मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोरोना जोखिम व्यवस्थापनमा सरकार विफल : कांग्रेस

कोरोना जोखिम व्यवस्थापनमा सरकार विफल : कांग्रेस


काठमाडाैं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कोरोना भाइरस संक्रमण जोखिम न्यूनीकरणका लागि सरकारी तयारी फितलो रहेको औंल्याएको छ।

पार्टी केन्द्रीय कार्य समितिको जारी बैठकमा लकडाउनको तयारी र व्यवस्थापनमा सरकार असफल रहेको, विपक्षी दलको सुझाव, डब्ल्युएचओको निर्देशन र सञ्चारमाध्यम आग्रहलाई बेवस्ता गरेको विषयमा नेताहरुले छलफल जारी राखेका छन्।

बैठकमा कोरोना परीक्षणमा अत्यावश्यक सामग्री जुटाउन सरकार असफल रहेको, स्वास्थ्य संवेदनशीलतामा गम्भीर नभएको र उल्टै औषधि खरिदमा राज्य नै भ्रष्टाचारमा मुछिएको विषयमा नेताहरुले सरकारको कडा आलोचना गरेका छन्।

नेताहरुले कोरोना भाइरस परीक्षणको दायरा व्यापक रुपमा बढाउन, कोरोनाबाट प्रभावित विपन्न र मजदुरलाई पर्याप्त राहत उपलब्ध गराउन र उपचारमा खटिएका स्वास्थ्यकर्मीको स्वास्थ्य सुरक्षा संवेदनशीलतामा गम्भीर बन्न सरकारसँग माग गरेका छन्।

बैठकमा कोरोना जोखिमबाट नेपालीको रक्षाका लागि प्रतिपक्षीमा रहेर खेल्नुपर्ने भूमिका र केपी ओली सरकारबाट प्रजातन्त्रमाथि प्रहार भइरहेकाले त्यसलाई कसरी बचाउन सकिन्छ भन्ने बारेमा छलफल भइरहेको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।

बैठकमा नेताहरुले ओली नेतृत्वको सरकार लोकतन्त्र र लोकतान्त्रिक संविधान मास्न सक्रिय रहेकाले त्यसविरुद्ध अन्य प्रतिपक्षी दलसँगकाे सहकार्यलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका छन्।

बैठकले कोरोना संक्रमणको जोखिम न्यूनीकरणमा खटिएका स्वास्थ्यकर्मीले देखाएको उच्च मानवीय भावनाको सम्मान गरेको छ। साथै प्रतिकूल समयमा पनि उच्च मनोबलका साथ खटिएका सुरक्षाकर्मी र पत्रकारको क्रियाशीलता तथा सरसफाइ क्षेत्रमा रहेका मजदुर कर्मचारीप्रति विशेष सम्मान गरेको छ।

कांग्रेसले नेपाली भूगोलबाहिर रहेका कोरोनाका कारण मृत्यु भएका नेपालीप्रति श्रद्धाञ्जलि अर्पण गर्दै र परिवारजनमा समवेदना प्रकट गरेको छ।

बैठकले नेपालमा उपचार गराइरहेका कोरोना संक्रमित बिरामीको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ।

यसैगरी कोरोनाको जोखिमका कष्टकर जीवन बिताइरहेकालाई संयम र सतर्क रहन पनि बैठकले अपिल गरेको छ।

काेराेनाकाे जाेखिम बढेपछि स्वास्थ्यकर्मी, अर्थशास्त्री र सर्वदलीय बैठकपछि कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बुधबार सुरु भएको हो। -nepalsamya