मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अर्थमन्त्रीको दबाबपछि कोरोना बीमा पुन सुरु

अर्थमन्त्रीको दबाबपछि कोरोना बीमा पुन सुरु


काठमाडौं– शुक्रबारदेखि बन्द गर्ने भनिएको कोरोना बीमा पुनः सुरु भएको छ। अर्थमन्त्री डा. युवराज खतिवडाले कोरोना बीमा बन्द नगर्न बीमा समितिलाई निर्देशन दिएपछि कोरोना बीमा पोलिसी पुनः बेच्न थालिने भएको हो।

बिहीबार नेपाल बिमक संघले कोरोना संक्रमित बढ्दै गएको र बीमा कम्पनीहरुको जोखिम बढिरहेको भन्दै कोरोना बीमा स्थगित गर्ने निर्णय गरेको थियो। संघकै निर्णयमा सहमत भएर बीमा समितिले कोरोना बीमा बन्द गर्ने निर्णय गरेको थियो।

सरकारले आगामी आर्थिक वर्षको बजेटमा कोरोना बीमाको कार्यक्रम ल्याएको तर बजेटको कार्यान्वयन पूर्व बीमा बन्द गरेको भन्दै अर्थमन्त्री खतिवडाले समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंलाई चर्को स्वर गरेका थिए। कम्पनीहरुले कोरोना बीमामा घाटा लाग्ने भन्दै बीमा नगर्ने बताएका थिए। उनीहरुको गैरजिम्मेवारीपनालाई किन साथ दिएको भन्दै अर्थमन्त्रीले चापागाईंसँग चर्को स्वरमा जवाफ मागेको अर्थ मन्त्रालय स्रोतले जानकारी दिएको छ।

यसअघि पोलिसीको अवधि एक वर्षको हुने भनिएको थियो। बीमामा केही नयाँ व्यवस्था गरिएको भनिए पनि पोलीसीमा खासै परिवर्तन गरिएको छैन। अब गरिने कोरोना बीमाको अवधि भने ०७७ चैत मसान्तसम्मको हुने गरी परिवर्तन गरिएको छ। यसअघि नै पोलिसी खरिद गरिसकेकाहरुका हकमा भने एक वर्षसम्म दाबी लागू हुनेछ।

समितिले ४ वैशाखमा कोरोना बीमालेख बिक्री गर्ने अनुमति दिएपछि २० वटा बीमा कम्पनीले ७ वैशाखबाट कोराना बीमालेख बिक्री गर्दै आएका थिए। डेढ महिनाको अवधिमा करिब तीन लाखले बीमालेख खरिद गरेका छन्। जसबाट १६ करोड ५० लाख रुपैयाँभन्दा बढी प्रिमियम संकलन भएको छ।

सरकारले बजेटमार्फत सबै सरकारी कर्मचारीको कोरोना बीमा गर्ने घोषणा गरेको छ। त्यस्तै, कोरोना बीमाको ५० प्रतिशत प्रिमियम अनुदानका रुपमा उपलब्ध गराउने निर्णय गरेको छ। हाल नेपाल पुनर्बीमा कम्पनीले २० प्रतिशत र २० वटा निर्जिवन बीमा कम्पनीले ४.४ प्रतिशत जोखिम बोकेर कोरोना बीमा पोलिसी बेचिँदै आएको छ।