मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

‘कठपुतली’ हेर्दा आइफोन १२ जित्ने अवसर

‘कठपुतली’ हेर्दा आइफोन १२ जित्ने अवसर


काठमाडौं- यही फागुन १ गतेबाट चलचित्र हलहरु खुल्ने भएपछि चलचित्र ‘कठपुतली’ले आफ्नो प्रदर्शनलाई निरन्तरता दिने भएको छ। गत पुस १६ गते रिलिज भएको यो चलचित्र तेश्रो हप्तामा प्रदर्शन भइरहेको समयमा हल बन्द भएपछि प्रदर्शन रोकिएको थियो। कोरोना महामारीका कारण सरकारले माघ ३ गतेबाट तेस्रो पटक सिनेमा हल बन्द गरेको थियो।
 
रिलिजको पहिलो हप्ता देशभरका मल्टीप्लेक्सहरु र सिंगल थिएटरमा उत्साहपूर्ण व्यापार गरेको कठपुतलीले दोश्रो हप्तामा पनि सुखद् व्यापार गरेको थियो। अधिकांश हलहरुमा सफल प्रदर्शन भइरहेको समयमा नै रिलिज रोकिएका कारण पुनः रिलिज गर्न लागिएको वितरक कम्पनी डिसिएनका अशोक शर्माले बताए।
 
‘माउथ पब्लिसिटी’ बलियो रहेकाले अझै पनि यो चलचित्र हेर्न हलसम्म दर्शक आउने अपेक्षा निर्माण पक्षले गरेको छ। ुुकठपुतली हेर्न चाहेका र रिलिजको तेश्रो हप्तासम्म हेर्ने समय मिलाउन नसकेका, जसले हलमै चलचित्र हेर्न चाहन्छन्, ती दर्शकको लागि हामीले रिलिजलाई निरन्तरता दिने निर्णय गरेका हौं, निर्माता पृथ्वी राना मगरले बताए।
 
तेश्रो हप्तामा पनि ‘कठपुतली’ ले क्यूएफएक्स चेन, एफक्यूब सिनेमाज, विएसआर सिनेमाज, वान सिनेमाज, सिटिसी सिनेमाज, क्यूज सिनेमाज, आइएनआइ सिनेमाज, कीर्तिपुर सिनेमाज लगायतका मल्टीप्लेक्सहरुमा राम्रो शो पाइरहेको थियो। अघिल्ला दुई हप्ता हलमा दर्शकको अकुपेन्सी सुखद् रहेकाले मल्टीप्लेक्सहरुले तेस्रो सातामा पनि चलचित्रको शो यथावत राखेका थिए।

यसैबीच, निर्माण टीमले दर्शकलाई अगाडि सारेको उपहार योजना दर्शकलाई ‘आइफोन १२ दिने निर्णयलाई पुनः निरन्तरता दिने भएको छ। यो योजनालाई थप आकर्षक बनाउन आइप्याड पनि प्रदान गरिने गरी थप गरिएको छ। चलचित्र हेर्नका लागि काटेको टिकटसँग सेल्फी खिचेर सामाजिक सञ्जालमा पोस्ट गर्नेहरुमध्ये गोला प्रथाबाट एक(एक जनालाई आइफोन १२ र आईप्याड प्रदान गरिने बताइएको छ।
 
पृथ्वी राना प्रडक्शनको निर्माणमा तयार भएको ‘कठपुतली’का निर्देशक भिमसेन लामा हुन् । चलचित्रमा मिथिला शर्मा, गौरी मल्ल, कर्मा, उषा रजक, शिल्पा मास्के, सुवर्ण थापा, ध्रुव कोइराला लगायतका कलाकारहरुको अभिनय रहेको छ । जोएल फ्रूमले खिचेका चलचित्रका निर्माता पृथ्वी रानामगर हुन भने सह निर्माताहरुमा विशाल गुरुङ, धर्म श्रेष्ठ र हेम थापा छन् । चलचित्रको कथा सम्पदा मल्लले लेखेकी हुन् ।