मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

४ दशक देखि राजनीतिमा सक्रिय खड्का भन्छन प्रदेशका लागि समर्पित भएर काम गर्नेछु

४ दशक देखि राजनीतिमा सक्रिय खड्का भन्छन प्रदेशका लागि समर्पित भएर काम गर्नेछु

बयालपाटा अस्पताललाई दीर्घकालिन व्यवस्थापन गर्ने खड्काको योजना


अछाम। नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशका महामन्त्री मेघराज खड्का तेस्रो पटक चुनावी मैदानमा उत्रिएका छन्। २०७० सालको संविधान सभा र २०७४ को प्रदेश सभा चुनावमा जित हासिल गर्न नसकेका खड्का तेस्रो पटकको प्रयासलाई सार्थक तुल्याएर प्रदेश सभा सदस्य चुनिने दाउमा छन्। ०७४ मा बाम गठबन्धनका उम्मेदवार हर्कबहादुर कुँवरसँग झिनो मतान्तरले पराजित भएका खड्का यसपटक सत्ता गठबन्धनका साझा उम्मेदवार बनेका छन्।

यस्तो छ खड्काको ४ दशक लामो राजनीतिक यात्रा

अछाम क्षेत्र नम्बर १ मा तत्कालिन समयमा एकमात्र मावि थियो, महेन्द्र मावि बयालपाटा। खड्काले महेन्द्र माविबाट २०३५ सालमा कक्षा ८ को पढाई सुरु गरे। त्यसको एक वर्षपछि २०३६ सालमा जनमत संग्रहको घोषणा भएसँगै खड्काले पढाईसँगै राजनीति पनि सुरु गरे। बहुदल र निर्दलका पक्षमा जनमतसंग्रह हुँदा उनी बहुदलको पक्षमा हुने विभिन्न कार्यक्रममा सहभागी भए।

२०४० सालमा उच्च शिक्षा हासिल गर्न कैलाली बहुमुखी क्याम्पसमा भर्ना भएका खड्का त्यसको डेढ महिनामै कांग्रेसका कार्यक्रममा सहभागी हुँदा प्रहरीको हिरासतमा थुनिए। त्यही बेलादेखि उनको सक्रिए राजनीति यात्रा सुरु भयो। खड्काले कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघबाट २०४१ सालमा कैलाली बहुमुखी क्याम्पसको स्ववियु उपसभापति र ०४२ सालमा सभापति भएर काम गरे।

०४२ सालको सत्याग्रहमा साढे चार महिना जेल परेका खड्का पटक-पटक प्रहरी हिरासतमा थुनिए। विद्यार्थीको सक्रिए राजनीतिसँगै अछाम फर्केका खड्का २०४६ सालको जनआन्दोलनमा अछाममा चरम यातनासहित प्रहरी हिरासतमा थुनिए। पार्टीको संगठन निर्माणदेखि विभिन्न आन्दोलनमा सहभागी हुँदै निरन्तर राजनीतिमा सक्रिए खड्का २०४८ सालमा नेपाली कांग्रेस अछामको जिल्ला कार्य समिती सदस्य भए।

२०५३ मा भएको पार्टीको ९ औं र १० औं महाधिबेशनबाट महाधिवेश प्रतिनिधि हुँदै महासमिती सदस्य भएका उनले ११ औं महाधिवेशनमा २०६२ देखि २०६७ सम्म कांग्रेस अछामको सभापति बनेर पार्टी हाँके। त्यसयता भएका १२ औं र १३ औं महाधिवेशनमा उनी लगातार महासमिती सदस्य बनेका खड्का १४ औं महाधिवेशनबाट महासमिती सदस्य हुँदै कांग्रेस सुदूरपश्चिम प्रदेशको महामन्त्री चुनिए।

यो बीचमा नेता खड्का २०५४ सालमा जिल्ला विकास समिती अछामको सदस्यमा समेत निर्वाचित भए। ०५४ देखि ०५९ सम्म उनले तत्कालिन जिविसको सदस्य भएर काम गरे। त्यो बेला आफ्नो क्षेत्रमा विकास निर्माणका महत्वपूर्ण काम गरेर खड्का जनतामाझ लोकप्रिय छन्।

पदमा हुँदा पनि नहुँदा पनि निरन्तर अछामको विकास र समृद्धिका लागि सक्रिए खड्काले निष्ठावान राजनीतिकर्मीको छवि बनाएका छन्। ४ दशक देखि राजनीतिमै जीवन समर्पित गरेका खड्का यसपटक प्रदेश सभा सदस्य भएर अछामको विकास र समृद्धिको लागि काम गर्ने अठोट बोकेर चुनावी मैदानमा उत्रिएका छन्।

तेस्रो प्रयासमा सफल हुनेमा विश्वस्त रहेका खड्काले नेपाली कांग्रेस अछाम क्षेत्र नम्बर १ को संगठन पहिलेभन्दा निकै परिर्वतन भएको हुँदा आफूले जित्ने दाबी गरे। ‘अहिले हामी प्रदेश सभा ‘क’ मा बलियो र सशक्त छौं। २०७४ मा दुवै स्थानीय तह चौरपाटी र साँफेबगरमा पराजित भएका थियौं, अहिले दुवै पालिकामा हामीले विजय हाँसिल गरेका छौं’, खड्का भन्छन्,’कांग्रेसको एकल पनि बहुमत छ, यो नै जितको पहिलो आधार हो।’

खड्काले आफ्नो जित्ने दोस्रो आधार सत्ता गठबन्धन भएको बताए। गठबन्धन सहितका दलको भोट मिलाउँदा धेरै ठूलो अन्तर भएकाले उनले सुनाए। जनताका बीचमा निष्ठा र त्यागका साथ सक्रिए भएर काम गरिरहकाले यस पटक यस क्षेत्रका जनताले मत दिनेमा आफू विश्वस्त रहेको उनले बताए। गएका दुई वटा निर्वाचन फेस गरेका कारण पनि यस पटक सहज जित निकाल्ने उनको दाबी छ।

जितेपछि उनले गर्ने काम यस्ता छन्

अछाम जिल्लाका जल्दाबल्दा समस्या समाधान गर्ने उनको पहिलो लक्ष्य छ। शिक्षा, स्वास्थ्य, पर्यटन, स्वरोजगारलाई मुख्य प्रथामिक्तामा राखेर काम गर्ने उनले योजना सुनाए। उनको अर्को प्राथमिकताको क्षेत्र भनेको स्वास्थ्य हो। विशेष गरी अछाम, बाजुरा र डोटीका जनताका लागि स्वास्थ्यमा बरदान सावित भइरहेको बयालपाटा अस्पताललाई दीर्घकालिन व्यवस्थापन गर्ने उनको योजना छ। सरकारीस्तरबाटै अस्पतालको दीर्घकालिन व्यवस्थापन गर्ने तथा स्वास्थ्यकर्मी उत्पादन गर्ने शैक्षिक संस्थाको रुपमा विकास गर्नेमा आफू लाग्ने उनले योजना सुनाए।

अछामको विकासमा महत्वपूर्ण टेला पुर्‍याउने बुढीगंगा जलविद्युत आयोजनाको काम छिटो अघि बढाउन, सेती लोक मार्गलाई छिटो सुचारु गर्न, साँफेबगर बजार व्यवस्थित गर्न, नयाँ शहर योजनाको कामलाई द्रुत गतिमा अघि बढाउन पहल गर्ने उनका मुख्य योजना छन्।

सवै पालिकादेखि वडा सम्मका सड्कलाई बाह्रै महिना सञ्चालनमा ल्याउने गरी काम गर्ने, ती सड्कलाई प्राथमिक्तामा राखेर कालोपत्रे गर्ने, खानेपानीका समस्या समाधान गर्ने, युवालाई रोजगारी सृजना गर्नका लागि विभिन्न कार्यक्रम तथा योजनाहरू ल्याउन पहल गर्ने र जित हासिल गरे प्रदेश सरकारलाई साँच्चिकै जनताको सरकारका रुपमा स्थापित गर्न सशक्त रुपमा लाग्ने खड्काको योजना छ।

जनताको हित हुने गरी प्राथमिक्ताका आधारमा जनतामूखी कार्यक्रम बनाउने, पर्यटन क्षेत्रको विकासलाई प्राथमिक्तामा राखेर काम गर्ने, शिक्षाको गुणस्तर वृद्धि गरी आफ्नै प्रदेशमा विद्यार्थी पढ्ने वातावरण सृजना गर्ने, सवैका लागि सवै खाले स्वास्थ्य सेवा निशु:ल्क गर्ने, गेटा मेडिकल कजेललाई छिटो संचालनमा ल्याउन पहल गर्ने, सुशासन र सामाजिक न्यायका पक्षमा प्रदेश सरकारलाई उभ्याउन प्रयत्नशिल रहने उनको प्रतिबद्धता छ।

सम्भावित मुख्यमन्त्री

राजनीतिमा आफ्नो छुट्टै छवि बनाउन सफल खड्कालाई भावि मुख्यमन्त्रीको रुपमा समेत हेरिएको छ। कांग्रेसको नेतृत्वमा प्रदेश सरकार निर्माण हुँदा खड्काले जितेमा उनी मुख्यमन्त्री हुने सम्भावना पनि बलियो देखिन्छ।

त्यस कारण पनि यसपटक आफूलाई यस क्षेत्रका जनताले विश्वास गरे लामो समय पार्टीमा दिएको योग्दानको कदर हुने उनको बुझाई छ। आफूले चुनाव जिते आफ्नो परिवार र नातागोताका लागि नभएर आम अछामी जनताका पक्षमा काम गर्ने उनले प्रतिवद्धता जनाए।