मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सातवटै प्रदेशका प्रहरी प्रमुख फेरिए

सातवटै प्रदेशका प्रहरी प्रमुख फेरिए


विशेष ब्युरोमा कार्की, सीआईबीमा थापा

काठमाडौं । नेपाल प्रहरीको वरिष्ठ उपरीक्षक (एसएसपी) बाट प्रहरी नायव महानिरीक्षक (डीआईजी) मा बढुवा भएका दश जना अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ ।

सोमबार प्रहरी प्रधान कार्यालय, नक्सालमा आयोजित एक समारोहका बीच प्रहरी महानिरीक्षक (आईजीपी) ठाकुरप्रसाद ज्ञवालीले डीआईजीहरुलाई दर्ज्यानी चिह्न लगाइदिएका हुन् ।

गृह मन्त्रालयले चैत २८ गते एसएसपी घनश्याम अर्याल, प्रकाशजंग कार्की, बसन्तकुमार पन्त, ईश्वरबाबु कार्की, सहकुल बहादुर थापा, धिरजप्रताप सिंह, बसन्तकुमार लामा, रवीन्द्रबहादुर धानुक, उत्तमराज सुवेदी र अरुणकुमार बिसीलाई डीआईजीमा बढुवा गर्न सिफारिस गरेको थियो ।

दर्ज्यानी चिह्न लगाइदिँदै प्रहरी महानिरीक्षक ज्ञवालीले बढुवा भएका अधिकृतलाई पदोन्नति पश्चात प्राप्त गर्ने जिम्मेवारी एवम् संगठनका नीति पूरा गर्न आफ्नो ज्ञान, सीप, अनुभव तथा कार्यदक्षताको प्रदर्शन गर्न निर्देशन दिए ।

प्रहरी संगठनलाई प्रदेशस्तरमा समायोजन गर्ने चुनौती हाल नेपाल प्रहरीसामु रहेको उल्लेख गर्दै ज्ञवालीले प्रदेश प्रमुखका रुपमा खटिने अधिकृतको भूमिका अझ बढी हुने बताए । उनले भने, ‘आफ्नो भूमिका निर्वाह गर्न अझ बढी संवेदनशील, सचेत, अभ्यस्त र अध्ययनशील हुन आवश्यक छ ।’

स्थानीय तहसँग आवश्यक सहकार्य एवं समन्वय गरी आफ्नो दायित्व निर्वाह गर्नुपर्ने उनले बताए ।

१० डीआईजीको पदस्थापन

बढुवा गरिएकामध्ये ७ जना डीआईजीलाई प्रदेश प्रहरीको नेतृत्व दिइएको छ ।

जसअनुसार प्रदेश १ मा ईश्वरबाबु कार्की पठाइएका छन् भने २ नं. प्रदेशमा धिरजप्रताप सिंहलाई पठाइएको छ । बाग्मती प्रदेश प्रमुखमा वसन्त लामा, गण्डकी प्रदेशमा घनश्याम अर्याल, प्रदेश ५ मा रवीन्द्र धानुक, कर्णाली प्रदेशमा वसन्त पन्त र सुदूरपश्चिम प्रदेशमा उत्तम सुवेदी छन् ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा सहकुलबहादुर थापालाई पठाइएको छ । थापाले यसअघि अपराध अनुसन्धान महाशाखाको नेतृत्व गरिसकेका छन् । सीआईबीका डीआईजी निरज शाहीलाई प्रहरी महानिरीक्षकको सचिवालयमा पठाइएको छ ।

हाल प्रदेश नं. २ मा रहेका डीआईजी प्रद्युम्न कार्कीलाई विशेष ब्युरोको जिम्मेवारी दिइएको छ । यसअघि ब्युरोको नेतृत्व गरेका डीआईजी हरिबहादुर पाल एआईजीमा बढुवा भइसकेका छन् ।

डीआईजी अरुणकुमार विसीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाइएको छ भने प्रकाशजंग कार्कीलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगञ्जमा पठाइएको छ । – onlinekhabar