विद्यार्थीहरूले सानो शोक मौन धारण कार्यक्रम राख्यौं। अहिलेको जस्तो मोबाइलको जमना नभएकाले फोटो पनि खिच्ने अवसर हुन्थेनँ। त्यति बेला एमाले लगायत नौ बामले दासढुंङा जीप दुर्घटना,टनकपुर काण्ड लगायत विविध माग राखेर देशव्यापी आन्दोलनको घोषणा गरेका थिए। जसमा विद्यार्थी प्रभाकर सुवेदी लगायतले सहादत पनि प्राप्त गरे। २०५० माघमा मैले एस एल सी परिक्षा दिन परीक्षा केन्द्र बैतडीको पाटन जाँदा त्यहाँ तेस्रो दिन हिँसा भड्कियो र परीक्षामै गोली चल्यो अन्य स्कुलका ३ जना विद्यार्थीहरू घाइते बन्नुभयो।

त्यस्तो भएपछि कसरी लेख्ने? पूरै स्कुल निल। कक्षा ४ देखि ९ सम्म प्रथम हुँदै आएको म गणित र विज्ञानमा फेल। त्यसपछि अर्को वर्ष फेरी रेगुलर विद्यार्थीको रूपमा मलाई हेडसरले भर्ना गरिदिनुभयो र म उत्तीर्ण भएँ। मैले फागुनमा तत्कालीन प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले गिरिजा सरकार विरुद्ध अविश्वासको प्रस्ताव राखेको थियो तर पारित हुन सकेनँ। पछि आफ्नै कारणले चौँहत्तरे र छत्तीसे गुटमा विभाजित हुँदा एकमना बहुमतको सरकार ढल्यो २०५१ असारमा तर तत्कालीन प्रधानमन्त्री स्व गिरिजाप्रसाद कोइरालाले मध्यावधि निर्वाचनमा जाने घोषणा गरे। म पार्टीको प्रचार प्रसारमा जुटे।

त्यतिबेला बैतडीमा निर्वाचन क्षेत्र दुईटा कायम गरिएकोमा बैतडी क्षेत्र नं २ बाट एमाले उम्मेदवार कमरेड आनन्ददेव भट्टलाई जिताउन लाग्यौं। शर्मालीमा भएको निर्वाचन सभाको संचालन मैले नै गरेको थिएँ। शर्मालीमा हाम्रो संगठन बलियो थियो र आजसम्म पनि छ होला। २०५१ को निर्वाचनमा तत्कालीन एमाले ८८ सीट जित्दै पहिलो दल बन्यो।महाकाली अंचलको दार्चुलामा एक सीट र कंचनपुरमा ३ सीट गरी चार स्थान जितेपनि बैतडीमा भने दोस्रोमै चित्त बुझाउनु पर् यो। काग्रेस भने देशैभरी बागी उम्मेदवारीका कारण दोस्रोमा झर् यो र एमालेले स्व नेता मनमोहन अधिकारीको नेतृत्वमा कम्युनिष्टहरूको ऐतिहासिक अल्पमतको सरकार बनायो।

जुन नौ महिनामै ढालिए पनि आजसम्म पनि लोकप्रिय छ। ५२ मा एस एल सी फेरी दिएर उत्तीर्ण भएपछि क्याम्पस पढ्न महेन्द्रनगरस्थित सिद्धनाथ बहुमुखी क्याम्पसमा आए तर्फ भर्ना भइयो। स्वतन्त्र विद्यार्थी युनियन अखिलको थियो। विद्यार्थी नेता एवं स्व वि यु सभापति खगेन्द्र जोशी एकदमै असल हुनुहुन्थ्यो। महेन्द्रनगर आएपछि अहिलेका मेयर सुरेन्द्र बिष्ट ज्युसंगको नजिकको उठबसले झन विद्यार्थी आन्दोलनमा समर्पित भइयो।

२०५३ को स्व वि यु निर्वाचनमा म साँस्कृतिक टीमको अगुवाई गर्दै विद्यार्थी साथीहरूको बिचमा होमिए। स्ववियुमा पाइसकेको टिकट एक दुई जना नेताहरू (जसको मैले महाकाली सिंचाई गेष्ट हाउसमा मनोनयन हुने अघिल्लो राति सिपी मैनाली कमरेडको सामुन्ने विरोध गरेको थिएँ) ले खोसिदिएँ। तैपनि म संगठनको पक्षमा पूरा खटेर लागे। अखिलले सदाबहार जीत निकाल्यो निर्वाचनमा।

क्रमश:

दक्षिण कोरिया