सुत्केरी ओडलाई उद्धार गर्न आएको नेपाली सेनाको हेलिकप्टर
अछाम – जिल्लाको तुर्माखाँद गाउँपालिकामा एक सुत्केरीलाई हेलिकप्टरबाट उद्धार गरिएको छ । गाउँपालिकाको कृषि शाखा प्रमुख भगेन्द्र ओडकी श्रीमति २४ वर्षकी तुलसी ओडलाई नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएको हो ।
उनलाई क्षेत्रिय अस्पताल कालागाउँ सुर्खेत लगिएको छ । सुत्केरी व्यथा लागेपछि तुर्माखाँद स्वास्थ्य चौकिमा लगिएकी उहाँको एउटा बच्चा जन्मिएको छ भने पेटमा फेरी अर्को बच्चा रहेको अनुमान गरिएको छ ।
दोस्रो बच्चा जन्माउन नसकेर निकै सकस भएपछि गाउँपालिकाका अध्यक्ष पुष्पराज शर्माको पहलमा हेलिकप्टर मगाएर तत्काल उद्धार गरि सुर्खेत पठाइएको गाउँपालिकाका खेल संयोजक कमलबहादुर बुढाले जानकारी दिए ।
जिल्लाको साँफेबगर नगरपालिका वडा नम्बर ११ निवासी ओडलाई गएराती देखि नै व्यथा लागेपछि तुर्माखाँद स्वास्थ्य चौकिमा भर्ना गरिएको थियो । सुत्केरीलाई समस्या भएको बारे प्रमुख जिल्ला अधिकारी मार्फत खबर गरिएको र गाउँपालिकाले समेत पहल गरेपछि महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको सहयोगमा हेलिकप्टर तुर्माखाँद आइपुगेको थियो ।
उनलाई सुर्खेत पुर्याए लगतै एम्बुलेन्स मार्फत क्षेत्रिय अस्पताल लगेर उपचार सुरु गरिएको गाउँपालिका अध्यक्ष शर्माले जानकारी दिए । सुत्केरी ओडसँगै हेलिकप्टरमा तुर्माखाँद स्वास्थ्य चौकिकी अनमि देबकी शाहीलाई समेत पठाइएको छ ।
प्रतिक्रिया