मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विद्रोह गर्ने अवस्थामा किन पुगे गगन–विश्व ?

विद्रोह गर्ने अवस्थामा किन पुगे गगन–विश्व ?


काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनले आम सर्वसाधारणका लागि पनि एउटा उत्साह ल्याएको थियो– कारण थिए महामन्त्रीमा निर्वाचित युवाहरु गगन थापा र विश्वप्रकाश शर्मा । 

महाधिवेशनले ल्याएको उत्साहमा उपसभापति निर्वाचित धनराज गुरुङ, सहमहामन्त्री निर्वाचित बद्रि पाण्डे, जीवन परियार तथा केन्द्रीय सदस्य समितिमा छिरेका युवाहरु पनि कारण थिए ।  तर उत्साहसहित केन्द्रीय समितिमा प्रवेश गरेका युवाहरु पार्टीको रुपान्तरण एकजुट हुन नसक्दा महाधिवेशनको परिणामले ल्याएको उत्साह बाँकी छैन । 

कांग्रेसमा अहिले यसरी कित्ताकाट भएको छ कि दुई महामन्त्रीले संघर्षको घोषणा गर्ने अवस्था निर्माण भएको छ ।  नेतृत्वविरुद्ध बोलिरहने र सभापतिले लिएको नीतिको आलोचना गरिरहने गगन थापा र पार्टी सभापति शेरबहादुर देउवाको आलोचनाबिनै नयाँ कामका लागि आग्रह गरिरहने विश्वप्रकाश शर्मा यतिबेला भने पार्टी नेतृत्त्व विरुद्धमा संघर्षको गृहकार्यमा छन् । 

नेतृत्वविरुद्ध संघर्ष गर्ने जानकारी महामन्त्रीद्वयले सभापति देउवाकै निवासमा राखेको पदाधिकारी बैठकमा पदाधिकारीलाई साक्षी राखेर गराएका छन् ।  औपचारिक रुपमा उनीहरुले संघर्षको रणनीति र घोषणा भने गर्न बाँकी छ । 

तर उनीहरु देशव्यापी रुपमा संघर्षका कार्यक्रम कसरी संकलन गर्ने र त्यसको माहोल कसरी निर्माण गर्ने भनेर अहिले काम गरिरहेका छन् ।  महामन्त्री गगन थापाले गत आइतबार ‘अब त अत्ति भयो’ भन्ने धारणा सामाजिक सञ्जालमै लेखेर त्यसको जनाउ दिए । 

महामन्त्रीद्वयले त्यसको तीन दिनअघि नै सभापति देउवाको निवास धुम्बाराहीमा भएको पदाधिकारी बैठकबाट सरुवात भने गरिसकेको बताएका छन् ।  “तपाईँले हामीलाई जति सक्नुहुन्थ्यो गर्नुभयो । तपाईँका सारा गलत कामका भारी हामीले बोक्नुपर्ने, पार्टी अप्ठेरोमा परे हामीले काँध थाप्नुपर्ने, पार्टीले पाउने अवसरमा, पार्टीका महत्वपूर्ण निर्णय हामीले मिडियाबाट थाहा पाउनुपर्ने,” थापाको भनाई उद्धृत गर्दै एक पदाधिकारीले भने, “तपाईँले सक्ने गर्नुभयो । अब जे सक्नुहुन्छ हामीविरुद्ध गर्दै रहनुहोला । अब तपाईँको बाटो अलग हाम्रो बाटो अलग हुन्छ ।”

बैठकमा अर्का महामन्त्री विश्वप्रकाशले त सभापति देउवा ‘आफू नसुध्रिने र सुधारका लागि दिइएका सुझावसमेत स्वीकार नगर्ने भएकाले राजीनामा दिएर कार्यकर्तामा जाने’ बताएका थिए । त्यस्तो चुनौती दिँदासमेत देउवामा कुनै प्रभाव नदेखिएको कांग्रेसका ती पदाधिकारीको भनाई छ ।
 
“महामन्त्री शर्माले त सरकारमा पठाउँदा समावेशिता पनि नहुने, डेलिभरिका लागि सरकारमा प्रभावकारी मान्छे छानौँ भन्दा पनि नहुने, महामन्त्रीसँग कुनै पनि निर्णयअघि सल्लाह गर्नु पनि नपर्ने हो भने राजीनामा दिएर कार्यकर्तामाझ जान्छु भन्नुभएको थियो,” ती पदाधिकारीले भने, “त्यसो भन्दा पनि देउवामा खास प्रभाव देखिँदैनथ्यो ।” 

ती पदाधिकारीका अनुसार महामन्त्री थापाले भने पार्टी अप्ठेरोमा पर्दा त्यसको भारी महामन्त्रीले बोकिदिनुपर्ने सहज हुँदा सभापतिका ‘हरुवा चरुवा’हरुले मात्र तर मार्ने गरेको भनेर सभापतिविरुद्ध खुलेर लडन आफू तयार भएको बताएका थिए । 

त्यसो भन्दा सभापति देउवाले भने ‘आवेशमा नआउन’ मात्र भनेको ती पदाधिकारी बताउँछन् ।

देउवालाई किन धम्की दिए महामन्त्रीद्वयले ? 

देउवालाई राजीनामा र संघर्षको धम्की दिएका महामन्त्रीद्वयले संघर्षदेखि विद्रोहसम्मको रणनीति बनाइरहेका छन् ।  उनीहरु संघर्षको रणनीति कस्तो बनाउने र कस्ता कार्यक्रम लिएर कार्यकर्तामा जाने भनेर रणनीति निर्माण गरिरहेको महामन्त्री थापा निकटको भनाई छ ।

“संघर्षका कार्यक्रम के हुन्छन्, त्यसका लागि कस्ता रणनीति अपनाइन्छन् र त्यसको परिणाम के हुन्छ भन्ने कुरा निर्धारण हुँदै जाने कुरा हो,” थापा निकटका ती नेता भन्छन्, “तर, विद्रोह हुने निश्चित भयो ।” 

उनले व्रिदोहको स्वरुपबारे नसोध्न भन्दै विद्रोहको स्वरुप सुरु भइसकेपछि नेतृत्त्वले गर्ने व्यवहारबाट पनि निर्देशित हुने उनको भनाई छ । 

“संघर्ष सुरु हुन्छ । पार्टी रुपान्तरणको मुद्दा रोकिएर बस्दैन । महाधिवेशन अघिदेखि उठेको यो मुद्दामा अब वर्तमान नेतृत्वबाट कांग्रेस चल्दैन स्वीकार्नु हुँदैन भनेर नै अभियान सुरु हुन्छ,” तीन नेता भन्छन्, “त्यसमा नेतृत्त्वले कस्तो रियाक्सन गर्छ त्यसले संघर्षको स्वरुप निर्धारण हुने हो ।”

संघर्ष गर्नुपर्ने अवस्था कसरी आयो ? 

१४औं महाधिवेशन अघि गगन थापाको एउटै मुद्दा थियो – पार्टी रुपान्तरण, राजनीतिक रुपान्तरण । त्यसबेला प्रचार विभाग प्रमुख र प्रवक्ताको जिम्मेवारीमा रहेका विश्वप्रकाश शर्माको नेतृत्वमा कांग्रेसको १४औं महाधिवेशनको नारा थियो –उत्साह, एकता र रुपान्तरण ।

महाधिवेशन सकियो । सभापतिमा देउवा नै दोहोरिए ।  उपसभापति, महामन्त्री सहमहामन्त्री हुँदै केन्द्रीय समितिमा उलेख्य संख्यामा युवा सहभागिता देखियो ।  कांग्रेसको महाधिवेशनको उत्साह कांग्रेसको नयाँ पुस्तामा मात्र नभएर समग्र राजनीति र सुभेच्छुकहरुमा देखिएको थियो । 

त्यो उत्साह सकाएर सभापति देउवाले कांग्रेसलाई आकर्षणहीन बाटोमा पुर्‍याएको महामन्त्रीहरुको बुझाई छ ।
 
“१४औं महाधिवेशनअघि रुपान्तरणको एजेन्डा थियो । नेतृत्त्व पुस्तान्तरणको एजेन्डा थियो । सिन्डिकेट जोगाएर सभापतिमा देउवा निर्वाचित हुनुभयो,” महामन्त्री निकटका एक नेताले भने, “पदाधिकारीमा आएको युवाहरुलाई उहाँले खेलाउने प्रयास गर्नुभयो । विधानले तोकेका जिम्मेवारीसमेत निर्वाह गर्न दिनुभएन । विधानअुनसार चलौँ भन्ने महामन्त्रीका प्रस्ताव सधै उहाँले लत्याउनुभयो ।”

त्यसपछिको स्थानीय तह निर्वाचनमा गठबन्धन गर्नु हुँदैन भन्ने आवाजलाई पनि बहुमतको बलमा दबाएको महामन्त्री पक्षको गुनासो छ ।  केन्द्रीय समितिले गठबन्धन गर्नु हुँदैन, आवश्यक परे सम्बन्धित जिल्ला र स्थानीय तहले गठबन्धन गर्ने सहमति गरेको थियो । 

केन्द्रीय समितिको निर्णय मै ‘आवश्यकता र औचित्यका आधारमा गठबन्धन गर्ने’ लेखिएको छ ।  तर, भरतपुर महानगरपालिकामा महानगरदेखि जिल्ला कार्यसमिति र केन्द्र्रीय सदस्यसहितको संयुक्त निर्णयबाट नेतृत्व आफूले लिने नभए गठबन्धन नगर्ने निर्णय भएको थियो । 

त्यसको लिखित जानकारी कांग्रेसका सबै गुटका नेता हुँदै तत्कालीन प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवालाई पनि गराइएको थियो । पार्टीलाई विधानसम्मत संचालन गर्न लिखित रुपमा महामन्त्रीले बुझाएको प्रस्ताव सभापतिले थन्क्याएको उनीहरुको आरोप छ । 

“पार्टीको विधानमा दुई महिनाभित्र गर्नुपर्ने काम छ महिनाभित्र गर्ने भनेर सच्याइयो । छ महिनामा त होला नि त भनेर कुर्दाकुर्दै डेढ वर्ष बित्न लागेछ,” ती केन्द्रीय सदस्यले बाह्रखरीसँग भने, “महामन्त्रीहरुलाई तनहुँ र चितवनमा कमाण्डर तोकेपछि अहिले सबै असफलताको दोष लगाएर तेजोबध गर्ने प्रयास भइरहेको छ ।” 

आफूले गलत गर्ने र दोष लगाउन महामन्त्रीको टाउको खोज्ने नेतृत्वको प्रवृत्ति सहन गर्न सकिने अवस्थामा नरहेको उनको भनाई छ । 

“अहिले संघर्षको चेतावनी पछि मन्त्री नपाएर असन्तुष्ट भएको न्यारेटिभ निर्माण गर्न खोजिँदैछ । तर, मन्त्री बनाउने विषयमा छलफल नगरेको मात्र संघर्षको कारण होइन तर, त्यो पनि हो भन्ने कुरा लुकाउन पर्दैन,” ती नेताले भने, “नेपाली कांग्रेस शेरबहादुर देउवा र उनका आसेपासेको प्रालि होइन । मन्त्री बनाउने कुरा होस् वा पार्टीले लिने बाटो, होस् हाम्रो चासो हुन्छ, रहन्छ ।”

चाहिँदा प्रयोग नभए बाहिरै !

सभापति देउवाले पार्टी संकटमा पर्दा सहयोग माग्ने तर पार्टीलाई अघि बढाउने मुद्दामा बाधक बन्ने गरेको महामन्त्रीहरुको अनुभव छ । 

“गठबन्धन संकटमा पर्यो महामन्त्रीहरुले प्रचण्डसँग वार्ता गरिदिनुपर्ने । एमसीसी अनुमोदन गर्नुपर्यो– ओलीदेखि प्रचण्डसँग वार्ता गरेर कन्भिन्स गरिदिनुपर्ने, अमेरिकासँगको एसपीपीमा जोडिएर विवाद आयो –महामन्त्रीले स्पष्टीकरण दिएर भ्रम हटाउनुपर्ने,” ती नेताले भने, “तर, पार्टीले मन्त्री छान्दा महामन्त्री छलफलमा सहभागी हुन पनि नपाउने, भ्रातृ संस्थाका प्रमुख तोक्दा मिडियामा हेरेर थाहा पाउनुपर्ने, महत्वपूर्ण निर्णय मिडियामा आएपछि हो कि होइन भनेर सोध्नुपर्ने भयो ।”

महामन्त्रीहरुसँग देउवाले भ्रातृ संस्थामा पनि झेल गरेको उनीहरुको आरोप छ । भ्रातृ संस्थामा काम गरेका स्वाभाविक आकांक्षीलाई रोक्न अपारदर्शी नियुक्ति गरेको उनीहरुको बुझाई छ । 

“नेविसंघ बनाएपछि तरुणदलको नेतृत्त्व दिन्छु भन्ने तरुण दल बनाएपछि महिला सँघ दिन्छु भन्ने एवम् रितले भ्रातृ संस्थाका प्रमुख तोकिसकेपछि पदाधिकारी छान्न भन्ने तर पदाधिकारीविहिन कार्यसमिति बनाउने भन्दै अन्त्यमा भ्रातृ संस्थालाई भरौटेहरुको झुण्ड बनाउने प्रयास जारी छ,” ती नेताले भने, “पार्टीमा एउटा पक्षलाई समाप्त पार्ने रणनीतिमा रहेका सभापति देउवा पुरै कांग्रेसलाई देउवाले फूटाएर बनाएको ‘प्रजातान्त्रिक कांग्रेस’ बनाउने अभियानमा हुनुहुन्छ ।” 

यस्तो छ विगतदेखि वर्तमान 

१४औं महाधिवेशनमा देउवाविरुद्ध शेखर कोइरालाको नेतृत्वमा गगनसहित उभिएपछि पुराना नेताहरु एक ठाउँ भएका थिए । 

तत्कालीन वरिष्ठ नेता रामचन्द्र पौडेल महाधिवेशनको प्रक्रियाबाटै अलग भएको घोषणा गर्दै देउवाको सहयोगमा उभिन पुगे भने महामन्त्री शशांक कोइराला शेखरले सहयोग लिन नसकेको भन्दै देउवासँगै फोटो खिचाएर बसे । 
प्रकाशमान सिंह र विमलेन्द्र निधिले दोस्रो चरणमा देउवालाई समर्थनसहित भोट हाले भने कृष्ण सिटौला देउवाका सारथी भएर काम गरे । 

दोस्रो चरणमा शेखर गगन समूह मात्रै देउवा विरुद्ध मैदानमा थियो ।  अहिले गगनसँगै रहेका महामन्त्री विश्वप्रकाश शर्मा प्रकाशमान सिंहसँगै देउवाको समर्थनमा थिए ।  महाधिवेशनको परिणाम आउँदा गगन र विश्प्रकाश दुई युवा महामन्त्री निर्वाचित भए । 

उपसभापतिमा धनराज गुरुङ, सहमहामन्त्रीहरु बद्रि पाण्डे, जीवन परियारसहित केन्द्रीय समितिमा ठूलो संख्यामा युवा पुस्ताको प्रतिनिधित्व भएको थियो ।