मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कांग्रेससँग निजी क्षेत्रको आग्रह : सरकारलाई हाम्रा कुरा सुनाइदेऊ

कांग्रेससँग निजी क्षेत्रको आग्रह : सरकारलाई हाम्रा कुरा सुनाइदेऊ


काठमाडौं– निजी क्षेत्रले कोभिड १९ को संक्रमणका कारण नेपालको आर्थिक क्षेत्रमा गम्भीर असर परिरहँदा सरकार गम्भीर नभएको गुनासो गरेको छ।

नेपाली कांग्रेस संसदीय दलले बुधबार सरकारको नीति तथा कार्यक्रम र बजेट सम्बन्धी निजी क्षेत्रसँग गरेको अन्तरक्रिया कार्यक्रममा उद्योगी व्यवसायीहरुले सरकारले बेवास्ता गरेको गुनासो गरेका हुन् ।

अन्तर्क्रियामा सहभागी उद्योग, वाणिज्यलगायत क्षेत्रका छाता संस्थाका नेतृत्वहरूले लकडाउनको विकल्प खोजिनुपर्ने, उद्योग–कलकारखाना खुला गर्नुपर्ने, बैंक ब्याजदर घटाउनुपर्नेलगायत माग सरकारसमक्ष राख्न कांग्रेसलाई सुझाव दिए। 

छलफलमा नेपाल निर्माण व्यवसायी संघका अध्यक्ष रवी सिंहले आगामी बजेट र नीति तथा कार्यक्रममा पाँच करोड रुपैयाँ सम्मका कार्यक्रम स्थानीय तहलाई र २५ करोड रुपैयाँसम्मको परियोजना प्रदेश सरकारले बनाउने गरी व्यवस्था गर्नुपर्ने सुझाव दिए ।

नेपाल एशोसियसन अफ टूर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) का अध्यक्ष अच्युत गुरागाईंले कोभिड– १९ को मार सबैभन्दा धेरै पर्यटन क्षेत्रमा परे पनि सरकारले बेवास्ता गरेको गुनासो गरे।

उनले भने, ‘सरकारले हाम्रा कुरा सुनिरहेको छैन, हामीलाई समस्या पर्दा राज्यले नहेर्ने हो भने हामीले कर तिरेको के काम? पर्यटन मन्त्रालय जिम्मेवार बन्न सकेन।’

पर्यटनमन्त्रीले व्यवसायीका कुरा नसुनेको भन्दै उनले थपे, ‘हामीसँग चालु पुँजी छैन, पर्यटन व्यवसायी पलायन नै हुनुपर्ने अवस्था आउँदैछ। व्यवसाय डुब्दा मैतिदेवीमा एक व्यक्तिले आत्महत्या गरे, यसको जिम्मा कसले लिन्छ? यस्ता कुराहरु विपक्षी दलको नाताले तपाईहरुले उठाउनुपर्छ।’

त्यस्तै बैंकर्स एसोसिएसनका पूर्व अध्यक्ष ज्ञानेन्दै ढुंगानाले आगामी तीनदेखि ६ महिनासम्म बैंकको आम्दानी शून्य हुने भन्दै सरकारले तेस्रो राहत प्याकेज ल्याउनुपर्ने धारणा राखे ।

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले सरकारले कुल गार्हस्थ उत्पादनको पाँच प्रतिशत अर्थात् एक खर्ब ८८ अर्ब रुपैयाँको राहत प्याकेज घोषणा गर्नुपर्ने बताए।

तथ्यांक विभागले आर्थिक वर्ष २०७६÷७७ मा नेपालको कुल गार्हस्थ उत्पादनमा ३७ खर्ब ६७ अर्ब रुपैयाँ रहने अनुमान गरेको छ ।

त्यस्तै गोल्छाले आफूहरुले सरकारलाई ५१ पृष्ठ लामो सुझाव पेश गरेको जानकारी दिदै बैंक तथा वित्तीय संस्थाहरुले पाँच प्रतिशत ब्याजदरमा ऋण दिनुपर्ने बताउँदै भने, ‘यसका लागि विपक्षी दलको नाताले तपाईहरुले पनि दवाब दिनुपर्छ ।’

होटल एसोसिएसन अफ नेपाल (हान)की अध्यक्ष सिर्जना राणाले विपक्षी दलको नाताले नेपाली कांग्रेसले होटल क्षेत्रको अस्तित्व बचाउनका लागि पहल गर्नुपर्ने धारणा राखेकी थिइन्।

कांग्रेसको ढाडस

छलफलमा कांग्रेस सभापति शेरबहादुर देउवाले उद्योगी, व्यवसायीले दिएका सुझाव संसदमा उठाउने प्रतिबद्धता जनाउँदै भने, ‘तपाईंहरूले सल्लाह दिएअनुसार हामी संसदमा र सरकारसँग कुरा उठाउने छौं।’ 

उनले छलफलमा आएका सुझावलाई संसदमा मात्रै उठाउने नभएर प्रधानमन्त्री र अर्थमन्त्रीलाई भेटेरै कार्यान्वयनका लागि दबाब दिने बताएका नेपाल समयमा खबर छ।