मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

शिबिरकै भरमा पाठेघर खसेका महिलाहरु – सुदूरआज

शिबिरकै भरमा पाठेघर खसेका महिलाहरु – सुदूरआज


गीता कुँवर , अछाम

अछाम पंञ्चदेवल बिनायक नगरपालिका २ की गंगा देवी देवकोटाको पाठेघर खसेको १ वर्ष भयो । आर्थिक अभाव र लाजका कारण उनले बिगत १ वर्ष देखि पाठेघर खस्ने समस्याबाट पिडित थिईन् । उनी अहिले ७३ वर्षकी भईन् ।

बयलपाटा अस्पतालमा स्त्री तथा प्रसुति सम्बन्धी ३ दिन बसेको शिबिरमा उनको शल्यक्रिया मार्फत पाठेघर फालियो । शल्यकृया भएपछि केहि राहत महसुस भएको उनले बताईन् ।

उनले भनिन् ‘बस्न, उठ्न निकै गाहे हुन्थ्यो, उपचार गर्न सकिएको थिएन, बयालपाटामा अप्रेशन हुने थाहा पाएपछि यहाँ आए ।’ गंगाको ९ वर्षको उमेरमा बिहे भयो ।

उनले पहिलो सन्तानलाई १७ बर्षको उमेरमा जन्म दिएकी थिईन् । उनले १० सन्तानलाई जन्म दिईन् तर उनका ४ सन्तान मात्र बाचे ।

बाजुरा बुढीगगा नगरपालिका १० का ७० वर्षिया मनसरा शाही २ वर्ष देखि पाठेघर खस्ने समस्याबाट पिडित थिईन् । मनसराका छोरा रणबहादुर संग शिबिरमा पुगेकी थिईन् । उनको पनी शल्यकृया मार्फत पाठेघर फालिएको छ ।

शल्यक्रियाका दुई दिनपछि सहज रुपले हिडडुल गर्न सक्ने भएको उनले बताईन् । उनले भनिन् ‘जिल्ला बाहिर जान सकिदैन, पैसा छैन, उपचार कहा हुन्छ भन्ने पनी हामीलाई थाहा छैन, रेडियोबाट शिबिर बस्ने भनेको सुनेर आए, पाठेघर फालेपछि सहज भएको छ ।’

मनसराको १५ बर्षको उमेर बिहे भयो । उनले ६ सन्तानललाई जन्म दिईन् । उनले भनिन् पहिलो बच्चा १७ बर्षमा पाए, अहिलेको जस्तो सुबिधा कहाँ थियो र मेला पात, घास दाउरा गर्दा बाटैमै बच्चा जन्मायौ,सुत्केरीमा राम्रोसंग खान अनि आराम गर्न पाएनौ ।

बान्नीगढी जयगढ गाउँपालिकाकी ४० वर्षिया सिला स्वाँर बिगत २ वर्षदेखि पाठेघरको समस्याबाट ग्रसित थिईन् । उनको पाठेघरको क्यान्सरको सम्भावना रहेकाले शल्यक्रिया गरिएको छ ।

अछामका २५ प्रतिशत भन्दा बढी महिला पाठेघर खस्ने समस्याबाट ग्रसित रहेको पाइएको छ । समविकास नेपालले गरेको अध्ययनमा २० वर्षका महिलामा समेत आङ खस्ने समस्या देखिएको छ ।
पहिलो र दोस्रो चरणको आङ खस्ने समस्या भएको महिलाको संख्या झन् धेरै समबिकास नेपालका अध्यक्ष पशुपति कुँवरले बताईन् । त्यस्ता महिला ढाड दुख्ने, रगत मिसिएको पानी बग्ने, पिसाब फेर्न गाह्रो हुने तल्लो पेट दुख्नेजस्ता समस्याबाट पीडित रहेका उनले बताईन् ।

उनले भनिन ‘अझै धेरै महिला त लाजका कारण खुल्न सकेका छैनन, पाठेघर खस्ने समस्याबाट पीडित महिलाको दैनिक जीवन साह्रै कष्टकर छ।

पाठेघर खस्ने समस्याबाट पीडित अधिकांश महिलाले उमेर नपुग्दै विवाह गरेको पाइएको छ। पीडित महिला समाजबाट बहिष्कार हुने भएका कारण पनि आफ्नो समस्या अरूलाई सुनाउँदैनन ।
पाठेघर खस्ने समस्या लिएर अस्पताल जाने महिलाले समेत लाजका कारण डाक्टरसँग टाउको र ढाड दुखेको भन्दै आफ्नो वास्तविक समस्या खोल्न अनकनाउने गरेका कुँवरको भनाइ छ।

बयालपाटा अस्पतालका डाक्टर बिकास गौचनका अनुसार कम उमेर बिहे गर्नाले, गर्भवती तथा सुत्केरी अवस्थामा गाह्रो काम गर्ने, भारी बोक्ने, खानपिनमा ख्याल नगर्ने, धेरै बच्चा जन्माउने कारणले पाठेघर खस्ने समस्या सिर्जना हुन्छ ।

उनले भने ‘खुलेरै उपचार गराउन आउने महिलाको संख्या धेरै कम छ, गौचनले भने अति धेरै पिडा सहन नसकेपछि मात्र उपचारका लागी आउने गर्दछन्, पाठेघरको सक्रमण, मुखको क्यान्सर ढिलो गरी पत्ता लाग्नु र अकालमा ज्यान जाने गरेको छ ।

भर्खर २४ वर्ष उमेरका किशोरीहरुमा पनी पाठेघरको मुखको क्यान्सर हुने सम्भवना धेरै देखिएको छ ।’ गौचनका अनुसार पाठेघर खस्ने समस्या तीन चरणको हुन्छ । पहिलो र दोस्रो चरणको समस्यामा ‘रिङ’ लगाएर उपचार गर्न सकिन्छ ।

तर पाठेघर खसिसकेपछि भने शल्यक्रिया बाहेक अरू उपाय नभएको उनले बताए । महिलाको स्वास्थको क्षेत्रमा सरकारले अझै पनी लगानी गर्न नसकेको गौचन बताउछन् ।

ग्रामीण बस्तीका महिलाहरुमा यसबारेको जनचेतना जगाउनुका साथै सरकारले सहजरुपमा उपचारको ब्यवस्था मिलाउपर्छ उनले भने ।