मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अहिले पानीजहाज र रेललाई बजेट किन चाहियो ? – डा. भट्टराई

अहिले पानीजहाज र रेललाई बजेट किन चाहियो ? – डा. भट्टराई


काठमाडौं- पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले पुरानै ढर्रामा ल्याइएको बजेटले कोरोनाबाट उत्पन्न संकट समाधान गर्न नसक्ने प्रतिक्रिया दिएका छन्। विशेष परिस्थितिमा विशेष प्रकारले आउनुपर्नेमा बजेट त्यसरी नल्याइएको उनको टिप्पणी छ।

बजेट भाषणपछि संसद भवन परिसरमा संवाददाताहरुसँग प्रतिक्रिया दिँदै पूर्वअर्थमन्त्रीसमेत रहेका डा. भट्टराईले भने, ‘वर्षौंदेखि पुराना योजना रेल, पानीजहाजमा किन चाहियो बजेट? अहिले विशिष्ट प्रकृतिको समस्या छ। यस्ता पुराना कार्यक्रमलाइ किन निरन्तरता दिइयाे?’

उनले विकराल समस्या समाधान गर्न विशेष खालकाे बजेट ल्याउनुपर्नेमा त्यसाे हुन नसकेकाे बताए। उनले भने, ‘क्यान्सर लागेको छ तर बजेट झारफुक जसरी आयो।’

उनले स्वास्थ्य र उपचारका क्षेत्रमा प्राथमिकता, व्यवसायीलाई राहत, कृषिमा राहत जस्ता कुरा सैद्धान्तिक रुपमा राम्रा भए पनि व्यावहारिक नरहेको बताए। अर्थमन्त्री डा. युवराज खतिवडाले बिहीबार संसदमा १४ खर्ब ७४ अर्ब ६४ करोडको बजेट पेस गरेका छन्। यो गत वर्षभन्दा ५८ अर्ब कम हो।

डा. भट्टराईले विशेष क्षेत्र केन्द्रित गरेर ल्याउनुपर्नेमा त्यसो हुन नसकेको बताए। उनले स्वास्थ्य क्षेत्रमा विगतको भन्दा यस वर्ष २२ करोड थप गरिए पनि त्यो अपुग रहेको बताए।

बजेटमा स्वास्थ्य क्षेत्रका लागि ९० अर्ब विनियोजन गरिएको छ। भट्टराईले भने, ‘उपचार, उपकरण, प्रयोगशालाका निम्ति ९० अर्बले पुग्दैन।’ गत वर्ष स्वास्थ्य क्षेत्रको बजेट ६८ अर्ब थियो।

यस्तै भट्टराइले दसौं लाख नेपाली रोजगारी गुमाएर विदेशबाट फर्किरहेका बेला गत वर्षभन्दा ७ अर्ब बजेट वृद्धि गरेर सरकारले कृषि क्षेत्रलाई प्राथमिकता दिन नसकेको प्रतिक्रिया दिए। गत वर्ष कृषि क्षेत्रका लागि ३४ अर्ब बजेट थियो। अहिले ४१ अर्ब पुर्याइएको छ।

धेरै युवा र बेरोजगार ग्रामीण क्षेत्रमा फर्कन भएकाले उनीहरुका लागि लक्षित कार्यक्रम नै नआएको डा. भट्टराईको भनाइ छ। उनले भने, ‘बजेट निरन्तरतामा आयो, यसले संकट समाधान गर्छ जस्तो लाग्दैन। कनिका छरेजसरी आएको छ।’

त्यस्तै, नेपाली कांग्रेसका नेता डा. मीनेन्द्र रिजालले सरकारले सामान्य अवस्थाको जस्तो बजेट प्रस्तुत गरेको बताए। ‘कोरोनाको प्रभावबाट अर्थतन्त्रलाई अत्याधिक प्रभाव पारेको छ,’ उनले भने, ‘यस्तो कठिनाइको बेलामा सबै क्षेत्रलाई राहत हुने खालको बजेट आउनुपर्नेमा सरकार उल्टो बाटोमा हिँड्यो।’ आन्तरिक ऋण नउठाए उद्योग व्यवसाय चल्नै नसक्ने अवस्थामा पुग्ने उनको भनाइ छ।

सत्तारुढ दलका नेता एवं पर्यटनमन्त्री योगेश भट्टराईले बजेट उत्साहजनक नभए पनिे समयानुकुलको भएको प्रतिक्रिया दिए।

‘बजेटले स्वास्थ्य, रोजगारी, कृषिलगायतलाई प्राथमिता दिएको छ,’ उनले भने, ‘दैनिक खर्चलाई पनि कटौती गरिएकोले समग्रमा सन्तोषजनक छ।’