मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कला, संस्कृति जोगाउने अभियानमा ‘अछामी रेखा’

कला, संस्कृति जोगाउने अभियानमा ‘अछामी रेखा’


अछाम – नाकमा फुली र बुलाकी । निधारमा रातो टीका, गलामा पोते । पातलो ज्यानमा गुन्यु चोलो । झट्ट हेर्दा ग्रामीण भेगकी एक सुन्दर महिला जस्तै । गाउँले बोलीचाली र  स्वर दुरुस्तै महिलाकै जस्तो भए पनि उहाँ पुरुष हुनुहुन्छ ।

ग्रामीण भेगमा देखाइने सडक नाटकबाट महिलाको भूमिकामा देखिने उहाँ हुनुहुन्छ, अछामका २८ वर्षीय भीमबहादुर विष्ट । अछामको मङ्गलसेन नगरपालिकाका विस्टलाई भीमबहादुर भन्दा रेखाका नामले बढी चिन्छन् । उहाँलाई धेरैले ‘अछामी रेखा थापा’ भन्छन् ।

महिलाको पोसाकमा गाउँघरमा कला संस्कृतिको जगेर्ना गर्दै आउनु भएका विष्ट अहिले देउडा म्युजिक भिडियोमा पनि देखिन थाल्नुभएको छ। जनचेतना  जगाउने विभिन्न तरिका हुन्छन् । तीमध्येको एक तरिका हो,  सांस्कृतिक कार्यक्रम र कमेडी । 

उहाँ यस्तै कमेडीमार्फत नाै वर्षदेखि अछाम लगायतका विभिन्न जिल्लामा जनचेतना फैलाइ रहनुभएको छ । गाउँमा हुने मेला, महोत्सव, विद्यालय, गाउँ, टोलमा आयोजना  हुने  सांस्कृतिक कार्यक्रममा उहाँले सन्देशमूलक प्रस्तुति देखाउनुहुन्छ ।

पछिल्लो  समय युवा पुस्ताले आफ्नो स्थानीय कला, संस्कृति, भेषभुषा बिर्सँदै गएकोमा उहाँलाई चिन्ता लाग्छ । त्यही कला र संस्कृतिको जगेर्नाका लागि भीम सांस्कृतिक टोली नै बनाएर  लागिरहनुभएको छ । 

‘हामीलाई हाम्रो भाषाको चिन्ता छ,  हाम्रो संस्कृतिको चिन्ता छ । कार्यक्रममा बोल्दा पनि स्थानीय भाषा नै बोल्छौँ, किनकि जति मातृभाषामा बोलेको बूढापाकाले बुझ्छन्, त्यति नेपाली बोलेको बुझ्दैनन्,’ उहाँ भन्नुहुन्छ । सुदूरको विकट अछाममा अहिले पनि जातीय विभेद, महिला हिंसा, छाउपडी कुप्रथा जस्ता विभिन्न कुसंस्कार छन् । जसको अन्त्य अझै हुन सकेको छैन । 

यस्ता विकृति विसङ्गति हटाउन गाउँमा गठन भएका युवा क्लबले फाट्टफुट्ट रुपमा काम पहिलेदेखि गरेका भए पनि त्यति प्रभावकारी भएको छैन । बिस्तारै जनचेतना जगाउने काम बढ्न थाल्यो । भीमले पनि मङ्गलसेनमा डान्स सेन्टर खोल्नुभयो । ‘नयाँ तारा कला सागर डान्स सेन्टर’ खोलेर केटाकेटीहरुलाई नाच्न  सिकाइरहनुभएको थियो । 

त्यही समयमा उहाँलाई चेतनामूलक कार्यक्रमको लागि डाक्न थालियाे । त्यसपछि भीम आफैलाई चेतनासँगै कला र संस्कृतिकाे जगेर्ना गर्नुपर्छ भन्ने लाग्यो र विभिन्न गाउँमा गएर नाटक देखाउन थाल्नुभयो ।  यो २०६६ सालको कुरा हो ।

यसकारण महिलाको भूमिका

 गाउँमा नाटक गर्दा होस् या कुनै कार्यक्रममा महिला कलाकार पाउन गाह्रो थियो । किनकि छोरी मान्छेलाई यसरी बाहिर जान दिने चलन छैन ।   त्यसैमा पनि  सडक नाटकमा श्रीमती, बुहारी, आमाको भूमिका गर्नुपर्दा झनै समस्या । यस्तो समस्या अहिले  पनि हुन्छ । 

 त्योबेला अहिलेको भन्दा झनै समस्या थियो । कुनै विद्यालय, टोलमा बालविवाह, छाउपडी, खुला दिसामुक्त, पूर्ण साक्षरता लगायतका विभिन्न कार्यक्रममा चेतना जगाउँदा महिला नभेटिएकाले आफैले महिलाको भूमिका निर्वाह गरेको उहाँ बताउनुहुन्छ ।

‘गाउँघरमा अहिले पनि श्रीमती, बुहारी, आमाको भूमिकामा महिला कलाकार पाइँदैन भने आज भन्दा ९/१० वर्ष पहिले त यस्तो कार्यक्रम गर्दा महिला   हेर्न समेत आउँदैन थिए’ भीमले भन्नुभयो । उहाँले २०६६ सालमा पहिलो पटक अछामकै मङ्गलसेनमा छाउपडीसम्बन्धी जनचेतनामूलक सडक नाटक देखाउनुभएकाे थियो ।  

यसमा एउटा महिला छाउ (महिनावारी) भएको भूमिकामा देखिनुपर्ने  थियो तर महिला थिएनन्, भीम आफैले गुन्यु चोलो लगाउनुभयो । ‘कार्यक्रममा भाषण गरिकन बोल्याका भन्दा हामुले छाउ भयाका बेला बाइर बस्यापछि यसो यसो समस्या हुदोछ भनि नाटकमा धेकायापछि छाँटा बुज्यो । मलाई बैकीनीको रोल खेल्याको धेकीकन सब्बैले मन पणायो (कार्यक्रममा महिनावारी भएको बेला बाहिर बस्न हुँदैन भन्दै भाषण गरेको भन्दा मैले महिला बनेर यसो गर्न हुँदैन भन्दा सबैले ध्यान दिएर सुने र सबैले  मन पराए)’, भीमले भन्नुभयो । त्यसपछि उहाँलाई पुरुषको भूमिका भन्दा महिलाको भूमिकामा बढी रुचाइयो । उहाँले सडक नाटकमा सधैँ महिलाको रोल गर्नुभयो   ।

यसरी भए अछामी  रेखा थापा

त्यतिबेला नेपाली चलचित्रकी नायिका रेखा थापाको निकै चर्चित थिइन् । गाउँमा कसैले राम्रो लुगा लगाएको देख्दा ओहो रेखा थापा जस्ती भन्थे । भीम भन्नुहुन्छ, ‘गाउँमा कसैले पाइन्ट लगाएको भए त हामी आफै पनि उसलाई हेर्न जान्थ्यौँ । बूढाबूढीले त झन् अचम्मै मान्थे । जसले पनि राम्री र   चिटिक्क परेकी देख्दा रेखा  थापा जस्तै भन्ने गर्दा मैले पनि रेखा थापाको नाम राखेँ ।’

 ‘अझै भनौँ, त्योबेला रेखा थापालाई छोटा कपडा लगाउने भएकाले देखा थापा पनि भन्थे, गाउँमा पनि रमाइलो पारमा यस्तै गर्दा मलाई नै दर्शकले रेखा थापा भन्न थाले’, भीमले भन्नुभयो । हुन त अहिले भीमलाई सुदूरपश्चिममा मात्र हैन, अरु ठाउँमा पनि अछामी रेखा थापा भनेर चिन्छन् । तर जसको नामले भीम देशभर चिनिनुभयो, उहाँसँग अहिलेसम्म भेट भएको छैन । ‘मलाई सबैले अछामी रेखा थापा भनेर चिन्छन् । म जसको कला र नामले चिनिएँ, उहाँसँग नै भेट भएको छैन’, भीमले थप्नुभयो ।

सुदूर र कर्णाली प्रदेशमा मेला महोत्सवमा व्यस्त रहने अछामी रेखा थापा साँच्चिकैको रेखा थापासँग भेट नहुनु संयोग नै नजुरेको  बताउनुहुन्छ। ‘भेट्ने धो त कति थियो नि, काठमाण्डौ आएर भेट्न सकेको  छैन, हाम्रोतिर उहाँ नै आउनुभएको छैन’, भीमले भन्नुभयो । उज्यालोबाट साभार