मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अध्यादेश पार्टी फुटाउनका लागि ल्याइएकाे होइन : प्रधानमन्त्री ओली

अध्यादेश पार्टी फुटाउनका लागि ल्याइएकाे होइन : प्रधानमन्त्री ओली


काठमाण्डौ – प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बुधबार पार्टी स्थापना दिवसका अवसरमा सङ्घीय संसदमा प्रतिनिधित्व गर्ने तीन प्रदेशका सांसदसँग अध्यादेश र बन्दाबन्दी विषयमा छलफल गर्नुभएको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबारदेखि सुरु भएको सुदूरपश्चिम प्रदेश, प्रदेश नम्बर १ र वाग्मती प्रदेशका सांसदसँगको छलफलमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले संसद् नचलेको अवस्थामा सरकारले अध्यादेश ल्याउनु सामान्य प्रक्रिया भएको बताउनुभयो । 

प्रधानमन्त्री ओलीलाई उद्धृत गर्दै उहाँका प्रेस सल्लाहकार सूर्य थापाले भन्नुभयो, ‘अध्यादेश ल्याउनु सरकारकोे नियमित र सामान्य काम भएको हुँदा यसमा विवाद गर्नुपर्ने कुनै कारण छैन ।’ प्रधानमन्त्री ओलीले सांसदसँगको ब्रिफिङमा अध्यादेश पार्टी फुटाउनका लागि नभई सबै दलका लागि ल्याइएको जनाउँदै यसमा कुनै किसिमको भ्रममा नपर्न स्पष्ट पार्नुभएको थापाले जानकारी दिनुभयो । 

संवैधानिक आयोग पदाधिकारीविहीन भएकाले तिनलाई कामकाजी बनाउनका लागि अध्यादेश ल्याइएको र सहमतिका लागि निकै प्रयाससमेत गरिएको प्रधानमन्त्री ओलीले ब्रिफिङमा जानकारी दिनुभएको थियो । प्रधानमन्त्री ओलीले आफ्ना प्रदेशमा लकडाउनका कारण समस्या भएको भए जानकारी गराउन सांसदसँग आग्रह गर्दै कोरोना भाइरसबाट खतरामुक्त नभएसम्म यसलाई निरन्तरता दिइने र सीमामा अझ कडाइ गरिने बताउनुभएको प्रेस सल्लाहकार थापाले जानकारी दिनुभयो । 

उहाँका अनुसार बिहीबार बाँकी प्रदेशका सांसदसँग ब्रिफिङ हुनेछ । प्रदेश २ सँग बिहान साढे १० बजे, प्रदेश ४ सँग अपराह्न ३ बजे, प्रदेश ५ सँग अपराह्न साढे ४ बजे र कर्णाली प्रदेशका सांसदसँग साँझ ६ बजे छलफल हुने तय भएको छ । – unn