मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भारतले नेपालको सार्वभौमसत्ता माथि प्रहार गर्यो

भारतले नेपालको सार्वभौमसत्ता माथि प्रहार गर्यो


काठमाडाैं- सत्तारुढ नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले भारतले नोपली भूमिबाटै चीनको मानसरोवर जाने बाटो निर्माण गरी उद्घाटन गर्नु अत्यन्त दुःखद र आपत्तिजनक रहेको बताएका छन्।

भारतको यस्तो कार्यबाट दुई देशबीच यसअघि भएका सम्झौता र सहमतिहरुको गम्भीर उल्लंघन हुनुका साथै नेपालको सार्वभौमसत्ता र अखण्डतामाथि प्रहार भएको नेता नेपालको भनाइ छ।

पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले आइतबार जारी गरेको वक्तव्यमा भनिएको छ, ‘भारत सरकारको उक्त कदमको तीव्र विरोध गर्दै नेपाली भूमिभित्र कुनै पनि संरचना निर्माण र प्रयोग नगर्न आग्रह गर्दछ।’

उनले सुगौली सन्धि, विभिन्न मुलुकहरुले प्रकाशन गरेका नक्सा, ब्रिटिस इन्डिया सरकारका अधिकारीहरुले लेखेका पत्र र अन्य ऐतिहासिक तथ्यहरुले समेत लिम्पियाधुरबाट निस्कने काली (महाकाली) नदी नै दुई देशबीचको सीमा नदी रहेको स्पष्ट पारेका छन्।

नेता नेपालले भनेका छन्, ‘उक्त सन्धिको प्रावधान र मर्मविपरीत भारतले नेपाली भूभागलाई आफ्नो नक्सामा राख्नु, अनधिकृत रुपमा सुरक्षाकर्मी राख्नु र बाटो निर्माण गर्नु स्वतः सन्धिविपरीत हुन्छ।’

नेता नेपालले भारतले राजनीतिक नक्सा जारी गरेपछि उत्पन्न परिस्थितिमा औपचारिक तहमा वार्ता गर्नका लागि नेपाल सरकारले दुई पटक पत्र लेखिसक्दा पनि त्यस विषयमा वार्ता अघि बढाउनुको साटो नेपालको सार्वभौमसत्ता संकुचन हुने गरी कदम चाल्नुले थप गम्भीर बनाएको बताएका छन्।

वक्तव्यमा भनिएको छ, ‘यस संवेदनशील विषयमा उच्च राजनीतिक तहमा वार्ता गर्न, नेपालको वैध हकलाई कुनै पनि हालतमा कुण्ठित हुन नदिन, आवश्यक तथ्य र प्रमाणरुसहित दृढताका साथ प्रस्तुत हुन र आफ्नो भूमि कायम गर्न हामी नेपाल सरकारको गम्भीरतापूर्वक ध्यानाकर्षण गराउँछौं।’

उनले यसबारे छलफल गर्न महामारीको अन्त्य नकुरी भिडियो कन्फरेन्सका माध्यमबाट तुरुन्त कुराकानी गर्न पनि माग गरेका छन्। 

उनले यसअघि पार्टीका स्थायी समिति र केन्द्रीय कमिटीबाट भएका निर्णयहरुलाई ध्यानमा राखेर दृढतापूर्वक आवश्यक कदम चाल्न सरकारसँग आग्रह गरेका नेपाल समयमा खबर छ ।