मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेकपाको आन्तरिक एकता सुदृढ तुल्याइन्छ : प्रधानमन्त्री ओली

नेकपाको आन्तरिक एकता सुदृढ तुल्याइन्छ : प्रधानमन्त्री ओली


काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको आन्तरिक एकतालाई थप सुदृढ तुल्याइने बताएका छन् ।

नेकपा स्थापना दिवस तथा लेनिन जयन्तीका अवसरमा वक्तव्य जारी गर्दै ओलीले यो दिवसले पार्टीको आन्तरिक एकतालाई थप सुदृढ तुल्याउन र विगत दुई वर्षदेखि जारी एकता प्रक्रियालाई अन्तिम निष्कर्षमा पुर्याउन प्रेरणा दिने विश्वास व्यक्त गरेका छन् ।

उनले बितेका यी वर्षमा नेकपाले निरन्तर रुपमा जनतालाई जागृत र संगठित गर्दै आएको तथा अनेकन् आरोह–अवरोह र हण्डर–ठक्करको सामना गर्दै संघर्षको नेतृत्व गरिरहेको स्मरण गरेका छन् ।

अप्रिल २२ (वैशाख १० गते), ७१ वर्ष पहिले आजकै दिन नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको थियो । आजकै दिन विश्वमा परिवर्तनको नेतृत्व गर्ने ऐतिहासिक व्यक्तित्व भी.आई. लेनिनको जन्म भएको थियो । नेपालमा २००६ साल वैशाख १० गते पुष्पलालको नेतृत्वमा  नेकपाको स्थापना भएको थियो भने वर्तमान सत्ताारुढ नेकपाको गत २०७५ जेठ ३ गते एकता भएको थियो ।

‘सात दशकको अवधिमा लेनिनले स्थापना गरेको सोभियत संघ विघटन भयो तर लेनिनवादी सिद्धान्तको आलोकमा हुर्किएको हाम्रो नेकपा, स्थापनाको सात दशकभित्रै मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गरी शासनको सर्वोच्च स्थानमा नेपाली जनताको अधिकार स्थापित र संस्थागत गर्ने ऐतिहासिक दायित्वको नेतृत्व गर्ने तहमा पुग्यो,’ प्रधानमन्त्री ओलीले भनेका छन्, ‘पार्टीमा हुर्किएको गुटबन्दी, विभाजन र अराजकतामाथि बिराम लगाउँदै एकता, पुनर्गठन र सुदृढ एकताको महान अभियानलाई अघि बढायो ।’

सिद्धान्तको अन्धानुकरण र यान्त्रिक प्रयोगको सट्टा सिर्जनात्मक प्रयोग मार्फत मौलिक एवम् सही विचारको विकास र अवलम्बन गर्दै सामन्ती, प्रतिगामी, निरंकुश र जनविरोधी शक्तिसँग जुधेर नै नेपाली कम्युनिष्ट आन्दोलनले आजको उचाइ हासिल गरेको ओलीको भनाइ छ ।

कम्युनिष्ट पार्टीले लोकप्रिय मतमार्फत दुई तिहाईभन्दा बढी स्थानमा विजय हासिल गरी मुलुकको प्रमुख र निर्णायक शक्तिका हैसियतमा शासन संचालनको नेतृत्व गर्ने भूमिका पाउनु असाधारण उपलब्धि भएको उल्लेख गर्दै ओलीले पार्टी स्थापनाको यस अवसरमा संस्थापक सदस्यका साथै अग्रणी विचारकप्रति उच्च सम्मान व्यक्त गरेका छन् । – onlinekhabar