मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तपाईले प्रगति गर्नु भएको छ कि छैन ? कसरी थाहा पाउने ? हेरौ

तपाईले प्रगति गर्नु भएको छ कि छैन ? कसरी थाहा पाउने ? हेरौ


बाहिरबाट देख्नेहरुका लागि व्यक्तिले एक दिनमा या एउटा अवसर पाएर सफलता हासिल गर्छ । तर वास्तवमा, त्यो व्यक्तिले वर्षौं देखि गरिरहेको स-सानो प्रगतिको एकमुष्ट रुप सफलता हो ।

आफूले प्रगति गरिरहेको छु या छैन भनेर कसरी थाहा पाउने ?

उमेरले व्यक्ति परिपक्क हुँदैन । मानिसले यदि बीस वर्षको उमेरमा त्यो कुरालाई जसरि लिन्थ्यो, तीस वर्षको हुँदा पनि त्यसरी नै लिन्छ भने उसको दृष्टिकोण र बुझाइमा परिवर्तन भएको छैन, उसले त्यो बीचको समयमा केही सिकेन । यदि तपाईंले केही वर्ष अगाडीको कुरालाई अहिले फरक दृष्टिकोणले हेर्नुहुन्छ र त्यसलाई तपाईंले जीवनको पाठको रुपमा लिनुभएको छ भने, तपाईंले आफ्नो उमेर बढ्दै जाँदा केही सिकिरहनुभएको छ, प्रगति गरिरहनुभएको छ ।

दुई / तीन वर्ष अगाडी तपाईंलाई कुनै काम गर्न डर लाग्थ्यो, तर अहिले त्यो काम तपाईंलाई सामान्य लाग्छ भने तपाईंमा आत्मविश्वास आउन थालेको छ । तपाईंले प्रगति गरिरहनुभएको छ । तपाईंलाई स्वतन्त्रता भनेको आफ्नो इच्छा अनुसार बाँच्न पाउनु हो, आफूले चाहेको कुरा प्राप्त गर्नु हो भन्ने लाग्थ्यो । तर अहिले तपाईंलाई स्वतन्त्रता संगै दायित्व पनि आउँछ, अधिकार माग्दा आफूले पूरा गर्नुपर्ने कर्तव्य पनि पूरा गर्नुपर्छ भन्ने लाग्न थालेको छ भने, तपाईंले प्रगति गरिरहनुभएको छ । तपाईं आत्मनिर्भर बनेर आत्मसम्मानका साथ बाँच्ने बाटोमा हुनुहुन्छ ।

तपाईं अहिले आफ्नो समयको भरपूर उपयोग गर्न चाहनुहुन्छ, अनुत्पादनशील काममा कम समय लगाउनुहुन्छ भने तपाईंले आफ्नो लक्ष्य छिट्टै पूरा गर्नुहुनेछ । तपाईंले प्रगति गरिरहनुभएको छ ।तपाईंले अहिले गरिरहेको कामले केही वर्ष अगाडीको कामले भन्दा बढी खुशी हुनुहुन्छ । तपाईंले अहिले गरिरहेको कामबाट म माथी पुग्न सक्छु भन्ने बुझ्नुभएको छ र कामलाई माया गर्नुभएको छ, अहिलेको काममा रमाउनुभएको छ भने तपाईंले प्रगति गरिरहनुभएको छ।

तपाईंले मानिसलाई हेर्दा उसको पहिरनले, लुक्सले मूल्यांकन गर्नुहुन्थ्यो । तर अहिले तपाईंले व्यक्तिको लुक्सलाई नभएर उसको सोंच र व्यवहारलाई प्राथमिकता दिनुहुन्छ भने तपाईं भित्र सोंचहरु विकसित भइरहेका छन् । तपाईंले प्रगति गरिरहनुभएको छ । तपाईंले पहिले मानिसहरुका बारेमा काम गर्नुहुन्थ्यो, तर अहिले योजना र कामका बारेमा कुरा गर्दै हुनुहुन्छ भने तपाईं आफ्नो काम र लक्ष्यमा केन्द्रित भइरहनुभएको छ । यसको साथै तपाईंमा सकारात्मक सोंचको विकास भइरहेको छ । तपाईंले जीवनमा केही प्राप्त गर्नुहुनेछ ।

सामाजिक संजाल हेर्दा होस्, किताब पढ्दा होस् या त कसैलाई भेट्दा होस् तपाईंले कुनै एउटा भएपनि नयाँ कुरा सिकिरहनुभएको छ र नयाँ कुरा सिक्न उत्सुक रहनुहुन्छ भने, तपाईंले हरेक दिन आफूमा निखार ल्याइरहनुभएको छ । तपाईंले प्रगति गरिरहनुभएको छ । तपाईंले पहिले कसैको मन दुख्ने डरले ‘हुन्न’ भन्न सक्नुहुन्नथ्यो । तर अहिले तपाईंले सहीलाई सही र गलतलाई गलत भन्न सक्नुहुन्छ, आफूलाई गर्न मन नलागेको कुरालाई ‘हुन्न’ भन्न सक्नुहुन्छ, भने तपाईंमा आत्मविश्वास बढेको छ, आत्मसम्मानका साथ जिउने चाह बढेको छ ।

तपाईंलाई भौतिक सुविधा, धन सम्पत्ति नै सफलता र सुख हो, खुशी हो भन्ने लाग्थ्यो । तर अहिले तपाईंलाई सानो सानो कुरामा पनि खुशी लाग्छ, पैसा मात्र नभएर आफ्नो कामले समाजमा कुनै सकारात्मक परिवर्तन ल्याउन सकोस् भन्ने चाहनुहुन्छ भने तपाईं परिपक्क हुनुभएको छ । तपाईंमा दुरदृष्टि आएको छ ।