अछाम — जिल्लाको बान्नीगढी जयगढ गाउँपालिकाको केन्द्र जयगढ बजारमा हालै भएको भीषण आगलागीबाट प्रभावित स्थानीयवासीलाई राहतस्वरूप खप्तड नेटले निःशुल्क इन्टरनेट सेवा प्रदान गरेको छ। यो सेवा तीन महिनासम्म उपलब्ध गराइने सञ्चालक रमेश महरले जनाएका छन्।
भीषण आगलागीमा परेर घरबार र सम्पत्ति गुमाएका पीडितहरूलाई सञ्चार र जानकारीको पहुँच सहज होस् भन्ने उद्देश्यले खप्तड नेटले सामाजिक उत्तरदायित्वअन्तर्गत निःशुल्क इन्टरनेट सेवा सुरू गरेको उनले बताए ।
सञ्चालक महरका अनुसार, “हामीसँग पहिले नै सेवा लिइरहेका जयगढका ग्राहकहरू जुन आगलागीबाट प्रभावित भएका छन्, उनीहरूलाई स्वतः निःशुल्क इन्टरनेट सुविधा दिइरहेका छौं। साथै, नयाँ ग्राहक जसको इन्टरनेट जडान भएको छैन तर उनीहरू आगलागी पीडित हुन् भने, खप्तड नेटको सम्पर्क आए आवश्यक प्रक्रिया पूरा गरी निःशुल्क सेवा जडान गरिनेछ।”
अर्का सञ्चालक खेमराज ढुंगानाले भने, “समाजमा दुःख परेको बेला सँगै उभिनु हाम्रो जिम्मेवारी हो। इन्टरनेट सेवा आवश्यक सूचना आदानप्रदान, बालबालिकाको पढाइ तथा राहतसम्बन्धी जानकारी लिनका लागि अत्यावश्यक भएकाले यो सेवा निःशुल्क प्रदान गरिएको हो।”
आगलागीले बासस्थान र जीविकोपार्जनका साधन गुमाएका परिवारहरूका लागि खप्तड नेटको यो सहयोगले उनीहरूलाई सामान्य जीवनतर्फ फर्कन मद्दत पुर्याउने अपेक्षा गरिएको छ।
प्रतिक्रिया