मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

‘र्‍यापिड टेस्ट रोकेर पीसीआरको दायरा बढाऔं – कांग्रेस

‘र्‍यापिड टेस्ट रोकेर पीसीआरको दायरा बढाऔं – कांग्रेस


काठमाडौं । कोरोना भाइरसको संक्रमण पत्ता लगाउन अपनाइने र्‍यापिड टेस्ट विधिको प्रयोगमा रोक लगाएर पीसीआरको क्षमता र दायरा बढाउन प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले माग गरेको छ । 

पार्टी पदाधिकारी, पूर्व स्वास्थ मन्त्रीहरू र स्वास्थ्य क्षेत्रका विज्ञहरूबीच आइतबार सम्पन्न छलफलपछि कांग्रेसले उक्त माग गरेको हो । 

कोरोना भाइरसको परीक्षण समुदाय स्तरसम्म पुर्‍याउनुपर्ने अनिवार्य आवश्यकतामा जोड दिँदै कांग्रेसले विज्ञप्तिमार्फत् भनेको छ, “र्‍यापिड टेस्टको विश्वसनीयतामा विश्वव्यापी प्रश्न उठिरहेका बेला त्यसलाई निरन्तरता दिने कार्य रोकिनुपर्छ र पीसीआरकै क्षमता र दायरा बढाइनुपर्छ ।”

कांग्रेसले कोरोना भाइरस महामारीको उपचारमा संलग्न स्वास्थ्यकर्मीहरूलाई पीपीईलगायतका सामग्री अझै पनि नपुगेको स्थिति स्मरण गराउँदै तत्काल गुणस्तरीय सामग्री पु¥याएर सरकारले कोरोनाविरुद्धको संघर्षलाई प्रभावकारी बनाउन जरुरी रहेको आवश्यकता औंल्याएको छ ।

लकडाउनले कोरोनासँग जुध्ने वातावरण निर्माण गरे पनि लकडाउनको उपयोग गरेर कोरोनाको जोखिम सामना गर्ने अन्य रणनीति निर्माण र कार्यान्वयनमा सरकार अयोग्य र सुस्त देखिएको कांग्रेसको ठहर छ । “सरकारले आवश्यक गति बढाउनुपर्छ,” बैठकपछि मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ । 

कांग्रेसले स्वास्थ्यकर्मीहरूलाई हतोत्साहित गर्ने घटनालाई गम्भीरतापूर्वक लिँदै आगामी दिनमा यस्ता घटना दोहोरिन नदिनका लागि सतर्कता र गम्भीरता अपनाउन सरकारलाई सुझाव पनि दिएको छ ।

कांग्रेसले अन्य रोगका बिरामीको उपचारमा भइरहेको कठिनाइ अन्त्य गरेर सहज वातावरण निर्माण गर्न सरकारले आवश्यक प्रबन्ध मिलाउनु पर्नेमा जोड दिएको छ । “उपचार कठिनाईसँगै अत्यावश्यक औषधीहरूको अभाव हुँदै जाँदा त्यसले नयाँ जोखिम उत्पन्न गर्नेछ, अतः औषधी उत्पादन र आयातमा समयमै सचेत रहन जरुरी छ,” विज्ञप्तिमा उल्लेख छ ।

विभिन्न स्थानमा निर्माण गरिएका क्वारेन्टाइनमध्ये कयौं क्वारेन्टाइनहरू निश्चित मापदण्ड अनुरूपका नभएका कारण कोरोनाकै थप जोखिम बढ्नुका साथै अन्य रोगको संक्रमण फैलिएको विवरण प्राप्त भएको भन्दै कांग्रेसले क्वारेन्टाइनहरूको उचित व्यवस्थापन गर्न पनि सरकारसँग आग्रह गरेको छ । 

पार्टी केन्द्रीय कार्यालय सानेपामा कांग्रेसले आइतबार दिउँसो पार्टी पदाधिकारी, पूर्व स्वास्थ मन्त्रीहरू एवं स्वास्थ्य क्षेत्रका विज्ञहरूबीच छलफल गरेको थियो । बैठकमा कोरोना भाइरसबाट नेपाल र नेपालीको रक्षा गर्ने सन्दर्भमा हालसम्म भएका कामहरूका बारेमा गहिरो समीक्षा र अहिलेको मितिमा अनिवार्य रूपले गरिनुपर्ने कामहरूका बारेमा छलफल भएको मुख्य सचिव पौडेलले जानकारी दिए । 

उनका अनुसार बैठकको सुरुवातमा सभापति शेरबहादुर देउवाले पर्याप्त सुरक्षा सामग्री अभावकाबीच देशभरि खटिएका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरूको प्रशंसा गर्दै कोरोनालाई स्वास्थ्यकर्मीकै नेतृत्व र सुरक्षाकर्मीको समन्वयमा परास्त गर्नुपर्ने धारणा राखेका थिए ।