मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेष्डो समृद्धि लघुवित्तको आईपीओ आजबाट बिक्री खुला

नेष्डो समृद्धि लघुवित्तको आईपीओ आजबाट बिक्री खुला


७७ हजारले पाउने, कस्तो छ कम्पनीको वित्तीय अवस्था ? 

काठमाडौं । नेष्डो समृद्धि लघुवित्तले आजबाट धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गरेको छ । कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा  ८ करोड २८ लाख ७५ हजार रुपैयाँ बराबरको ८ लाख २८ हजार ७५० कित्ता साधारण सेयर निष्कासन बिक्री खुला गरेको हो । 

जसको ०.५ प्रतिशत अर्थात्  १२ हजार ७५० कित्ता सेयर कर्मचारीको लागि र ५ प्रतिशतले हुन आउने ४१ हजार ४३७ कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गर्दै बाँकी रहेको  ७ लाख ७४ हजार ५६३ कित्ता सेयर सर्वसाधारणका लागि  आवेदन खुला गरेको हो । 

कम्पनीको आईपीओमा छिटोमा फागुन १५ गतेसम्म र  उक्त अवधिमा पर्याप्त आवेदन नपरेमा फागुन २५ गतेसम्म आवेदन दिन सकिनेछ ।

उक्त आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्मक लागि आवेदन दिन सकिनेछ । इच्छुक आवेदकले सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर वेबसाइट तथा एपमार्फत आवेदन दिन सक्नेछन् ।

कम्पनीको आईपीओ निष्कासनका लागि बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल रहेको छ । कम्पनीले आईपीओ निष्कासनको लागि गराएको रेटिङमा इक्रा नेपालले  ‘इक्रा एनपी इस्यूआर रेटिङ डबल बी प्लस’ रेटिङ प्रदान गरेको छ । जसले  कम्पनीको दायित्व बहन गर्नसक्ने क्षमतामा औसत जोखिम रहेको  जनाउँछ ।

सर्वसाधारणका लागि ७ लाख ७४ हजार ५६३ कित्ता सेयर निष्कासन गर्न लागेको कम्पनीको आईपीओमा धितोपत्र निष्कासन तथा बाँडफाँड नियमावली अनुसार १० कित्ताका दरले बाँडफाँड गर्दा  ७७ हजार ४५६ जनालाई पर्नेछ । यस्तै  सोमध्ये ३ जनालाई थप एक कित्ता भाग लाग्नेछ ।  

कस्तो छ कम्पनीको वित्तीय अवस्था ?

कम्पनीको गत आर्थिक वर्षको अपरिस्कृत वित्तीय विवरण अनुसार १६ करोड ३३ लाख ८ हजार  खुद मुनाफा आर्जन गरेको छ । आव २०७७/०७८ को अपरिस्कृत वित्तीय विवरण अनुसार कम्पनीको सञ्चित मुनाफा २५ करोड ३० लाख ३१ हजार, प्रतिसेयर आम्दानी ९४ रुपैयाँ ८८ पैसा र प्रतिसेयर नेटवर्थ ३५२ रुपैयाँ २३ पैसा छ ।

आर्थिक वर्ष २०७६/७७ को  लेखापरीक्षण पछिको वित्तीय विवरणमा कम्पनीको सञ्चित मुनाफा १२ करोड ८१ लाख ९९ हजार, प्रतिसेयर आम्दानी ५६ रुपैयाँ ८७ पैसा र प्रतिसेयर नटवर्थ २६० रुपैयाँ ८५ पैसा छ ।

राष्ट्रियस्तरको कार्यक्षेत्र रहेको यस संस्थाको केन्द्रीय कार्यालय पवर्तको कुश्मा नगरपालिकामा रहेको छ । लघुवित्तले हाल ५६ शाखा कार्यालयमार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ ।