मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बाल्यकालको पीडा नै चिकित्सक बन्ने प्रेरणा बन्यो

बाल्यकालको पीडा नै चिकित्सक बन्ने प्रेरणा बन्यो


अछाम – सन् २०११ मा युनिर्भसल कलेज अफ मेडिकल साइन्सेसबाट बिडिएस पूरा गरेकी डा रेखा शेरचन न्याय हेल्थ नेपाल बयालपाटा अस्पतालमा दन्त चिकित्सक छिन्। सुदूर पहाडका दुर्गम जिल्लामा अझै पनि आधारभूत स्वास्थ्यमा समेत जनताको सहज पहुँच नभएका बेला उनी एक्ली महिला दन्त चिकित्सकको रुपमा अछाम जिल्लामा कार्यरत छिन्। 

दुर्गममा दन्त सेवामा सहज पहुँच नभएका बेला अछाम सहित बाजुरा, डोटी, लगायत कर्णालीका केही जिल्लाका नागरिकलाई उनले बयालपाटा अस्पतालमा निःशुल्क रुपमा दन्त सेवा दिइरहेकी छिन्। आफ्नो पढाइपश्चात् धरानमा एक वर्ष दन्त चिकित्सक भएर काम गरेको अनुभव लिएकी डा शेरचनले दुर्गम अछाममा बसेर दन्त सेवा दिन थालेको ६ वर्ष पुगेको छ।

सुदूरसहित देशका अन्य दुर्गम भागमा जनरल डाक्टरको समेत दरबन्दी रिक्त र अभाव भइरहने कुरा नौलो होइन। त्यसमा पनि स्वास्थ्यका विभिन्न विधाका डाक्टर बस्ने कुरा त टाढाको विषय भयो। तर राजधानीमा जन्मेर सहरी क्षेत्रमा काम गरेको अनुभव सम्हालेकी डा शेरचन बयालपाटा असपतालसँग आवद्ध भएर यस क्षेत्रका जनतालाई दन्त सेवा दिइरहेकी छिन्। 

सानो छँदा भोगेको दाँतको पीडाले पनि होला डाक्टर शेचरन आफूसँग उपचार गर्न आउने बिरामीलाई निको बनाएर मात्र घर पठाउँछिन्। बाल्यकालमा भोगेको दाँतको समस्याको कारण उनी निको नहुन्जेल फेरिफेरि बोलाएर भए पनि उपचार गरेर बिरामीको मन जित्न सफल छिन्। 

दुर्गममा उपचार नपाई बाध्य भएर सहर जानुपर्ने बाध्यता, आर्थिक अभावमा उपचार समेत नगरेका नागरिकलाई अछाम पुगेर निःशुल्क सेवा दिन पाउँदा छुट्टै आनन्द मिलेको अनुभूति डा शेरचनलाई हुन्छ। दुर्गम अछामसहित बाजुरा र डोटीका जनता सेवा लिन आउछन्, उनीहरुलाई उपचार गरेर खुसी बनाएर घर पठाउँदा बिरामीले दिने आशिर्वाद नै कमाइ ठान्छिन् डा रेखा। यहाँका मानिसको सहयोगी र माया गर्ने स्वभावले उनलाई काम गर्न थप उत्साह मिलेको छ। देश कोरोनाको कहरबाट अछुतो नरहेका बेला पनि डा शेरचनले बिरामीलाई सेवा दिइरहेकी छिन्। उनी भन्छिन्, ‘जोखिम मोलेर भए पनि दाँत तथा मुख स्वास्थ्यमा सेवा दिइरहेको छु।’

बाल्यकालमा सधैंजसो दाँतमा देखिने समस्याले दन्त चिकित्सक हुने प्रेरणा मिलेको उनको भनाइ छ। ‘दन्त चिकित्सक भएपछि परिवारलाई समय दिन मिल्ने, काम गर्न सहज हुने भएका कारण पनि महिला यस क्षेत्रमा बढी छन्,’ उनी भन्छिन्, ‘त्यसैले मेरो रोजाइ पनि दन्त चिकित्सा नै भयो।’ 

दुर्गममा बसेर दाँत तथा मुखको समस्या भएका बिरामीको उपचार गर्न पाउँदा डा शेरचनलाई खुसीको अनुभूति हुन्छ। उनी भन्छिन्, ‘धेरैजसो पढाइ सकेपछि विदेश जाने र सहरमै बसेर सेवा दिन रुचाउँछन्। तर मेरा लागि आफूले पढेको र सिकेको कुरा दुर्गममा बसेर लागू गर्न पाउनु नै ठूलो कुरा हो।’

दाँत सम्बन्धी रोग, समस्या र यसले दीर्घकालीन रुपमा पार्ने असरका बारेमा ज्ञान नभएका कारण १४ वर्षभन्दा कम उमेर र बुढापाकामा दाँत तथा मुखको बढी समस्या रहेको उनको ठम्याइ छ। ‘हरेक व्यक्तिले दाँत तथा मुखको केयर तथा समयमै उपचार नगरे मुटुमा समेत भविष्यमा समस्या आउन सक्छ,’ उनी भन्छिन्। 

उनको अछाम बसाइको अवधिमा वंशाणुगत गुणले दाँतमा समस्या भएका मानिस, दाँत हल्लिएका, किरा लागेका, गिजा सुन्निएका बिरामी बढी उपचारमा अस्पताल आए। बच्चादेखि वृद्धसम्मलाई दाँत तथा मुखमा समस्या आउन नदिन दिनमा दुई पटक ब्रस गर्ने, दाँत तथा मुखको ख्याल राख्ने, वर्षमा एक पटक दन्त चिकित्सकलाई भेटन उनी सल्लाह दिन्छिन्। 

स्कुलमा बालबालिकालाई पढाइसँगसँगै दाँत र मुख सफा गर्नेबारेमा जानकारी गराए मात्र पनि यो समस्या केही हदसम्म कम हुने उनको विश्वास छ। ‘दुर्गममा अस्पतालस्तरीय दन्त सेवा बिरलै मात्र छ,’ उनी भन्छिन्, ‘मान्छेले क्लिनिकको भरमा उपचार गर्नुपर्छ। अर्को कुरा अरु स्वास्थ्य उपचारको तुलनामा दन्त सेवा महँगो छ।’ तसर्थ दन्त सेवालाई प्रभावकारी र सर्वसुलभ बनाउन स्थानीय तथा प्रदेश सरकारलाई अग्रसरता लिन उनको आग्रह छ।  

‘दुर्गम लगायतका सबै ठाउँमा दन्त चिकित्सक टिकाइराख्न अप्ठेरो छ,’ उनी भन्छिन्, ‘दाँत तथा मुखमा समस्या नै आउन नदिन स्कुलहरुमा जनचेतनाका कुरा गर्ने, रेडियो कार्यक्रम सञ्चालन गर्ने, स्कुल हेल्थको कार्यक्रम गर्ने तथा बेलाबखत दन्तशिविर गरे यस्ता समस्या केही हदसम्म कम हुन्छ।’

अछाममै रहेका बेला डाक्टर शेरचनलाई एमपिएच र ग्लोबल हेल्थमा फेलोसिप गर्ने अवसर मिल्यो। तत्पश्चात् उनलाई अछाम सहितका छिमेकी जिल्लाको जीवनशैली, संस्कृति, भेषभुषा बुझ्ने आधार बन्यो। दन्त चिकित्सकको साथसाथै जनस्वास्थ्य अध्ययन गरिसकेपछि उनलाई समग्र स्वास्थ्य अवस्था, नारीले भोग्नु परेको समस्या, विभिन्न कुप्रथा जस्तैः छाउपडी, महिला हिंसा, अन्धविश्वासका बारेमा बुझ्ने बाटो खुल्यो। उनी भन्छिन्, ‘अब यस्ता प्रथाका विरुद्धमा बोल्न र निरन्तर काम गर्न सहज भएको छ।’ 

बयलपाटा अस्पतालले विगत ६ वर्षदेखि नै दन्त सम्बन्धी आधारभूत सेवा निःशुल्क रुपमा प्रदान गरिरहेको छ भने अहिले यस प्रदेशका अन्य केही जिल्लामा समेत सेवा सुरु भएको छ। सुदूरपश्चिममा दन्त चिकित्सकका रुपमा १/२ जना मात्र कार्यरत छन् भने महिला दन्त चिकित्सकको रुपमा डाक्टर शेरचन एक्ली चिकित्सक हुन्।