मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कविता: जहाज छुट्यो !

कविता: जहाज छुट्यो !


  • नवीन चिराग

छुट्न त्यति सजिलो छैन !
बोलिरहेको वाक्य छुट्यो कि परिक्षा हल पुग्दा प्रवेश पत्र छुट्यो ?
देखिरहेको सपना छुट्यो कि भिडमा आमाबाट नानी छुट्यो ?
हिडिरहेको बाटो छुट्यो कि विदेश पुग्दा ट्रान्जिटमा पासपोर्ट छुट्यो ?
हाँसिरहेको हाँसो छुट्यो कि अकस्मात चल्ने दमको स्प्रे छुट्यो ?
के गर्नु , अचेल आँसु मात्र देखापर्छ एकान्तमा ।

छुट्न त्यति सजिलो छैन !
गुनगुनाइरहेको गीत छुट्यो कि फेरिरहेको स्वास छुट्यो ?
सुम्सुम्याइरहेको तकिया छुट्यो कि अस्पतालमै निद्राको दबाइ छुट्यो ?
हेरिरहने तस्बिर छुट्यो कि ध्यानअस्त हुँदाहुँदैको विपासना छुट्यो ?
अंगालोमा बेर्ने चाहना छुट्यो कि मेरो बेवकुफिपन छुट्यो ?
पीडा चाहिँ थपिएको छ अचेल भरपुर मात्रामा ।

छुट्न त्यति सजिलो छैन !
लुकिलुकि बोलिने कल छुट्यो कि चोरी गरेकै ठाउँमा आइडि कार्ड छुट्यो ?
म्यासेन्जरको निक नेम छुट्यो कि लोकसेवाको जाँचमा रोल नम्बर छुट्यो ?
चाहिने नचाहिने गन्थन छुट्यो कि युद्धमा पुगेपछि गोलि छुट्यो ?
साथीहरुको जिस्किने बानी छुट्यो कि वर्षातको यात्रामा छाता छुट्यो ?
छुट्न त धेरै सामान्य सामान्य कुरा छुटेका छन् ।
तर पनि छुट्न त्यति सजिलो छैन रहेछ !
तिमी नै भन त प्रिय ! तिमी छुट्यौ कि ईमर्जेन्सीमा मैले टिकट काटेको जहाज छुट्यो ।

१ बैशाख, २०७७, अछाम