अछाम — नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अछाम क्षेत्र नं. २, प्रदेश सभा (क) को प्रदेश सभापति पदमा युवा नेता कविराम बयकले आफ्नो उम्मेदवारी घोषणा गरेका छन्।
तुर्माखाँद गाउँपालिका–४ बाट क्षेत्रीय प्रतिनिधिमा सर्वसम्मत निर्वाचित भएलगत्तै बयकले प्रदेश सभापति पदमा उम्मेदवारी दिने निर्णय सार्वजनिक गरेका हुन्। क्षेत्रीय प्रतिनिधिमा सर्वसम्मत चयन गराएकोमा उनले तुर्माखाँद–४ का पार्टी नेता, कार्यकर्ता तथा सम्पूर्ण क्रियाशील सदस्यहरूप्रति हार्दिक आभार व्यक्त गरेका छन्।
विगतमा तुर्माखाँद गाउँपालिकाको पार्टी सभापति भइसकेका बयक २०७४ सालको स्थानीय तह निर्वाचनमा तुर्माखाँद गाउँपालिका–४ को वडा अध्यक्षसमेत निर्वाचित भइसकेका अनुभवी नेता हुन्।
उम्मेदवारी घोषणा गर्दै नेता बयकले पार्टी संगठनलाई थप सुदृढ, गतिशील र एकताबद्ध बनाउन आफूलाई प्रदेश सभापतिको जिम्मेवारी दिन आग्रह गरेका छन्। बदलिँदो राजनीतिक परिवेशअनुसार युवा पुस्ताको सहभागिता, प्रविधिको प्रयोग र आधुनिक संगठन निर्माणलाई प्राथमिकतामा राखेर अघि बढ्ने उनको प्रतिबद्धता छ।
कठिन परिस्थितिमा पनि निरन्तर पार्टी संगठन र लोकतान्त्रिक गतिविधिमा सक्रिय रहँदै आएका कारण बयकको उम्मेदवारीलाई कार्यकर्ताहरूले रुचि र चासोका साथ हेरेका छन्।
आफ्नो उम्मेदवारीलाई सफल बनाउन बयकले पंचदेवल विनायक नगरपालिका, कमलबजार नगरपालिकाका केही वडा तथा तुर्माखाँद गाउँपालिकाका सम्पूर्ण सभापति, वडाका क्रियाशील सदस्य एवं क्षेत्रीय प्रतिनिधिहरूसँग सहयोग र समर्थनको लागि अपिल गरेका छन्।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनको कार्यतालिकाअनुसार अछाम क्षेत्र नं. २, प्रदेश सभा (क) को अधिवेशन आगामी असोज १० गते कमलबजार नगरपालिकामा आयोजना हुँदैछ।














प्रतिक्रिया