मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आगामी बजेटमाथि कांग्रेसको छलफल

आगामी बजेटमाथि कांग्रेसको छलफल

सुदूर आज

काठमाडौं । नेपाली कांग्रेसले गठन गरेको छाया सरकारले आगामी आर्थिक वर्ष ०७७÷७८ को नीति, कार्यक्रम र बजेटसम्वन्धी छलफल गरेको छ । अर्थ मन्त्रालय समन्वय समिति (छाया अर्थ मन्त्रालय) ले बुधबार पार्टी कार्यालय सानेपामा उद्योग, वाणिज्यलगायत सम्बन्धित क्षेत्रका छाता संस्थाहरूको नेतृत्वसँग अन्तर्क्रिया गरेको हो ।

सभापति शेरबहादुर देउवाले अन्तर्क्रियाका क्रममा उद्योगी, व्यवसायीले दिएका सुझाव संसदमा उठाउने प्रतिबद्धता जनाए । “तपाईंहरूले सल्लाह दिएअनुसार हामी पार्लियामेन्टमा कुरा उठाउने छौं,” उनले भने, “तपाईंहरूले जो महत्त्वपूर्ण कुरा उठाउनुभएको छ त्यसका लागि हामी सरकारसँग कुरा उठाउने छौं ।” 

अन्तर्क्रियाका क्रममा आएका सुझाव कांग्रेसले संसदमा मात्रै उठाउने नभएर प्रधानमन्त्री र अर्थमन्त्रीलाई भेटेरै कार्यान्वयनका लागि दबाब दिने सभापति देउवाको भनाइ थियो । 

“संसदमा मात्रै उठाउने होइन कि प्रधानमन्त्री, अर्थमन्त्रीलाई भेटेर भए पनि नेपालमा आइपर्ने समस्या समाधान हुनुपर्छ भनेर आवाज उठाउने छौं । तपाईंहरूको कुरा सरकारमा राख्ने मात्रै होइन उसलाई गराउन (कार्यान्वयन) बाध्य पनि गराउने छौं,” उनले भने, “विपक्षीको कामै भनेको दबाब दिने हो । तपाईंहरूको भावनाअनुसार दबाब दिएरै भए पनि काम गराउने विश्वास दिलाउन चाहन्छु ।” 

अन्तर्क्रियामा सहभागी उद्योग, वाणिज्यलगायत क्षेत्रका छाता संस्थाका नेतृत्वहरूले कोरोना भाइरसको संक्रमण फैलिन नदिन लागु गरिएको लकडाउनको विकल्प खोजिनुपर्ने, उद्योग–कलकारखाना खोला गर्नुपर्ने, बैंक ब्याजदर घटाउनुपर्नेलगायत माग सरकारसमक्ष राख्न कांग्रेसलाई सुझाव दिएका थिए । – baarahkhari