मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मरेको मानिसले के लिएर जान्छ ?

मरेको मानिसले के लिएर जान्छ ?


  • बुद्धिसागर

– मरेको मानिसले
पछाडी फर्केर – आँसुले टिपलपिल भएका
आफन्तका आँखाहरु हेर्छ कि हेर्देन ?

मरेको मानिस
हिँड्छ कति कोस, कति जुनी ?
कुन नदीको किनारमा
नुहाउँछ चिसो पानीले,
र धुन्छ- गालाभरि बसेका
आँसुका धमिला धर्साहरु,
मरेको मानिस रुन्छ कि रुदैन ?

के — के लैजान्छ
मरेको मानिसले झोलामा ?
जीवनकालभरि सबैबाट जोगाएका स्मृतिहरु ?
पहिलोपल्ट लेखेको प्रेमपत्र ?
पहिलोपल्ट हिँडेको पाइला ?
प्रिय किताबमा केही प्रिय अध्यायहरु ?
पहिलोपल्ट सन्तानले बोलेको आफ्नो नाम ?

कि जान्छ – सबै छाडेर
बिर्सिएर सवथोक,
आत्मबाट मेटाएर
जीवनले कोरेका चित्र र अक्षरहरु ।

मरेको मानिसले
आकाशगंगाको डिलमा उभिएर
मुटुबाट सम्बन्धका ध्वजाहरु
फुकाउँछ कि फुकाउँदैन ?

अन्तिमपल्ट
धर्तितिर फर्किएर,
एकजुनी जीवनमा आफूसँग गाँसिएका
सबै – सबैलाई सम्झिएर
मुस्कुराउँछ कि मुस्कुराउँदैन ?

मरेको मानिसको
गोजीमा
फर्किएर आउने ठेगाना हुन्छ कि हुँदैन ?

अभिनेता इरफान खानप्रति हार्दिक श्रद्धान्जली स्वरुप लेखक बुद्धिसागरले लेखेको कविता।