मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोरोना जितेर फर्किएँ बाबु ! प्रहरीले घरसम्मै पुर्‍याइदिनुभयो

कोरोना जितेर फर्किएँ बाबु ! प्रहरीले घरसम्मै पुर्‍याइदिनुभयो


काठमाडौं । धवलागिरी प्रादेशिक अस्पतालमा उपचार गराइरहेकी ६५ वर्षीया वृद्धा अस्पतालबाट डिस्चार्ज भएकी छन् ।

पछिल्लोपटक कोरोना परीक्षण गर्दा नेगेटिभ देखिएपछि वृद्धा शनिबार अपराह्न अस्पतालबाट डिस्चार्ज भएको बताएकी छन् । 

बाह्रखरीसँग खुसी साट्दै वृद्धाले कोरोनालाई पराजित गरेर फर्किएको प्रतिकृया दिएकी छन् ।

“जाँच गर्दा कोरोना नदेखिएपछि डाक्टरहरूले घर जान सक्नुहुन्छ भन्नुभयो । अस्पतालमा लिन छोरो र ज्वाइँ जानुभएको थियो । प्रहरीले घरसम्मै पुर्‍याइदिनुभयो । औधी खुसी लागिरहेको छ । सुरुमा त के हुने हो, कसो हुने हो लागेको थियो,” उनले भनिन् ।

राम्रो उपचार गरेको भन्दै उनले चिकित्सक, नर्स र सरकारलाई पनि धन्यवाद दिएकी छन् ।

“गरेर हुने उपचार गर्नुभयो । उपचार गर्दा पनि राम्रो बोलीवचन, स्याहार गर्नुभयो । तपाईंको आत्मविश्वास दह्रो छ, केही हुँदैन तपाईंलाई भन्नुभयो,” उनले खुसी व्यक्त गर्दै भनिन् ।

अस्पतालबाट डिस्चार्ज हुँदा खुसी थाम्न नसकेको उनले बताइन् । लामो समयदेखि दमको रोगी रहेकाले त्यतिबेलै सास बढेको उनले सुनाइन् ।

“धेरै कुरा बोल्न मन थियो । डाक्टरहरूलाई धन्यवाद भन्नु थियो । त्यतिबेलै दम बढ्यो । घाँटी अँठ्याएजस्तो भयो । खुसी भएर होला,” उनले भनिन् ।

चिकित्सकहरूले थप १४ दिन छुट्टै क्वारेन्टाइनमा बस्न र  परिवारको सम्पर्कमा नजानु भनेर अह्राएकाले आफूले त्यसै गर्ने उनको भनाइ छ ।

“डक्टरहरूले भनेजति दिन छुट्टै बस्छु । अहिले कान्छा छोरा–बुहारीसँग बस्दै आएको छु । अर्को छोरोका घर अलि माथि छ । परिवारमा सबै खुसी छन्,” उनको भनाइ थियो ।

उनी चैत्र ४ गते कतार एअरवेजको क्यूआर–६५२ नम्बरको जहाजबाट काठमाडौंबाट अवतरित भएकी थिइन् ।  बेल्जियमबाट कतारको दोहा हुँदै काठमाडौंसम्म र काठमाडौंबाट आन्तरिक उडानमार्फत् पोखरासम्म सँगै सिटमा बसेकी नातिनी पर्ने १९ वर्षीया किशोरीमा सङ्क्रमण पुष्टि भएपछि वृद्धाको पनि थ्रोट स्वाबको नमूना जाँच गरिएको थियो ।

जाँच गर्दा कोरोना पोजेटिभ देखिएपछि वृद्धा चैत २० गते अस्पताल भर्ना भएकी थिइन् । आइसोलेसन कक्षमा भर्ना भएको १५ औं दिन उनी अस्पतालबाट डिस्चार्ज भएकी छिन् ।

उनीसँगै नेपालमा कोरोना सङ्क्रण देखिएर निको हुनेको सङ्ख्या तीन पुगेको छ । पहिलोपल्ट चीनबाट आएका युवकमा परीक्षण गर्दा नजिता पोजेटिभ आएको थियो । उनी माघको पहिलो साता नै शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालबाट डिस्चार्ज भएका थिए ।

उनीसँगै एउटै उडानमा आएकी काठमाडौंकी प्रशिद्धी श्रेष्ठ पनि आजै डिस्चार्ज भएकी छन् ।

वृद्धासँगै आएकी नाताले नातिनी पर्ने किशोरी धवलागिरी प्रादेशिक अस्पतालको आइसोलेशन कक्षमै उपचार भइरहेको छ । बाह्रखरीसँग कुरा गर्दै उनले आफ्नो स्वास्थ्य ठीक रहेको र डिस्चार्जको प्रतीक्षामा रहेको बताएकी छन् ।

किशोरीको पछिल्लो रिपोर्टमा कोरोना पोजेटिभ नै देखिएको छ । – baarakhari