मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछाममा रोपाईको रौनक सुरु

अछाममा रोपाईको रौनक सुरु


गीता कुँवर, अछाम ।

देश अहिले कोरोना भाईरस (कोभिड–१९)का कारण बन्दाबन्दीको अवस्थामा छ । शहरबजार सुनसान भएपनी गाउँघरमा चहलपहल उस्तै छ । खेतीपातीको समय भएकाले पनी गाउँघरमा चहलपहल बढेको छ । हिउँदे खेती भित्रयाएका किसानहरु अहिले रोपाई गर्न व्यस्त छन् ।

बैशाखको अन्तिम साताबाट नै अछाममा रोपाईको चटारो सुरु हुन्छ । अहिले अछामका कृषहरुलाई मानो रोपेर मुरी उब्जाउन भ्याई नभ्याई छ । सिँचाई सुविधा पुगेका खेतमा बैशाखको अन्तिमबाट रोपाई गर्न सुरु हुने गर्दछ । यो वर्ष बैशाखमा पर्याप्त पानी परेकोले पनी सिचाई पुगेका खेतमा रोपाई गर्न किसानहरुलाई सजिलो भएको छ ।

अछामको साँफेबगर लगायत सिँचाई सुबिधा पुगेको ठाउमा बैशाखको अन्तिमबाट नै रोपाई सुरु भएको हो । साँफेबगर र आसपासका क्षेत्रमा बुढीगंगा नदी तथा प्रभालीगाडको पानीबाट सिँचाईको सुविधा भएकाले हरेक वर्ष बैशाखको अन्तिमबाट धान रोपाई सुरु हुने गर्दछ ।

साँफेबगर नगरपालिका ४ मष्टामाण्डौमा सिचाई पुगेको बुढीगंगाको किनारमा रहेको खेतमा लगभग रोपाई सकिएको स्थानीय उमेश कुँवरले बताए । रोपाईको समयमा यो पटक पर्याप्त पानी परेका र सिचाई सुविधा पुगेकोले छिटै रोपाई गरिसकिएको उनको भनाई छ ।

चैतमा नै धानको बेर्ना राखेर बैशाख अन्तिमबाट धान रोप्न सुरु हुने यस क्षेत्रमा यस वर्ष खडेरी नपरेकाले गर्दा धानको बेर्ना जोगाउन र रोपाई गर्न त्यति मुस्किल नभएको कृषकहरूको प्रतिक्रिया छ ।

यति बेला रोपाई गरेर कतिपय महिलाहरुलाई आम्दानी गर्ने स्रोत पनी बनेको छ । एक दिनभरी रोपाई गरे बापत ३ देखि ४ सय रुपैया लिने गरेको साँफेबगर नगरपालिका– ३ की पबित्रा बिकले बताईन् ।

कृषि ज्ञान केन्द्रका अनुसार अछाममा करिव साढे १६ हजार हेक्टर क्षेत्रफलमा धानको खेती गरिन्छ । जिल्लाको कुल खेती योग्य जमिन ५६ हजार तीन सय ४७ हेक्टर रहेकोमा ४२ हजार चार सय १३ हेक्टर क्षेत्रफलमा अन्नबाली लगाउने गरिन्छ ।