मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सरकारी गाडीमा बिरामी बोकिदेऊ : डा. केसी

सरकारी गाडीमा बिरामी बोकिदेऊ : डा. केसी


डडेल्धुरा :

जिल्ला अस्पतालमा निःशुल्क उपचार सेवा प्रदान गरिरहेका प्राध्यापक डा. गोविन्द केसीले सार्वजनिक सवारीसाधन नचल्दासम्म सरकारी गाडीमा सर्वसाधारण बिरामीलाई सेवा दिन आग्रह गरेका छन।

उनले एक विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेका हुन्। ‘सडक यातायात ठप्प भए पनि रुख वा भीरबाट लडेर चोट लाग्ने तथा अन्य आकस्मिक अवस्थाका बिरामीहरुको संख्या लकडाउनमा घटेको छैन, बरु बढेको होला। हाल डडेल्धुरा अस्पतालमा रहेर मैले त्यस्ता बिरामीहरुको पीडा देखेको छ’ विज्ञप्तिमा भनीएको छ। 

यस्तो छ विज्ञप्ति:

प्रेस विज्ञप्ति

देश अहिले कोभिड–१९ को त्रासले आक्रान्त छ । महामारीको प्रभावका कारण अस्पतालहरुले दिने साविकका सेवाहरु समेत प्रभावित भइरहेका छन् । यसको सबैभन्दा ठूलो मार विपन्न र दुरदराजका मानिसहरुलाई परिरहेको छ । लकडाउन लम्बिंदै जाँदा दैनिक ज्यालादारी गरेर छाक टार्ने मजदुरहरु भोकभोकै पर्ने अवस्था आएको छ । हप्तौं हिंडेर घर पुग्ने प्रयास गरेका हजारौं श्रमिहरुका बारेमा समाचारहरु आइरहेका छन् ।

यो समयमा ग्रामीण क्षेत्रमा आइलागेको स्वास्थ्य संकटप्रति मिडियाको समेत ध्यान पुगेको छैन । सडक यातायात ठप्प भए पनि रुख वा भीरबाट लडेर चोट लाग्ने तथा अन्य आकस्मिक अवस्थाका बिरामीहरुको संख्या लकडाउनमा घटेको छैन, बरु बढेको होला । हाल डडेल्धुरा अस्पतालमा रहेर मैले त्यस्ता धेरै बिरामीहरुको पीडा देखेको छु । यो समस्या कुनै एक जिल्लाको मात्र नभई देशभरकै हो ।

यो अवस्थामा एम्बुलेन्सहरु सबै बिरामीलाई अस्पताल पुर्‍याउन पर्याप्त छैनन् । फलस्वरुप दुरदराजका बिरामीहरु निजी गाडीलाई २० वा ३० हजारसम्म तिरेर अस्पताल आउन बाध्य छन् । त्यस्ता बिरामी महँगो भाडा तिरेर फलोअपमा आउन नसकेका कारण उपचारबाटै वञ्चित भइरहेका छन् । शुरुमै यातायातका लागि त्यति पैसा जम्मा गर्न नसक्नेहरु अस्पतालै नआइ गम्भीर समस्या वा चोटपटकको पीडा सहेर बसिरहेका छन् । त्यसका कारण समयमै उपचार गर्दा निको हुने समस्याहरुपछि समेत अनेक जटिलता र अपांगता देखिने तथा असामयिक मृत्युसमेत हुने अवस्था छ ।

अर्कोतिर सरकारी गाडीहरु अहिले निस्क्रिय रहेका छन् । त्यसैले यातायात सेवा सुचारु नहुन्जेलका लागि ती सरकारी गाडीहरुमा बिरामीलाई अस्पताल ल्याउने विशेष व्यवस्था गर्न सम्बन्धित मन्त्रालयहरुलाई अपिल गर्दछु । स्मरण रहोस्, कोभिड–१९ महामारी नियन्त्रणजस्तै संकटमा परेका नागरिकहरुलाई यस्तो आकस्मिक सेवा सुनिश्चित गर्नु राज्यको जिम्मेवारी हो ।

अन्तमा, यो विश्वव्यापी संकटलाई हामी सबैले एकसाथ झेलिरहेका छौं र यसबाट पार पाउन समाजले गरिरहेको संघर्षमा हामी पनि साथमै छौं । कोभिड–१९ विरुद्धको लडाइँमा अग्रपंक्तिमा रहेका स्वास्थ्यकर्मी साथीहरु लगायत सबैको सुरक्षाको कामनासहित,

डा गोविन्द केसी
डडेल्धुरा ।
२०७७।१।९