मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

समावेशी र सिपमूलक शिक्षा – स्वदेशमा युवा राष्ट्र को इच्छा

समावेशी र सिपमूलक शिक्षा – स्वदेशमा युवा राष्ट्र को इच्छा

सुदूर आज

जीवन बुढा

समावेशी शिक्षा भनेको समाजमा रहेका हरेक वर्ग , क्षेत्र, समुदाय, सम्प्रदाय, जातजाति लगायत शिक्षा बाट वञ्चित रहेका वर्ग लाई उनीहरू को चाहना र आवश्यकता अनुसार को शिक्षा प्रदान गरी गुणस्तरीय जीवन यापन गर्ने सक्ने बनाइ शिक्षाको माध्यमबाट राज्यको मूल प्रवाहमा समाहित गर्न आधुनिक शिक्षण विधि नै समावेशी शिक्षा हो।शिक्षा पाउनु भनेको विद्यालय–कलेज उत्तीर्ण गर्नु र विदेश जानु जस्तो देखिएको छ । वर्षको आधा लाखभन्दा बढी विद्यार्थी अध्ययनका लागि विदेश जानु यसैको सङ्केत हो । नेपालको शिक्षा पद्धतिमाथि अनेक किसिमका प्रश्न उठेका छन् । निजी हुन् वा सामुदायिक विद्यालय तहको शिक्षालाई गम्भीर रूपमा समीक्षा गरेर समयोचित, व्यावहारिक र सिपमूलक बनाउन सकिएन भने हाम्रो देशको शैक्षिक जनशक्ति गरिखान सक्ने बन्दैन । यसका लागि किताबी अध्यापनसँगै व्यावहारिक र सिपमूलक तालिम दिनै पर्छ । 

सिपमूलक तालिम र अभ्यासमा माध्यमिक तहका विद्यार्थीलाई समावेश गर्न सके एकातिर देशको युवा शक्तिलाई विदेश पलायन हुनबाट बचाउन सकिन्छ भने अर्कातिर स्वदेशमै उनीहरूले केही गरिखाने क्षमताको विकास हुने छ । गर्न सकिन्छ भन्ने आत्मविश्वास जाग्ने छ । यसबाट मुलुकको अर्थतन्त्र सबल बन्न सघाउ पनि पुग्छ । अहिले विदेशमा अध्ययन गर्न जाने नेपालीले मात्रै पचासौँ अर्ब रुपियाँ लग्ने गरेका छन् । यसको एउटै कारण मुलुकको शिक्षाको गुणस्तरमाथिको प्रश्न, सिप तथा क्षमताको अभाव अनि व्यावहारिकतालाई बेवास्ता गरिनु हो । 

हामीले विद्यार्थीलाई सैद्धान्तिकसँगै व्यावहारिक र सिपमूलक शिक्षालाई प्राथमिकता दिने हो भने यो देशका युवालाई स्वदेशमै राख्न सक्ने छौँ । अहिले मुलुकमा सामान्य श्रमिकदेखि विज्ञहरूको ठुलो अभाव छ । ठुला विकास आयोजनामा दक्षदेखि ज्यामीसम्म विदेशी आउने गरेका छन् । नेपाली युवा काम नपाएर दैनिक दुई हजारभन्दा बढी बिदेसिने तर स्वदेशका परियोजनालाई जनशक्ति नहुने । यो विरोध भाषी पक्षको अन्त्यका लागि सिप अत्यावश्यक छ । यसका लागि सरकारले विशेष गुरुयोजना बनाएर देशभर सामुदायिक तथा निजी विद्यालयमा कडाइका साथ लागु गराउनु पर्छ ।

शिक्षाको विविधता भनेको ज्ञान, बौद्धिक क्षमताको विकास र दक्षता पनि हो । अक्षर चिनेर अङ्ग्रेजी भाषामा कुरा गर्न जान्दैमा कोही पनि शिक्षित मानिँदैन । पढेका कुरा व्यवहारमा उतार्न सक्ने क्षमताको विकास विद्यालयबाटै हुनु पर्छ । काठमाडौँ महानगरपालिकाले यसै शैक्षिक सत्रदेखि महानगरभित्रका विद्यालयमा माध्यमिक तहका विद्यार्थीलाई अनिवार्य सिपमूलक तालिम दिने कार्यक्रम सुरुवात गरेको छ । यो अत्यन्त सराहनीय कार्य हो । यसलाई सामुदायिक विद्यालयमा मात्र सीमित नगरी निजी विद्यालयमा पनि लागु गराउनु पर्छ । 

यस्तो योजना काठमाडौँ महानगरले मात्र होइन, यसलाई सङ्घीय सरकारले पनि आफ्नो नीति तथा कार्यक्रम र बजेटमा समावेश गरेर देशव्यापी लागु गराउनु पर्छ । यति गर्न सकियो भने देशबाट युवा तथा बौद्धिक पलायनको क्रम रोकिने छ । शिक्षा हरेक मानिसको नैसर्गिक अधिकार हो र त्यस्तो अधिकारको प्रत्याभूति गर्ने देशले उन्नतिको शिखर चुमेका छन् । देशलाई आवश्यक पर्ने हरेक किसिमका जनशक्ति, विशेषज्ञ सोही अनुसारको शिक्षाबाट मात्रै सम्भव हुन्छ र शिक्षासँगै दिइने सिपमूलक र किताबमा लेखिएका सन्दर्भको व्यावहारिक अभ्यास, अवलोकन र बहसले विद्यार्थीलाई वास्तविकता बुझ्न सघाउ पुग्छ ।

यस्तो अवस्थाको अन्त्यका लागि विद्यालयमा प्राविधिक र सिपमूलक शिक्षा आवश्यक पर्दछ । शिक्षा भनेको सिक्नु हो भन्ने बुझेर सोही अनुसारको अभ्यास र तालिम गराउनु पर्दछ । कम्तीमा पनि भविष्यमा आफैँ केही गर्न सक्ने बनाउनका लागि विद्यालयले सिपमूलक तालिम दिनै पर्दछ । यही मान्यता र समयको आवश्यकता बुझेर काठमाडौँ महानगरपालिकाले ‘पुस्तकरहित शुक्रवार’ अभियान चलाएर कक्षा ९ देखि १२ सम्मका विद्यार्थीलाई सिपमूलक तालिम दिन सुरु गरेको हो । स्थानीय तहले गरेका राम्रा निर्णय र अघि सारेको योजनालाई केन्द्रीय नीति तथा कार्यक्रममै राख्ने हो भने आधा दशकमै नेपालको शिक्षा पद्धतिमा आमूल परिवर्तन आउने छ ।

सामुदायिक हुन् कि निजी; हरेक विद्यालयको सफलताको मापन त्यहाँबाट निस्किएका विद्यार्थीले के सिके, जाने र बुझे भन्ने हुन्छ । अक्षर चिनेका तर केही काम गर्न नजानेका, प्रमाणपत्रमा राम्रो अङ्क लेखिएका तर सिप केही नभएका विद्यार्थी उत्पादन गरेर न विद्यालय सफल भएको ठहरिन्छ न त राष्ट्रले नै ती विद्यार्थीबाट केही पाउन सक्छ । विद्यालय पढेलेखेका अयोग्यको भिड जम्मा गर्ने र विदेशीका लागि श्रम शक्ति तयार गर्ने कारखाना होइन, देशका लागि चाहिने दक्ष जनशक्ति उत्पादनको पाठशाला हुनु पर्दछ । शिक्षालाई व्यापारीकरण बाट मुक्त गरेर समाजसेवामा परिणत गर्नु पर्दछ । विद्यार्थीलाई भविष्यमा केही न केही गर्न सक्ने सिपवान् बनाउनु पर्दछ ।

विद्यालय शिक्षामा सैद्धान्तिक पाठसँगै व्यावहारिक सिकाइ महत्त्वपूर्ण पक्ष हो । हरेक विद्यालयले विद्यार्थीको रुचि र क्षमता अनुसारको सिपमूलक तालिमलाई आफ्नो शैक्षिक पात्रोमै समावेश गर्ने र त्यस्तो तालिमको व्यवस्था गर्ने हो भने नेपालको विद्यालय शिक्षाले छोटै समयमा फड्को मार्ने छ । त्यस्तै अहिलेजस्तो हरेक वर्ष भर्ना अभियान चलाएर विद्यार्थी आकर्षित गर्नु पनि पर्दैन । अहिलेको समस्या के हो भने आज १० लाख विद्यार्थी भर्ना भए, अभियान सफल भयो भनिन्छ तर त्यसको १० वर्षपछि एसइई परीक्षा दिने पाँच लाख मात्रै हुन्छन् । बाँकी पाँच लाख विद्यार्थी किन विद्यालयमा टिकाउन सकिएन ? यो प्रश्नको उत्तर सिपमूलक तालिमसहितको शिक्षा नभएर हो भन्न कुनै अप्ठ्यारो मान्नु पर्दैन । 

यदि विद्यालयमा सिपमूलक तालिमसहितको पठनपाठन हुने हो भने यसको नतिजा विदेशमा श्रम गर्न जानुपर्ने बाध्यता पनि हट्छ, आफ्नै सिपमा केही न केही रोजगारी सिर्जना गर्न सक्षम हुने छन् । यसले शिक्षा, विद्या, रोजगारी सबै एकसाथ प्रदान गर्ने छ । यसलाई महाअभियानका रूपमा देशभर लागु गर्नु पर्दछ । अनि मात्र नेपालले पढेलेखेका जनशक्ति प्राप्त गर्ने छ । सिपमूलक पठनपाठनले देशभित्रै रोजगारी सिर्जना गरी आर्थिक–सामाजिक विकासमा ठुलो फड्को मार्ने छ । शिक्षा भनेको विदेश पलायन हुने लाइसेन्स होइन, स्वदेश बनाउने जिम्मेवारी हो भन्ने बुझ्न र बुझाउन सकिने छ । समयको माग र आवश्यकता यही हो । यस विषयमा तीन वटै तहको सरकार अनि सामुदायिक र निजी दुवैथरिका विद्यालयका सञ्चालकले गम्भीर भएर सोच्नु आवश्यक छ ।