मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

क्षेत्रिय सभापती शर्माद्धारा खुलातर्फ महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा

क्षेत्रिय सभापती शर्माद्धारा खुलातर्फ महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा


अछाम । नेपाली कांग्रेस अछाम क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति पुष्पराज शर्माले नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खुलातर्फ केन्द्रीय महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।

२०४८ सालमा नेपाल विद्यार्थी संघ (नेविसंघ)को सदस्यता लिएर राजनीतिक यात्रा सुरु गरेका शर्मा नेपालगञ्जस्थित महेन्द्र बहुमुखी क्याम्पसको नेविसंघ इकाइ अध्यक्ष हुँदै सोही क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिसमेत निर्वाचित भएका थिए। अध्ययन पूरा गरेपछि अछाम फर्किएका उनले नेपाली विद्यार्थी संघ अछाममा रहेर राजनीतिक तथा संगठनात्मक गतिविधिमा सक्रियता बढाएका थिए।

२०६२/६३ को जनआन्दोलनका क्रममा राज्यविरुद्धका मुद्दामा करिब पाँच महिना हिरासतमा बसेका शर्मा त्यसपछि नेपाली कांग्रेस अछामको राजनीतिमा निरन्तर सक्रिय रहँदै आएका छन्। उनले कांग्रेसको १२औँ र १३औँ महाधिवेशनमा क्षेत्र नम्बर २ को सभापतिमा उम्मेदवारी दिएका थिए भने १४औँ महाधिवेशनबाट क्षेत्रीय सभापतिको जिम्मेवारी सम्हाल्दै आएका छन्।

युवा पुस्तालाई पार्टी संगठनसँग जोड्दै कांग्रेसलाई जनतासँग अझ नजिक बनाउने, सुशासन तथा संस्थागत अनुशासनलाई प्राथमिकता दिने र संगठनलाई समयअनुकूल गतिशील बनाउने आफ्नो उद्देश्य रहेको उनको भनाइ छ।

शर्माका अनुसार आन्तरिक प्रतिस्पर्धालाई लोकतान्त्रिक प्रक्रियाका रूपमा स्वीकार गर्दै कांग्रेसलाई सबैको साझा पार्टीका रूपमा अघि बढाउनुपर्ने आवश्यकता छ। भ्रातृ तथा शुभेच्छुक संगठनलाई थप चलायमान बनाउने विषयलाई पनि उनले आफ्नो प्राथमिकतामा राखेका छन्।

पुष्पराज शर्मा : स्थानीय तहको नेतृत्वदेखि विकासका कामसम्म

शर्मा २०७४ सालको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट तुर्माखाँद गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए। विकट भौगोलिक अवस्था रहेको तुर्माखाँदको नेतृत्व सम्हाल्दा आफूले विभिन्न चुनौतीको सामना गर्नुपरेको उनी बताउँछन्।

आफ्नो कार्यकालमा गाउँपालिकाका सबै वडामा सडक पहुँच विस्तारलाई प्राथमिकता दिएको, सरकारी सुविधा प्रयोग गर्ने सवारी साधनसम्बन्धी आफ्नो निर्णय तथा विकास निर्माणका कामलाई अघि बढाएको उनको दाबी छ।

उनले आफ्नो कार्यकालका प्रमुख कामका रूपमा कमलबजार–तुर्माखाँद सडकलाई पक्की सडकका रूपमा अघि बढाउन संघ, प्रदेश र स्थानीय सरकारबीच समन्वय तथा सम्झौता, अछामलाई तराईसँग जोड्ने छोटो दूरीको जंगलघाट सडक निर्माणको सुरुवात, १० शय्याको अस्पताल निर्माण प्रक्रिया अघि बढाउने कामलगायतलाई उल्लेख गरेका छन्।

त्यसैगरी गाउँपालिकालाई साक्षर तथा छाउगोठमुक्त घोषणा, अपांगता भएका व्यक्ति, असहाय तथा ज्येष्ठ नागरिकलाई बैंकमार्फत सामाजिक सुरक्षा भत्ता वितरण, महिला स्वास्थ्य स्वयंसेविकाका लागि प्रोत्साहन भत्ता, प्राविधिक शिक्षाको सुरुवात, निजी ल्याब स्थापना, शिक्षक व्यवस्थापन, खानेपानीका योजना तथा कृषि, जीविकोपार्जन र आयआर्जनसम्बन्धी कार्यक्रमलाई पनि उनले आफ्नो कार्यकालका महत्वपूर्ण कामका रूपमा प्रस्तुत गरेका छन्।

संगठन सुदृढीकरणलाई प्राथमिकता

लामो समयदेखि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय रहँदै आएका शर्मा आगामी महाधिवेशनलाई पार्टी संगठन, नेतृत्व र पुस्तान्तरण गर्ने महत्वपूर्ण अवसरका रूपमा लिएका छन्।

“युवा पुस्तालाई साथमा लिएर कांग्रेसलाई जनतासँग जोड्दै संगठनलाई थप सुदृढ र गतिशील बनाउने मेरो उद्देश्य हो,” शर्मा भन्छन्।

१५औँ महाधिवेशनमा खुलातर्फ केन्द्रीय महाधिवेशन प्रतिनिधिका रूपमा आफ्नो उम्मेदवारी प्रस्तुत गर्दै उनले क्षेत्र नम्बर २ का क्षेत्रीय प्रतिनिधिहरूबाट सहयोग र समर्थनको अपेक्षा रहेको बताएका छन्।