मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आर्थिक अनियमितता गर्ने महासेनानी सहित ५ सैनिकलाई कैद र जरिवानको फैसला

आर्थिक अनियमितता गर्ने महासेनानी सहित ५ सैनिकलाई कैद र जरिवानको फैसला


काठमाडौं ।

आर्थिक अनियमितता गर्ने नेपाली सेनाका एक महासेनानीसहित पाँच जनालाई सैनिक अदालतले कडा कारवाहीको फैसला गरेको छ। महासेनानी भुपालमान अधिकारीसहित पाँच जनालाई सम्पत्ति र अनुशासन तथा आचरण सम्बन्धी कसूरमा सैनिक अदालतले दोषि ठहर गर्दै कैद तथा जरिवानको फैसला सुनाएको हो।

सेनाको शुक्रवार बसेको समरी जनरल सैनिक अदालतबाट सैनिक आवासिय महाविद्यालय, भक्तपुरमा कार्यरत रहंदा सम्पत्ति र अनुशासन तथा आचरण सम्बन्धी कसूर गरेको अभियोगमा अधिकारीसहित प्रमुख सेनानी देव बहादुर क्षेत्री र हुद्धा यज्ञराज पोखरेललाई कारवाहीको फैसला सुनाएको हो।

सैनिक जनसम्पर्क निर्देशनालयका अनुसारसोही कसुरमा हुद्धा गणेश बहादुर अधिकारी र लेखा आ.सहसेनानी सुरेन्द्र विक्रम भण्डारीसमेतलाई कारवाहीको फैसला भएको छ। सोही मुद्धामा अन्य १३ जनाले अभियोग माग दावीबाट सफाई पाउने गरी फैसला भएको छ।

महासेनानी अधिकारीले सैनिक आवासिय महाविद्यालय, भक्तपुरमा सम्पर्क अधिकृत रहेको अवधिमा आर्थिक अनियमितता गरी गराई सैनिक ऐन, २०६३ को दफा ४९ को खण्ड (क), दफा ५२ को खण्ड (ट) र (झ) बमोजिमको कसुरमा दोषी ठहरीएकोले ऐ.ऐनको दफा १०१ को उपदफा (ज्ञ) खण्ड (ग) र (घ) बमोजिम २ महिना कैद गर्ने र भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य (न) नठहरीने गरी सेवाबाट हटाउने फैसला भएको छ।

साथै निजले गैरकानूनी रुपमा आर्थिक उपार्जन गरी लिएर खाएको ठहरिन आएको विगो रकम एक करोड ८५ लाख ४० हजार एक सय आठ रुपैया असुल उपर गर्ने निर्णय समेत भएको छ।
यस्तै प्रमुख सेनानी क्षेत्रीले आर्थिक अनियमितता गरी सैनिक ऐन, २०६३ को को दफा ४९ कोखण्ड (क), दफा को खण्ड (छ) र (झ) बमोजिमको कसुरमा दोषी ठहरीएकोले ऐ.ऐनको दफा १०१ को उपदफा (ज्ञ) खण्ड (च) बमोजिम २ बर्ष बढुवा रोक्का गर्ने र निजबाट चारलाख ४० हजार असुल उपर गर्ने फैसला भएको छ।

हुद्धा पोखरेलले आर्थिक अनियमितता गरेको भन्दै भविष्यमा सरकारी सेवाको लागि अयोग्य (न) नठहरीने गरी सेवाबाट हटाउनुका साथै निजबाट तीन लाख ६० हजार असुल उपर गर्ने फैसला भएको छ। अर्का हुद्धा अधिकारीले आर्थिक अनियमितता गरेको कसुरमा दोषी ठहरीएकोले २ बर्ष तलव वृद्धी (ग्रेड) रोक्का गर्ने निर्णय हुनुका साथै निजले हिनामिना गरेको १० हजार असुल उपर गर्ने फैसला भएको सेनाले जनाएको छ।

त्यसैगरी लेखा आ.सहसेनानी भण्डारीले आर्थिक कार्यहरु गर्दा कानूनी प्रकृया अवलम्वन नगरेकोमा दोषी ठहरीएकोले नसिहत दिने फैसला भएको छ।

नेपाली सेनाले पद्दती र प्रणालीमा आधारित संगठन सन्चालनमा जोड दिंदै पारदर्शिता र जवाफदेहिता कायम गर्ने तथा दण्डहिनताको अन्त्य गर्ने लक्ष्य अनुसार अनुशासन र आचरण बिपरित कार्य गर्नेहरुलाई कारवाही गरिएको जनाएको छ।

सैनिक कल्याणकारी कोषको लगानीमा सन्चालित उक्त महाविद्यालयमा अनियमितता भएको बारेमा छानबिन गर्न सहायक रथीको अध्यक्षतामा गठित कोर्ट अफ इन्क्वायरी बोर्डले गत फागुन २३ गते राय सहितको प्रतिबेदन बुझाएको थियो।