मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

यस्तो छ प्रज्ञाको प्रतियोगितामा पहिलो भएको कविता : देशको नक्सा

यस्तो छ प्रज्ञाको प्रतियोगितामा पहिलो भएको कविता : देशको नक्सा


म कोरिरहेकी छु
देशको सग्लो नक्सा ।

खाली पानामा कोर्छु असङ्ख्य रेखाहरू
जसरी कोर्छ एउटा चित्रकार क्यानभासमा
आफ्नी आमाको मुहारचित्र ।

अनायस करेसाको डिल भत्किन्छ
पर्खाल उठाउँछु
सिकुवासम्मै चिरा पर्न खोज्छ आँगन
कुर्कुच्चा दुखिन्जेल किच्छु/टाल्छु
र मेट्छु धाँजाहरू !

विषाक्त हावा बोकिआउने आँधी
उडाउनै खोज्छ मलाई
बलेँसी चिरा पार्ने मुसलधारे वर्षा
बगाउन खोज्छ मलाई
छानाबाट झरेका पानीका तप्कनाले समेत
शिरदेखि पैतालासम्मै भिजाउँछ
तर पनि म उभिइरहन्छु पहाडजसरी
घरको मूल खाँबो समातेर
र कोरिरहन्छु सहस्र रेखाहरू !

ओ ! सिमाना काटिजाने चराहरू
पहाड भत्काएर बगिजाने खोलाहरू
देवल उठाइरहेका पौरखी धमिराहरू
माटोको दरबार उठाइरहेका कमिलाहरू
सुन,
भूगोलका यिनै मसिना रेखाहरूले त
जोडेकी छु मैले तीन कोटी स्वाधीन मुटुलाई
जहाँ उम्रिन्छ प्रेम र विश्वासको बिउ
र लटरम्म खुसीको घाम फल्छ !

छामिहेर त
आँखा चिम्लिएर आफ्नै मुटुको ढुकढुकी
हो, धड्किरहेको छ त्यहाँ
छुटेका भूगोलसँगै छुटेका मनहरू
एकाकार भएको
स्वाधीन देशको सग्लो नक्सा ।

टेम्केमैयुङ गाउँपालिका–९, भोजपुर
प्रदेश नं. १, नेपाल

(यो कविता नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको राष्ट्रव्यापी कविता प्रतियोगितामा प्रथम भएको कविता हो।  प्रतियोगितामा धादिङकी अमृता स्मृतिको ‘डडेलोपछि पनि बसन्त आउँछ’ कविता द्वितीय भएको छ भने ताप्लेजुङकी सविता बरालको ‘आमा म आएँ अब’, बर्दियाकी निरञ्जनाकुमारी चन्दको ‘युगीन प्रतिध्वनि’ र नुवाकोटका प्रकाश सिलवालको ‘बोधिसत्वको खोप’ तृतीय भएका छन्। प्रथम हुने कविले ५० हजार रुपैयाँ, द्वितीयलाई ४० तथा तृतीय हुने तीन जनालाई जनही ३० हजार रुपैयाँ र पदक राष्ट्रपतिको हातबाट प्रदान गरिनेछ।)