मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

समाजसेवाको अर्को नाम कृष्ण कुवँर (एन्जिला) : अछाम क्षेत्र नं. १ बाट महाधिबेशन प्रतिनिधीको दौडमा

समाजसेवाको अर्को नाम कृष्ण कुवँर (एन्जिला) : अछाम क्षेत्र नं. १ बाट महाधिबेशन प्रतिनिधीको दौडमा


अछाम । नेपाली कांग्रेसको १५औँ महाधिवेशन प्रतिनिधिका लागि अछाम क्षेत्र नं. १ बाट युवा तथा समाजसेवी कृष्ण कुँवर (एञ्जिला) ले खुलातर्फ आफ्नो उम्मेदवारी अघि सारेका छन्। लामो समयदेखि नेपाली कांग्रेसको संगठन र सामाजिक क्षेत्रमा सक्रिय कुँवरले आफ्नो उम्मेदवारीलाई समाजसेवा र राजनीतिक भूमिकालाई थप प्रभावकारी बनाउने प्रयासका रूपमा प्रस्तुत गरेका छन्।

क्षेत्रीय अधिवेशनबाट महाधिवेशन प्रतिनिधि चयन हुने भएकाले अछाममा क्षेत्रीय अधिवेशनको तयारीसँगै उम्मेदवारहरूको सक्रियता बढेको छ। दुई निर्वाचन क्षेत्र रहेको अछाममा महाधिवेशन प्रतिनिधिका लागि ठूलो संख्यामा आकांक्षीहरू रहेको बताइएको छ।

कुँवरले भने आफूले राजनीतिलाई व्यक्तिगत स्वार्थ पूरा गर्ने माध्यमका रूपमा नभई समाजका लागि काम गर्ने जिम्मेवारीका रूपमा बुझेको बताएका छन्।

“राजनीति व्यक्तिगत स्वार्थभन्दा माथि उठेर समाजका लागि गरिने सेवा हो। समाजसेवा र सामाजिक परिवर्तनका लागि राजनीतिक क्षेत्रमा सक्रिय भएर काम गर्ने उद्देश्यले मैले उम्मेदवारी दिएको हुँ,” कुँवरको भनाइ छ।

नेविसंघदेखि कांग्रेसको संगठनसम्म

कुँवरको राजनीतिक सक्रियता विद्यार्थी जीवनदेखि सुरु भएको हो। उनी २०५८ सालदेखि नेपाल विद्यार्थी संघ (नेविसंघ) को राजनीतिमा सक्रिय रहँदै आएका छन्। नेविसंघको केन्द्रीय महाधिवेशनमा प्रतिनिधिका रूपमा सहभागी भइसकेका कुँवर अहिले नेपाली कांग्रेसको संगठनात्मक भूमिकामा समेत सक्रिय छन्।

उनी जीपी कोइराला प्रतिष्ठान अछामका सचिव तथा उद्योग वाणिज्य संघ अछामका सचिवको जिम्मेवारीमा समेत रहेका छन्। आफ्नो उम्मेदवारी अघि सार्दै कुँवरले “अग्रजलाई आदर र सम्मान, युवालाई स्थान र प्रोत्साहन” भन्ने अवधारणालाई जोड दिएका छन्।

समाजसेवामा निरन्तर सक्रियता

कृष्ण कुँवरको सार्वजनिक परिचय राजनीतिक गतिविधिसँगै सामाजिक तथा परोपकारी कामसँग पनि जोडिएको छ। गरिब तथा जेहेन्दार विद्यार्थीलाई सहयोग, छात्रवृत्ति, शैक्षिक सामग्री वितरण, स्वास्थ्य संस्था सहयोग, विपद्का बेला राहत तथा खेलकुद प्रवर्द्धनमा उनले सहयोग गर्दै आएको विवरण सार्वजनिक छन्।

उनले हरेक वर्ष अक्षयकोषमार्फत जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउँदै आएको बताइएको छ। विभिन्न अवसरमा आर्थिक रूपमा कमजोर विद्यार्थीलाई शैक्षिक सहयोग गर्नुका साथै वेदविद्याश्रमका विद्यार्थीलाई शैक्षिक सामग्रीसमेत उपलब्ध गराउँदै आएका छन्।

बयालपाटा अस्पतालदेखि कोरोना महामारीसम्म

कोरोना महामारीका बेला पनि कुँवर सहयोग अभियानमा सक्रिय रहेको बताइएको छ। उनले बयालपाटा अस्पताललाई आर्थिक तथा सामग्री सहयोग गर्नुका साथै एक्सरे मेसिन खरिद, देखि अस्मापताललाइ बिभिन्न समयमा उपकरण देखि आर्थिक सहयोग समेत गरेका छन् ।

त्यस्तै, रामारोशन क्षेत्रमा बाढीका कारण प्रभावित परिवारलाई आर्थिक सहयोग उपलब्ध गराएको तथा जिल्लाको खेलकुद क्षेत्रको विकासमा समेत योगदान गरेका छन् ।

खेलकुद प्रवर्द्धनमा पनि सक्रिय

अछाममा खेलकुद गतिविधिलाई प्रोत्साहन गर्ने उद्देश्यले विभिन्न प्रतियोगितामा सहयोग गर्दै आएका कुँवरले सुदूरपश्चिममै ठूलो धनराशिको भलिबल प्रतियोगिता आयोजना गर्न भूमिका खेलेका थिए । भलिबलसँगै अन्य खेलका गतिविधिमा समेत सहयोग गर्दै आएका कारण उनको सामाजिक सक्रियताको एउटा महत्वपूर्ण क्षेत्र खेलकुद पनि बनेको छ।

शिक्षाको गुणस्तर सुधारमा निजी क्षेत्रको पहल

कुँवरको सामाजिक सक्रियताको अर्को पक्ष शिक्षा क्षेत्रसँग जोडिएको छ। २०७४ सालमा साँफेबगर नगरपालिका र चौरपाटी गाउँपालिकाका नमुना विद्यालयका प्रधानाध्यापकहरूलाई शैक्षिक भ्रमणमा सहभागी गराएका थिए।

अछामका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि अन्य जिल्लाका विद्यालय सञ्चालनका अभ्यासबारे प्रत्यक्ष जानकारी गराउने उद्देश्यले उक्त भ्रमण आयोजना गरिएको बताइएको छ।

यसरी स्वास्थ्य, शिक्षा, खेलकुद, विपद् व्यवस्थापन तथा विद्यार्थी सहयोगका क्षेत्रमा गरेको कामलाई कुँवरले आफ्नो सामाजिक यात्राको आधारका रूपमा प्रस्तुत गर्दै आएका छन्।

‘कमाइको केही हिस्सा समाजका लागि’

कुँवरको सामाजिक सेवासम्बन्धी सोचलाई उनको एउटा मान्यताले पनि देखाउँछ। उनले आफूले वर्षभरि गरेको कमाइको केही हिस्सा समाजका लागि छुट्याउनुपर्ने धारणा राख्दै आएका छन्।

उनका सामाजिक गतिविधिमा अस्पताल सहयोग, विद्यार्थी छात्रवृत्ति, शैक्षिक सामग्री वितरण, अक्षयकोष स्थापना, खेलकुद प्रतियोगितामा सहयोग र विपद्का बेला आर्थिक सहयोग जस्ता कामहरू समेटिएका छन्।

अब महाधिवेशन प्रतिनिधिको उम्मेदवारीमार्फत कुँवरले आफ्नो लामो राजनीतिक तथा सामाजिक अनुभवलाई पार्टीको संगठनात्मक भूमिकासँग जोड्न खोजेका छन्। अछाम क्षेत्र नं. १ बाट खुलातर्फ अघि सारिएको उनको उम्मेदवारीको अन्तिम परिणाम भने क्षेत्रीय अधिवेशनबाट हुने प्रतिनिधि चयन प्रक्रियाले निर्धारण गर्नेछ।